मंगलबार , भाद्र ९, २०८३

तामाङ समुदायको दशैं अर्थात मेनिङ (म्हेनिङ)

चुल्हो माथि राख्ने एक प्रकारको टोकरी जस्तो वस्तुलाई खस भाषामा 'सराङ' भन्छ भने तामाङले 'ङङा, अथवा मेलाङ' भन्छ । यही मेलाङ अपभ्रंश भएर अहिले मेलाङ हुँदै 'म्हेनिङ' हुन पुगेको हो ।

image

  • मोहन लामा रुम्बा

चुल्हो माथि राख्ने एक प्रकारको टोकरी जस्तो वस्तुलाई खस भाषामा ‘सराङ’ भन्छ भने तामाङले ‘ङङा, अथवा मेलाङ’ भन्छ । यही मेलाङ अपभ्रंश भएर अहिले मेलाङ हुँदै ‘म्हेनिङ’ हुन पुगेको हो । यही म्हेनिङ पर्वलाई तामाङ समुदायले दशैं पर्वको रूपमा मान्दै आइरहेको छ।

सराङ : अब चुल्हो माथि राखिने सराङ कसरी पर्वको नामकरण हुन पुग्यो भन्ने सन्दर्भमा जाऔँ । तामाङ समुदायले दशैं पर्वको बेला खेप्पा सुङ्को पूजा गर्छ, खेप्पा सुङलाई गुरु चन पनि भनिन्छ । तामाङ भाषामा खेप्पाको अर्थ वृद्ध, बुर्जुवा, वरिष्ठ, अभिभावक हुन्छ ।

खेप्पा उत्पत्ति : जब धर्तीमा अन्याय अत्याचार बढ्दै गएपछि घाङरी रेम्पुर्छे (कैलाश पर्वत) मा विराजमान ह्ला छेन्पो(महादेव)ले आफ्नो जट्टाबाट एउटा शक्तिशाली सहयोगीको रूपमा खेप्पाको उत्पत्ति गर्नुभई कैलाश पर्वतबाट खेप्पा र महादेव दक्षिण तिर झर्नु भयो । यहाँ भएको विग्नबाधा, अनिष्ट हटाउँदै हिँड्नेक्रममा गोकर्णमा आइपुग्नु भयो । गोकर्णबाट महादेवले खेप्प सुङलाई यतै छोडेर महादेव एक्लै भारत वर्ष (घ्याकार ह्युल्) जान लाग्दा खेप्प सुङ्ले पनि आफ्नो जट्टा फिँजाएर धर्ती आकाश भरि फैलाएर महादेवलाई एक्लै जानबाट रोके । र म पनि तपाईँकै साथमा भारत वर्ष जान्छु भनेर भन्न थाले । महादेवले ‘तिमी यहीँ बस्नुपर्छ, यहाँ बसेर सारा प्राणीको संरक्षणमा लाग्नु । यिनीहरूले तिमिलाई पुज्ने छ’ भनेर सम्झाए ।  साथै महादेवले ‘म धर्मको रक्षाको लागि भारत वर्ष जानुछ । पछि फर्केर आउँदा सँगसँगै कैलाश पर्वत (घाङरी रेम्पुर्छे) फर्काउला’ भने । हिमाल पारी पार्वतीले, हिमाल तलतिर खेप्प सुङ्लाई संरक्षण गर्ने जिम्मेवारी दिएर महादेव भारत वर्ष प्रस्थान गर्नुभयो।

खेप्पा सुङ आह्वान पूजा

खेप्पा सुङ्को पूजा लामाले होइन, बोन परम्पराको अगुवाई गर्ने, जातीय कुल कुलायन पूजा गर्ने लाबोन र बोन्पोहरूले गर्दछन् । उनीहरूले पनि महादेवको जस्तो कपालको जट्टा पाल्ने गर्दछन् । खेप्पा सुङ्को पूजा तामाङले वैशाख, जेठ, असारमा खेप्प सुङ्लाई घरमा आह्वान गरी गर्दछन् । यो पूजालाई ‘खेप्पा क्याप सुँ पूजा’ भनिन्छ अर्थात् ‘खेप्पाको शरणमा पर्ने पूजा’ । यो पूजा गरेपछि खेप्प सुङ आफ्नो घरमा विराजमान भएको विश्वास गरिन्छ । खेप्पा सुङ्लाई विराजमान गराई सकेपछि खेप्प सुङ्ले संरक्षण गरेर बस्छ भन्ने जनविश्वास रहिआएको छ ।

खेप्पा सुङ बिदाइ पुजा:

दोस्रो पूजा उहाँको बिदाइ पूजा हुन्छ । झरी, वर्षभरि हामीलाई विभिन्न विग्नबाधाबाट रक्षा गरी दिनु भएकोमा कृतज्ञता प्रकट गर्दै बिदाइ पूजा गर्दछौँ । यो पूजा घटस्थापनादेखि फूलपाती (सप्तमी) सम्म चल्दछ । यो बिदाइ पूजालाई ‘खेप्पाश्यापा पूजा’ भनिन्छ । यो बिदाइ पूजा घरबाट पिँढी हुँदै बाहिर आँगनमा लगेर बिदाइ गरिन्छ ।

खेप्पा सुङ्लाई बिदाइ गर्दा उहाँलाई बलीमा चढाएको मासु (प्रसाद)लाई सराङमा थालीमा राख्ने गरिन्छ भने कुल पूजाको प्रसाद डालोमा राख्ने गरिन्छ । त्यसैले तामाङ जाति भित्र चुल्होसम्म जान जोसुकैलाई अनुमति हुँदैन । यसको निहित कारण यही हो- चुल्होमा आफ्नो इष्टदेव हुन्छन् । यहीँ भन्ने मान्यता भएकोले दशैंलाई सराङ पर्व अर्थात् म्हेनिङ पर्व भन्ने गरिन्छ । खेप्पा सुङ्को पूजा गरेपछि आफ्नो मान्यजनको (खेप्प)को हातबाट आशीर्वाद लिँदै दहीमा मुछिएको चामलको टीका लगाएर यो पर्व भव्य रूपमा मनाउने गरिन्छ ।

Tags:

सम्बन्धित समाचार