मंगलबार , साउन ८, २०८१

फेरिँदा तीज मनाउने प्रवृत्ति

image

काठमाडौं । बजारका चोक, खुल्ला चउर, गाउँका चौतारी, बगैचा, घरका आँगनमा नाचिने गाउने तीज हिजोआज भने होटल तथा रेष्टुरेण्टमा रौनकता बढेको छ । दैनिक समुहमा दरखान जानेको रमझम छ । तीजका गीत घन्किने गाउँका चौतारी, चोक, घरआँगन अहिले सुनसान जस्तै बनेका छन् ।

पार्टी प्यालेस, रेष्टुरेण्ट, होटल व्यावसायीलाई दर खुवाउन तीजका बेला भ्याइनभ्याइ छ । नयाँ पहिरनमा सजिएर आमा समूह, महिला समूह तथा विभिन्न समूहमार्फत दरखाने र रमाउनेको जमात बढ्दो छ । यस परिवेशले शहर बजारमा मात्रै होइन ग्रामीण भेगमा पनि छोइसकेको छ ।

गाउँका चौतारी, प्रतिक्षालय र आमा तथा महिला समूहका भवनमा दरका परिकार तयार पारेर रमाइलोसँगै एकापसमा शुभकामना आदानप्रदान गर्दै समूहमा तीज मनाइन्थ्यो । ठूला शहर बजारमा मात्र होइन आजभोली साना शहर बजारका होटल, रेष्टुरेण्टमा पनि दरखानेको भीड देखिन्छ । पर्व मनाउने क्रममा पछिल्लो समय अरुको देखावटी प्रवृत्ति बढेको छ ।

पार्टी प्यालेसमा गएर तीजमा महिलाले दुःख र वेदनाका गीतमा नृत्य प्रस्तुत गर्दा ठाउँ र परिवेश अनुसार सुहाउँदो नभएको अहिले धेरैले सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् । विशेषगरी गायिका विष्णु माझीको चरी जेलैमा बोलको गीतले निकै चर्चा पाएको छ । सामाजिक सञ्जालमा होटल तथा रेष्टुरेण्टमा महंगा लत्तापडा, गरगहनामा सजिएर दर खादै महिलाहरूले ‘जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुदै रुदै बेसी मेलैमा’ बोलको गीतमा नृत्य गर्दा गीतको मर्मअनुसार उचित नभएको धेरैको टिप्पणी छ ।

गाउँकै चौतारी, बगैचाको शीतल छाहारीमा महिला जम्मा भएर पकाउने, खाने, गाउँने नाच्ने गर्दा आउने आनन्द छुट्टै छ । विभिन्न काम तथा पेशा व्यावसायमा आबद्ध रहेका महिलालाई सामूहिक रुपमा दरखाने कार्यक्रममा सहभागी हुने अवसर मिल्दैन ।

कार्यालय समय सकिएपछि, दिनभर व्यापार गरेर साँझपख होटलमा साथी, दिदीबहिनी, आफन्त जम्मा भएर नाच्ने गाउने एउटा अवसर होटेल तथा पार्टी प्यालेसले दिने केहीले तर्क गर्छन । होटल तथा रेष्टुरेण्टमा दर खान जादैमा विकृति नै हो भनेर भन्न नमिल्ने र कामको व्यस्तताले गर्दा समयअनुसार चलनचल्तीमा आएका सुख सुविधा उपयोग गर्नुपर्ने उनीहरू बताउँछन् ।

सम्बन्धित समाचार