बुधबार , भाद्र ३१, २०८३

समाजमा भएका हिंसात्मक विकृतिविरुद्ध कुची चोपिरहेकी सुरक्षा वाग्ले

image

२०४९ साल असोज १८ गते आबुखैरेनीको बरादीमा जन्मी हुर्किएकी सुरक्षा वाग्लेले आबुखैरेनीकै सत्रसयमा रहेको श्री मित्रता माध्यमिक विद्यालयबाट एसएलसी पास गरेकी हुन् । विद्यालयमा राम्रो पढ्ने सुरक्षा असल विद्यार्थी मध्ये एक थिइन् । बाल्यकाल निकै रमाइलो रहेको सम्झिने उनी बुवा र दाइसँग बढी घुलमिल हुन्थिन् । सानैमा परिवारबाट व्यावहारिक ज्ञान पाउने गरेको उनी सम्झिन्छिन् । घरका एक-एक वटा कामहरू सबैलाई जिम्मा दिइन्थ्यो, परिवारका सबै सदस्यले अनुशासित भएर आफ्नो जिम्मेवारी निभाउनुपर्थ्यो ।

बालखबाटै उनी आफ्नो घर छेउमा रहेका दाइले बनाएका चित्रहरू हेर्ने, त्यसको नक्कल गर्ने गर्थिन् । उनैबाट प्रभावित भएर  सुरक्षाले मनमा कोरिएका चित्रहरू चार्ट पेपरमा बनाउन थालिन् । आफ्नो लुगामा भएका कार्टुन चित्रहरुहरुलाई साइन पेन र क्रेन कलरको मदतले उतार्न थालिन् । उनलाई ललितकला तथा अन्य कुनै कलेजहरूमा आफूलाई मोहित बनाइरहेको कलासम्बन्धी पढ्न पाइन्छ भन्ने थाह थिएन । त्यसैले यो विषयमा तालिम नै भएपनि लिएर म केही गर्छु भन्ने उनले ठानेकी थिइन् । सँगसँगै, समाजमा भएका हिंसात्मक विकृतिहरूको प्रत्यक्षदर्शी रहेकी उनलाई ती कुराहरू पोख्ने माध्यम पनि चित्रकला नै हो जस्तो लाग्थ्यो । यद्यपि, ती घट्नाहरुलाई अझै पनि चित्रमा उतार्न उनले सकेकी छैनन् । केही समयपछि कलासम्बन्धी पढाउने कलेज पनि हुन्छ भन्ने उनले थाह पाइन् । त्यसैले कक्षा ११ बाटै कलासँग जोडिने निधो गरिन् । र, पसिन्- काठमाडौँ ।

चित्रकलाको यात्रा रोज्दा उनले धेरै सङ्घर्ष, अप्ठ्यारो भरिएको बाटोहरू छिचोल्नु पर्‍यो । घरबाट पनि बुवा, भिनाजु र १/२ जनाको मात्र समर्थन रहेको थियो । धेरै मुखहरू ‘छोरी हो, यसमा यसको भविष्य छैन’ भन्थे । केही अनुहारहरूको प्रकाश हराएर त्यसै अँध्यारो भएका थिए । ‘ललितकला पढेर के हुन्छ ?’, ‘चित्रकला पढेर के हुन्छ ?’ भन्ने प्रश्नात्मक चुनौतीहरूको सामना गरिरहनुपर्थ्यो । तर, रोकिएनन् उनका हातहरू, थामिएनन् पाइलाहरू ।

चित्रकला सुरु गरिसकेपछीका केही तिता-मिठा सम्झनाका पोकाहरू फुकाल्दै उनी समर्थन गर्नेहरूबाट पनि आर्थिक सहयोग भने नपाएको सुनाउँछिन् । सङ्घर्षमयी यात्रामा एक्लै अघि बढ्दा कति पटक भोकै हिँडेको, कति पटक च्यातिएको लुगा टाल्दै लगाएर हिँडेको उनी बिर्सन सक्दिनन् । शारीरिक असहजताका बाबजुद उनले काठमाडौँलाई जित्ने निर्णय लिइन् । बेला-बेलामा आइपरेका शारीरिक तथा सामाजिक रोगहरूको उपचार गर्दै उनी अघि बढी रहिन् । उनी भन्छिन् ‘आफूभित्रको आत्मबललाई कहिल्यै पनि मार्नु हुन्न रहेछ, आत्मबल छ भने हरेक कुरा सम्भव हुने रहेछ ।’

surkshya wagle

एउटी छोरी मान्छेलाई समाजले हेर्ने नजर अझै पनि उस्तै विभेदकारी छ । त्यसमाथि १७/१८ वर्षकी सुरक्षाको शारीरिक अवस्था केही फरक थियो । तर, उनले आफूभित्रको आफूलाई हार्न दिइनन् आफ्ना पीडाहरू, सङ्घर्षको कुराहरूलाई भित्रै थाँती राखी रहिन् । त्यसैलाई आफ्नो ऊर्जा बनाएर उनी लडिरहिन् । उनले अहिलेसम्म आफ्नो घरमा पनि ती पीडा पोखेकी छैनन् ।

उनी आफ्नो बुवाको दुःख बुझेर १७/१८ वर्षमै जिम्मेवार भइन् । बुवाले गाइलाई ख्वाउन ल्याएको पराल पनि आफ्नो लागि बेच्ने गरेको उनले देखेकी थिइन् । डोकोमा काक्रो बोकेर एक घण्टाको पहिरो बाटो हिँडेको देखेकी थिइन् र देखेकी थिइन्, बुवाको ढाडमा रगत । त्यहिबेला देखि नै उनले मनमा अबबाट घरमा एक रुपैयाँ पनि नमाग्ने अठोट लिइन् । १७/१८ वर्षको कलिलो उमेरमा जम्मा २ हजार बोकेर उनी काठमाडौँ छिरेकी थिइन् । उनको साथमा केही सामान थिएन, त्यो दुई हजारले आफूलाई जिन्दगी सिकाएको उनले सुनाइन् । उनले बरु दुःख लुकाएर बस्नु उचित ठानिन् तर घरमा मागिनन् ।

कलासँग सम्बन्धित विभिन्न आयआर्जनको मसिनो धागोलाई समाउँदै २०६४ सालमा ललितकला क्याम्पसमा भर्ना भएकी उनले चित्रकला विषयमा मास्टर्ससम्मको अध्ययन गरिन् ।

surkshya wagle

पहिलो पटक मण्डिखटारमा मासिक ३,००० वेतन दिने शर्तमा तिब्बेतियन कलासँग सम्बन्धित थान्का बनाउने काम गरिन् । तर, उनलाई २,५०० मात्र पारिश्रमिक दिइयो । त्यसपछि उनी बौद्धमा सोही स्वरूपको काम गर्न थालिन् । जहाँ करिब ३,५०० सम्म कमाइ हुन्थ्यो । तर, करण बस् उनले त्यहाँको काम पानी छोड्नु पर्‍यो । त्यसपछि कमर्सियल आर्टिस्टको रूपमा उनले ठमेलमा हातमुख जोर्ने बाटो पहिल्याउने निर्णय लिइन्।

उनी आर्थिक आर्जनका लागि विशेषगरि पोट्रेट नै गर्छिन् भने एक्जिबिसनको लागि राख्ने कामहरूमा फरक क्षमता भएको विषय सम्बन्धित रहने गरेको छ । जसको नाम उनले ‘च्यालेन्जिङ्ग लाइफ’ राखेकी छिन् । उनी भन्छिन्, “जीवन भनेको चुनौतीपूर्ण जसलाई पनि छ, तर बढी चुनौतीपूर्ण चाहिँ फरक क्षमता भएकाहरूलाई हुन्छ ।”

शारीरिक असहजताको कुरा गर्दा कक्षा १० सम्म पढ्दा कुनै पनि समस्या नभएको र स्कुले विद्यार्थी हुँदा आफूलाई कहिल्यै अरू भन्दा फरक छु भन्ने महसुस नभएको उनले बताइन् । कलेज पढ्दासम्म पनि त्यस्तो केही महसुस नभएको उनले सुनाइन् । उनले भनिन्, “तर जब २५ वरिपरि लागिन्छ नि त्यतीबेला समाजले चाहिँ हेर्ने दृष्टिकोण चाहिँ फरक हुने रहेछ, समाज सँगसँगै आफ्नो परिवारलाई पनि केही न केही नमिठो चाहिँ लाग्ने रहेछ ।”

विवाहको कुरा आउँदा, शरीर अरूको भन्दा अलिकति फरक भइसकेपछि मान्छेहरूको हेर्ने नजर धेरै फरक हुने गरेको महसुस उनले गरेकी छिन् । उनी केही मान्छेहरूले आफूसँग भएको क्षमतालाई नजरअन्दाज गरेर बाहिरी आवरण र शारीरिक स्वरूप हेरेर जज गर्ने गरेको बताउँछिन् । उनी भन्छिन्, “हामीलाई समाजको तल्लै नजरमा राखेर हेर्ने गरिन्छ, अपाङ्ग त हो नि, अपाङ्ग भनेको अपाङ्ग नै हुन्छ, जतिसुकै ठुलो जागिर खाओस् भन्ने खालका वचन लगाइन्छ ।” आफू क्षमतावान् भएर आफूले अरूको लागि गर्दा सम्म पनि उनीहरूले नदेख्ने गरेको उनी सुनाउँछिन् । उनी आफू कमजोर भन्दा पनि, उनीहरूको मानसिकता कमजोर रहेको बताउँछिन् । उनी भन्छिन्, “अहिले यसो विचार गर्दा म आफू कमजोर थिइनँ, मेरो हाँस्ने खेल्ने उमेरमा मैले जीवन के हो बुझेँ ।”

surkshya wagle

देशले कला तथा कलाकारहरूको महत्व त्यति बुझे जस्तो नलागेको बताउने उनी चित्रकलाका अलावा पर्फर्मेन्स आर्ट्स पनि गर्ने गरेकी छिन् । पछिल्लो पटक उनले देखाएको पर्फर्मेन्स आर्ट्सको  शीर्षक पनि ‘च्यालेन्जिङ्ग लाइफ’ नै रहेको थियो ।वाग्ले

जसमा ह्विल चेयर प्रयोगकर्ताको समस्या देखाएकी थिइन् । क्यानभासमा चित्रकलामार्फत देखाउन नसकेका कुराहरू पर्फर्मेन्स आर्टमार्फत देखाउने गरेको उनले बताइन् । पर्फर्मेन्स आर्ट्स ‘च्यालेन्जिङ्ग लाइफ’का लागि उनले सम्बन्धित व्यक्तिहरूसँग भेटेर उनीहरूका समस्या सुनेकी थिइन् । जहाँ उनीहरूले आफ्नो पढ्ने इच्छा रहेको, जागिर खाने क्षमता रहेको तर ह्विल चेयर मैत्री संरचना नहुँदा निकै बाधा पुगेको सुरक्षालाई बताएका थिए । साथै, आफ्नो शरीर अरूलाई छुन दिन मन नहुँदा-नहुँदै अरूले छुने, बोकेर लैजाने गरेको कुरा मुख्य समस्या रहेको उनीहरूले बताए । ह्विलचेयरमैत्री संरचनाहरू मात्र भइदिए यस्ता धेरै समस्याबाट उनीहरूले छुटकारा पाउने कुरा बुझेर उनले त्यसलाई पर्फर्मेन्स आर्ट्स मार्फत प्रस्तुत गरेकी थिइन् ।

चित्रकलालाई नै आफ्नो आयको स्रोत बनाउन अनेक बाधा र असहजताका विरुद्धमा उनी हरदम हिम्मतका साथ उभिइरहिन् । जिन्दगीका अनेकौँ उतार-चढाव छिचोल्दै आफूलाई आर्टिस्टको रूपमा टिकाइरहिन् । चित्रकारको भूमिकामा रहेर समाजका विसङ्गतिलाई देखाउने र केलाउने उनको यात्रा जारी छ । र, आगामी दिनहरूमा चित्रकलालाई नै अघि बढाउने, सकेसम्म अलिकति समाजमा केही परिवर्तन होस् भन्ने खालको काम गर्ने  उनको योजना रहेको छ ।

आगामी कलात्मक दिनहरूको उनलाई शुभकामना !!

भिडियो

सम्बन्धित समाचार