शनिबार , बैसाख २६, २०८३

थारू समुदायमा लोक गीतिसाहित्य र संस्कृति

image

Photo by: Himal Darpan

नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक देशको रूपमा चिनिन्छ । यहाँ प्राचीनकालदेखि विभिन्न जातजातिहरूको बसोबास हुँदै आएको छ । ती सबै जातजातिहरूको आफ्नै कला–संस्कृति, रहन–सहन, लवाइ–खवाइका साथै बोल्ने भाषा पनि फरक–फरक रहेका छन् । यही विविधितामा हामी आम नेपालीको आफ्नै पहिचान लुकेको छ । 

भावनात्मक अभिव्यक्ति लिखित, मौखिक वा सांकेतिक रूपमा अरूलाई अभिव्यक्त गर्ने र अरूको अभिव्यक्ति आफूले सजिलै थाहा पाउने माध्यम भाषा हो र आत्माभित्रको विचार, सामाजिक परिवेशमा देखापरेका मानवीय व्यवहार, क्रियाकलाप तथा प्राकृतिक सौन्दर्यलाई कुनै पनि भाषामा लिखित वा मौखिक रूपमा संग्रहित भाव साहित्य हो । साहित्यमा रस, छन्द, गुण, अलंकार, रीति–रिवाज, कला, संस्कृति तथा प्राकृतिक सुन्दरता समावेश गरिएको हुन्छ । मानव समाजमा भाषा र साहित्य एउटा अपरिहार्य तत्व हो । यसले हरेक समुदाय तथा जातिहरूको रहन–सहन कला, संस्कृतिको पहिचान गराइरहेको हुन्छ । त्यसैले यहाँ बसोबास गर्ने हरेक जातिहरूको आफ्नो मौलिक सृजनाको संग्रह नै लोकसाहित्य हो । (कोपिला २०७० : ३६) । 

लोकगीति साहित्यको बारेमा कुरा उठिसकेपछि लोकगीति साहित्य के हो ? भनेर बुुझ्नु जरुरी हुन्छ । सामान्यतया कुनै भाषाको लोकलयमा सजिलै गाउन सकिने गीत नै लोकगीत हो । यसै सेरोफेरोमा रहेर सिर्जना गरिएको साहित्य लोकगीति साहित्य हो । यसमा मधुर भाका, धुन र स्वर समायोजन गरिएको हुन्छ । गीतले निश्चितक्षेत्र ओगट्ने भएतापनि त्यस गीतलाई मौलिक रूपमा उजागर गर्न सकियो भने बृहतक्षेत्र बनाउन सक्छ । थारू समुदायमा प्रचलित लोकगीतहरूको आफ्नै मौलिक विशेषता रहेको छ । दाङ–देउखुरी र अन्य क्षेत्रको लोकसाहित्यमा केही भिन्नता रहेको छ ।  भिन्नता भएकै कारणले स्थान र क्षेत्र अनुसार लोकसाहित्यले पनि सामाजिक परम्परा मूल्य र मान्यता अनुरूप आफ्नो छुट्टै पहिचान कायम गरेको छ । र, क्षेत्र विशेषको लोकसाहित्यको रूपमा पनि प्रचलित रहँदै आएको छ । (कोपिला २०५९ : ९) । थारू लोकगीति साहित्यभित्र गुर्बाबक जल्मौटि, सजना, झमरा, माँगर, ढमार (ढुम्रु, डफ अर्थात डफैया), सुर्खेल, लगनी, सजनी, उडासी, सिगरु, सखिया, मघौटा, अस्टिम्की गीत, पचरा, मैना, ढक्हेर गीत, विडेसिया लगायतका ऋतु गीत, पर्व गीत, स्तुति गीत  अनि प्रहर–प्रहरमा गाइने विभिन्न सन्दर्भका गीतहरू रहेका छन् । 

यी प्रचलित लोकसाहित्यको कहिले र कसरी सुरुवात भएको हो भन्ने कुरा निश्चत रूपले तोक्न सकिँदैन । लोकसाहित्यको इतिहास मानव जातिको उत्पत्ति सँग–सँगै सुरु भएको हो । थारू समुदायमा प्रचलित गीतहरूको पनि कुनै लिखित अभिलेख नभएकोले यसको सुरुवात मानवबस्ती बसेदेखि नै भएको अनुमान गर्न सकिन्छ । मान्छे आफै श्रमिक भएकोले आफ्नो श्रमलाई सरल र आनन्दमय बनाउनको लागि गीतको सुरुवात गरेको हुनुपर्छ । विशेष गरेर थारू समुदायका मानिसहरूलाई पेशागत रूपमा हेर्ने हो भने पनि खेती किसानी गर्ने भएकोले कहिले खेत–बारी, वन–जंगल, गाई–गोरुको गोठालो जाँदा या अन्य कुनै काम गर्ने क्रममा सामूहिक या एकल गुनगुनाउँदा निस्केका सुरिलो स्वरको मौलिक ढाँचामा शब्द व्यवस्थापन गरी तयार गरेको सिर्जना नै लोकगीत हो । (कोपिला २०६७ : ४९) । थारू समुदायमा प्रचलित अधिकांश गीतहरू श्रमसँग जोडिएर गाइने भएकोले पनि सजिलै अनुमान लगाउन सकिन्छ । यसरी श्रम गर्दा थकान महसुस नहोस् भनेर या कामलाई सरल र सुगम बनाउनको लागि स्वस्फूर्त निस्किएका भावहरूको प्रस्तुति नै लोकभाका हो । 

लोकसाहित्यको प्रयोग र विस्तार विभिन्न चाडपर्वहरू मेला पर्व, उत्सवमा एउटा रमाइलो र मनोरञ्जनको रूपमा भयो । चाडपर्वहरूको शुरुवातसँगै मानिसहरूलाई गीतका अतिरिक्त नाच्ने पनि बनायो । नाच पनि गीतको प्रभावबाटै भएको अनुमान गर्न सकिन्छ । गीत गाउँदा उक्त भाव र भाकासँग मानिसलाई झुम्ने बनायो र विस्तारै लय र तालसँगै नाच्न सिकेको हुनु पर्छ । 

थारू समुदायमा अहिलेसम्मको सबैभन्दा पुरानो गीति काव्यको रूपमा ‘गुर्बाबक जल्मौटि’लाई मानिन्छ । यो गीतमा सृष्टि र मानव जीवनशैली बारे उल्लेख गरिएको छ । गुर्बाबाले यो पृथ्वीको उत्पत्ति, मानव लगायत जीवजन्तु, वनस्पतिको सृष्टि तथा कृषि प्रणालीको बारेमा बोलेको छ साथै समयक्रमसँगै मानिसको सामाजिक जीवनका विकासक्रमको बारे पनि उल्लेख छ । जुन थारू लोकजीवनसँग सम्बन्धित गाथाहरू रहेका छन् । जसको एक श्लोक यहाँ यसरी प्रस्तुत गरिएको छ :

हाँ हाँ रे ! पहिले टे बरसैं रे ढुन्ढि रे कुहिर ।

अब डैया, चौंडिस पिरठि ढुन्ढि रे कुहिर ।।

हाँ हाँ रे ! डोसर टे सिरिजल गोबराकै रेख ।

अब डैया, कलजुग घेरल मिरटि भवन ।। (चौधरी, २०७५ : ३२)

यही गुर्बाबक जल्मौटि कालान्तरमा आएर लयान्तर र विषयान्तर गरी विभिन्न गीतमा परिणत भएका छन् । त्यस मध्यको सुर्खेल पनि हो । त्यसो त समयक्रमसँगै सांस्कृतिक विचलन पनि देखिन थालेका छन् । जसले गर्दा आफ्ना मौलिक संस्कृतिहरू पनि अन्य समुदायका संस्कृतिसंग घुलमिल हुने क्रम जारी छ । यसै सन्दर्भमा प्रकतिपूजक थारू समुदायमा पनि हिन्दूकरण देखा पर्न थाल्यो र हिन्दू ग्रन्थहरूमा उल्लिखित विषयवस्तु पनि थारू समुदायको लोक गीतिसाहित्यहरूमा देखा पर्न थाले । सुर्खेल पनि यसको एउटा रूप हो । जुन गुर्बाबक जन्मौटिकै लयमा गाइन्छ तर विषयवस्तुको हिसावले हेर्ने हो भने यसका अनेक सन्दर्भ छन् । जसमा शिव–पार्वती, रामायण, महाभारत लगायत मानव जीवनका विभिन्न सन्दर्भहरूमा रचिएका छन् । यो गीत भुमरा नाचमा गाइने गरिन्छ । त्यसो त गुर्बाबक जल्मौटिलाई सुर्खेलको रूपमा मात्रै होइन । विभिन्न आयामसँगै विषयान्तर र लयान्तर गरी अस्टिम्की र सखिया गीत पनि यसकै परिवर्तित रूप हुन् । सुर्खेल विभिन्न पैढार (अध्यायमा) रचिएको गीतिकाव्य हो । जस्तै : 

(क) पवनी पैढार :

हाँ–हाँ रे डरबे सोहावन ह्यौंटा महल बनाइ, 

डरबे सोहावन, ह्यौंटा डखिने लुटाइ, । 

हाँ–हाँ रे, पुर्वे पच्छिवै रे, ह्यांैटा महल रे बनाइ, 

उटरे डखिने रे, ह्यौटा सहर बनाइ ।।

(ख) कोहरा–टोरैयक पैढार :

हाँ–हाँ रे यिहे सेटिन ढरम–ढियरिया मोर चलिन भइलाँ

कोंह्रा–टोरङ्गनके फुलवा भइ रे गइलाँ भेट ।

हाँ–हाँ रे जौने फुलवक कारन गइलुँ मैं हरिकविलास,

जौने फुलवाके बिचे भइ रे गइलाँ ठार्ह ।।

(ग) नँठवा सोलरक पैढार :

हाँ–हाँ रे गाउँ घरिया नँठवा सोलरा भैया रे टैं मै हुइबि गुरुभाइ,

सोनके कैचिया रे भाइ मोर डेहु रे बनाइ

हाँ–हाँ रे सोनके कैचिया भाइ मोर डेहु रे बनाइ,

सोनके ठकर्वा रे भाइ डेहु रे बनाइ । 

(घ) गिरहुल पर्वटके पैढार :

हाँ–हाँ रे यिहे सेटिन ढरम–ढियरिया मोर चलिन भइलाँ,

गिरहुल पर्वट ढियरि, मोर भइ रे गइलाँ ठार्ह ।

हाँ–हाँ रे हठवाँ टे हेराइल ढियरि, मोर हाँठे नहिं डेखे

गोरे टे हेराइल् ढियरि मोर ढुन्ढि रे कुहिरा । 

(ङ) बर्कि वनारसके पैढार :

हाँ–हाँ रे यिहे सेटिन ढरम–ढियरिया मोर चलिन भइलाँ,

बर्कि बनारस ढियरि भइ रे गइलाँ ठार्ह ।

हाँ–हाँ रे डुरहिं से डेखल बिरहि मोर गइरिजे आइट्,

घाँस–पाट रे बुहर््या मोर डिहलाँ उराइ ।

(च) गुटिया फुलक पैढार :

हाँ–हाँ रे यिहे सेटिन ढरम–ढियरिया चलिन गइलाँ,

गुटिया फुलवा हो ढियरि मोर भइ रे गइलाँ भेट ।

हाँ–हाँ रे यिहे सेटिन ढरम ढियरि मोर चलिन गइलाँ

डुबियक फुलवा हो ढियरि मोर भइ रे गइलाँ भेट ।

(छ) अउढा नगरियक पैढार :

हाँ–हाँँ रे यिहे सेटिन ढरम–ढियरिया मोर चलिन भइलाँ,

अउढा नगरिया हो ढियरि मोर भइ रे गइलाँ ठार्ह ।

हाँ–हाँ रे यिहे सेटिन ढरम ढियरि मोर चलिन भइलाँ,

कुइयाँके जगटपर ढियरि मोर भइ रे गइलाँ ठार्ह ।

(ज) इन्जल बिरछियक पैढार :

हाँ–हाँ रे उहे चलल ढरम–ढियरिया रे चलिन भइलाँ

इञ्जल बिरछियाटिर ढियरि रे भय रे गइलाँ ठार्ह ।

हाँ–हाँ रे जेंहिटिर ढियरि रे मोर घोरि ठर्हियाइ,

मयरि लसरिया डारके मोर उटरल बटाँ । (चौधरी २०५८ : ४०–४५)

गुर्बाबक जल्मौटिको अर्को रूप अस्टिम्किीक गीत पनि हो । यो गीत पनि गुर्बाबक जल्मौटिलाई केही लयान्तर र केही विषयान्तर गरी गाउने गरिन्छ । प्रारम्भिक चरणमा पृथ्वीको उत्पत्ति र सृष्टिका सन्दर्भ रहेको यस गीतिकाव्यमा मानव उत्पत्तिसंगै पछिल्लो समयमा केही सन्दर्भ कृष्ण गाथा पनि रहेका छन् । अस्टिम्की पर्व मूलत: थारू समुदायमा महिलाले मनाउँछन् । यो पर्वमा व्रत बसेका महिला र अन्य पुरुषहरूले गाउने गर्छन् ।

पहिले टे सिर्जल इसरु महाडेव, रइनि मछरिया 

रइनि मछरिया हो इसरु महाडेव, जलमे डेहल डार ।

जलमेसे रइनि मछरिया, बुरिभला जैबे 

अस्कै रैनि मछरिया, डिहवु सराप ।।

थारू लोकसाहित्यलाई हेर्ने हो धेरै गीतहरू सन्दर्भ एउटै भएपनि विभिन्न लयान्तर गरेर गाइएको पाइन्छ । यसरी थारू समुदायमा गाइने अस्टिम्की गीतको हुबहु स्वरूपलाई लयान्तर गरेर गाइने गीत सखिया हो । यो गीतमा सामूहिक रूप नाच्ने चलन छ । यो नाच महिलाहरूले गोलो घेरा या पंक्तिबद्ध रूपमा मादलको तालमा नाच्दै गाउँछन् । यसमा मडरिया (मादल बजाउने व्यक्ति) केही पुरुष बाहेक सबै महिलाहरू हुन्छन् । यस गीतमा विभिन्न सन्दर्भहरू जोडिएका हुन्छन् । यो देवी–देउताहरूको स्तुति गान भएकोले देउताहरूलाई छाँकी (देउतालाई चढाइने रक्सी) चढाएर मात्र गाउन शुरु गरिन्छ । 

थारू समुदायमा सखिया गीत हरेरी पूजादेखि गाउन सुरू गरिन्छ र दीपावलीपछि विधिवत पूजा पाठ गरी अन्त्य गरिन्छ । यो नाच नाच्नको लागि हरेरी पूजामा तीन या पाँच वर्षको लागि डिंवाँ (अवधि) तोकिन्छ । डिवाँ नपुग्दासम्म उनीहरू नियमित नाच्नु पर्ने हुन्छ र अवधि पुगेपछि विशेष किसिमको पूजा गरी अन्त्य गरिन्छ । नवीकरण गर्नु परे फेरि आउने वर्षको हरेरी पूजामा गरिन्छ तर, गीत गाउनलाई भने डिवाँ तोक्नु पर्दैन समय अवधिभित्र महिला या पुरुषहरूले गाउन सक्छन् । यो नाच देउखुरी र दाङ उपत्यका लगायत अन्य जिल्लामा आफ्नो ठाउँ र चाल–चलन अनुसार नाचिन्छ । यो गीत पर्व गीत भएकोले निश्चित समयभित्र मात्र गाइन्छ । अन्य समयमा यो गीत गाएमा अशुभ हुने जनविश्वास रहेको छ । नाच गर्दा अत्यधिक खर्च लाग्ने भएकोले अहिले यो नाच लोप हुने अवस्थामा छ । यो गीतको केही अंश यस्तो छ : 

आझु आझु कैले रे डाडु, आझु नहि आइले रे, 

सखि रि ! भुरि करैयक मडिया गैइला रे अमलाइ

‘आज आज भन्यो दाजु तर आएनौं, तिम्रै लागि साँची राखेको रक्सी बिग्रेर अमिलो भयो’ भन्ने भाव बोकेको यस गीतमा आफ्ना दाजु, बहिनीप्रतिको सदभाव प्रतीत हुन्छ । यस गीतमा जीवनका विभिन्न आयामहरू पनि प्रस्तुत गरिएको छ । 

यस्तै बर्किमार पनि सखिया नाच जस्तै देउताहरूको (स्तुति गान) गीत हो । यो गीतको शुरुवात गर्नु भन्दा पहिले छाँकी अनिवार्य चढाउनु पर्ने हुन्छ । यो गीत पनि हरेरी पूजापछि शुरु हुन्छ तर केही पुराना व्यक्तिहरू यसको शुरुवात थारूहरूको बर्का अट्वारीदेखि शुरु हुने बताउँछन् । बर्किमार गीत बसेरै पनि गाउन सकिने गीत हो । थारू समुदायको पौराणिक बर्का नाच महाभारतसँग सम्बन्धित छ । यसलाई धेरैले थारू पुराण भनेर पनि भन्ने गरेका छन् । बर्किमार गाएर नाचिन्छ पनि, जसलाई बर्का नाच भनिन्छ तर अहिले यो नाच पनि दुर्लभ भइसकेको छ । (दहित, २०५७ : ४५) गीत भने कहिलेकाहीं चाडपर्वको बेलामा सुन्न पाइन्छ । जो यस्तो छ :

पुरुब सुमिरहुँ, सुरज भरार

पच्छिउँ सुमिरहुँ डेविया खरटार

उटरे मैं सुमिरहुँ हरि–कविलास

डख्खिने सुमिरहुँ सिउ जगन्नाथ

भागमोटि सरन लेहैबु टोहार पाउ 

डेखि ढरम डेवि बन्ढन । (चौधरी, २०६७ : ६७)

यो बाहेक हुडुङ्गवा, लठ्ठिहवा, मुङ्गरहवा, मघौटा लगायत नाचहरू पनि छन् । सबै नाचमा गीत गाउनै पर्छ भन्ने छैन । कुनै नाच गीतबिना नै मादलको तालमा मात्रै नाच्न सकिन्छ । 

ढाइ ढाइ मैं गैलु रे हाँ, सकिरि गलिवा

सखिया हो सेंडुर पहिरटि मोर हुइल यटिबेर 

सखिया हो ……

माथि यो गीत मघौटा हो । यो थारू जातिको महान पर्व माघमा (माघ संक्रान्ति) गाउने पर्व गीत मध्येको एक हो । गीतसँगै नाचिने भएकोले पनि यो सामूहिक गीत हो भनेर अनुमान लगाउन सकिन्छ तर यो गीत देउखुरी उपत्यकामा गाएर नाचिंदैन । दाङ लगायत अन्य जिल्लामा भने नाच्ने–गाउने प्रचलन छ । 

यस्तै पर्व गीतमध्ये ढमार पनि महत्वपूर्ण गीत मानिन्छ । यसलाई ढुमरु, डफ लगायत नाम दिएर पनि चिनिन्छ । यो गीत पुस महिनाको अन्तिम साता (सुवर मर्लक दिन) विशेष गाउने बैठाकुर (बसेर गाइने गीत) हो । त्यसैले ढमार पुसको अन्तिम दिनको साँझ आ–आफ्नो इष्टमित्रको घरमा गाएर सुंगुरको मासु र जाँडसँगै रातभरि जाग्राम बसेर गाइन्छ र बिहान कुलो, घाट, नदी, पोखरीमा गई नुहाइ–धुवाइ गरी आफ्नो पुर्खा, इष्टमित्रको घरमा सेवा सलाम गर्दै आशीर्वाद लिने र दिने गरिन्छ । यसै क्रममा बाँकी रहेको ढमार पुन: गाउने गर्छन् । ढमारको केही अंश 

उजरल डिहवा संख पिपरहवा,

जेहि टिर बटाँ सिरमल जोगिया, 

एक रूप जोगिया सय रूप बसिया

जोगियक बसिया सुनटि सुहावन ।।

महिला र पुरुष दुबैले गाउने ढमार गीत गीत मुलत: पुरुषले नै बढी गाउने चलन छ । गीतकोे सुरुवातमा गाइने टुक्कालाई ‘टेक’ भनिन्छ । यसपछिको टुक्कालाई ‘उलार’ या ‘अँखरा’ भनिन्छ । सबै अँखरा पछि टेक दोहोरिने गर्छ । यस गीतमा आफैले प्रश्नको उठान गर्नु र जवाफ पनि अर्को अँखरामा आइसक्नु पर्ने हुन्छ । जस्तै :

टेक :– फुला फुलिगै अनेक, अमरिट फुलुवा अनार सोहै हो । २

उलार :–कौने फुला फुलै लाल गुलाब, कौने फुलै छेटनार ।

कौने फुला मोर डेवाइ वास सुवास, अमरिट फुलुवा अनार सोहै हो ।।

फुला फुलिगै अनेक…

मखमल फुला फुलै लाल गुलाब, गेंडा फुलै छेटनार ।

डौना ओ बेबरि डेवाइ वास सुवास, अमरिट फुलुवा अनार सोहै हो ।। 

फुला फुलिगै अनेक…

टेक :– खुंझुरु खुंझुरु नुइया बोलै रे डैया, अब कैसे निकरुँ अँगनवाँ हो ।२

उलार :–के टोरे काह्रल् सुटहि ओ गोँयजि, के टोरे बिनल् पन्टोपनि ।

के टोरे बिनै मौनि डेलरिया, कौने चलै ससुरारे हो ।।

खुंझुरु खुंझुरु नुइया…

मैया मोरे काँह्रै सुटहि ओ गोँयजि, भउजि मोरे बिनै पन्टोपनि ।

काकि मोरे बिनै मौनि डेलरिया, ढियरि चलैं ससुरारे हो ।।

खुंझुरु खुंझुरु नुइया…

डफ गीतका विभिन्न सन्दर्भहरू हुन्छन् । त्यही सन्दर्भका आधारमा यसको वर्गीकरण गरिएको छ ।

(क) लल्ला गीत

टेक :– ढुमरु ढुमरु बोलै मँड्रा रे डैया, नाच्यो सडासिव हरे डगरा ।२

उलार :–उठो हरि लल्ला रे, 

पहिले मैं सुमिरहँु सरसटि आपन हो, 

टव सुमिरौं कलिमारि डैया ।

काँस ढाक रस डेहो, हृडय लागो हमार, 

कन्ठे बैठो हमार, टव रह्यो डाहिन ।।

ढुमरु ढुमरु बोलै….

उठो हरि लल्ला रे, डोसरे मैं सुमिरहँु भुइया भुँइहारिन् हो, 

टब सुमिरौं जगरनाठि डैया ।

डहिने रह्यो डेवाल ।

ढुमरु ढुमरु बोलै…

(ख) फुल्वार

टेक :– बारु फुला पिया रोपि गए रे डैया, बारु फुला पिया रोपि गए ।२

उलार :–उठो हरि लल्ला रे, अरे सिरहेटे ढारैं मालिन सुढरन डेलवा हो ।

अरे जाइ पुग्नै फुलवारे डैया, बारु फुला पिया रोपि गए हो ।

बारु फुला…

उठो हरि लल्ला रे, फुलरिया घुमि घुमि हेरै मोर मालिन हो ।

कोइ पापि डेहनंै सरापि डैया, फुलरिया मोर उकठि गैनैं हो ।

बारु फुला पिया…

(ग) ढमार गीत

टेक :– पिया बिछुरै रे, पिया बिलमै परडेस हमार ।

अविरंग होलि मैं कैसे खेलम् ।।

उलार :–जौं मइ जनटुँ रे पिया चलिजैहिँ, खोजटुँ मैं डेस वंगाले ।

पिआके साठे सटिन होइजंैटुँ, पुरबि जलम् फेर पैटुँ ।।

पिया बिछुरै रे…

त्यसैगरि अर्को उदाहरण :

टेक :– मै बवारि मोर टन बवारि, डेखो आज पिया बिना मै बवारि ।२

उलार :–उरटा गुलाब लाल भैनै बाडर, सरजे मुलुक ओजियार ।

भुँख पियास निंड नाहि आँवइ, अग्नि जलावट टन बवारि ।।

डेखो आज पिया बिना…

जौने डिन अइनै साटो पंच रे, जौने डिन अइनंै ठकाइ ।

जौने डिन पिया मोर गैनंै विडेस, साँचिन् लैगइ उठाइ ।।

डेखो आज पिया बिना…

(घ) बिहग्रा

टेक :– खेलि लेबुँ डिन चारे नैंहरुवा, मैं खेलि लेबुँ डिन चारे ।२

उलार :–पिहले गवना आँवइ टिन जाने हो, नौवा ब्राह्मन ठाकुर ।

पैया मैं लाग्यौं गाउँके ठकुरुवक, अबकि लगन् डेहो टारे ।।

खेलि लेबुँ डिन चारे…

डोसरे गवना आँवइ ससुरा हमारे, अब जाइ कहावइ लजाउँ ।

पैया मैं लाग्यौं अपने ससुरुवक, अबकि लगन् डेहो टारे ।।

खेलि लेबुँ डिन चारे…

(ङ) बठुवक जोर्नि

टेक :– बाठे है नाउँ जाडि, डेसवा रहव छाँइ ।२

उलार :–अरिया बिटोरे बरिया बिटोरे, और बिटोरे ब्राह्मन  ।

बैठि ब्राह्मन बेड बिचारे, लगन डेहो बटाइ, डेसवा रहव छाँइ ।।

बाठे है नाउँ ….

(च) कन्हैयाक झगरा

टेक :– लाज लेहो बिर्जा हमसे टँु कान्हा ।२

उलार :–साट सखिया मिलि गिलमट करैं, चलो जाइ सगरा लहाइ ।

चिर छोरि राढा ढिक ढरि डेवइ, जमुनामा करे असनाने ।।

लाज लेहो बिर्जा…

केहुरिसे आँवइ बारु कन्हैया, लुकटि छिपटि चलि आँवइ ।

सबहे चिर लैगै उठाइ, ढारे कडम कइ पेंर ।।

लाज लेहो बिर्जा…..

(छ) राम बनिवास

टेक :– उनका डिल कोइ डेउ समुझाइ, बनका चलै डुनु भाइ हो ।२

उलार :–रठहे साज प्रभु वनका सुढावाँइ, डुख भइनै माटा पिटाकै रे ।

जबसे रठ नयन ओटि भइनै, किहिका पठैबुँ हाल ललनाँ ।।

उनका डिल कोइ …

(ज) सिता हरन

टेक :– सैया वन छोरि चलो निरमोहि ।२

उलार :–एक टोरे सिटा अंगकै पाटिर, डोसरे गरभकै भारि हो ।

ढिरेसे चलो लछ्मन डेउरा, हमहँु चलब सँग साठ हो ।

टेक :– रानि सिटा रानि सिटा जो होटि पन्ठुलाल, कब मिलै रघुविरानन्डसे ।२

उलार :–कहैं मन्डोडरि सुनो राजा रावन, सिटा डारो पठाइ ।

रावन मारि सिटा अगवाइहैं, अब ना बचावै रे कोइ ।

(झ) सुडामा–किरिस्न मिट

टेक :– सुडामा मन्डिल डेखि डरावैं ।२

उलार :–एक रहै राम मरैया, कंचन खम्बा गरे ।

एक रहै मोरे टुल्सि विरुवा, जेंहिटर भोग जले ।।

गजभर कपरा सुडामा कबो ना पहिरे, हाँठि न झुल परे ।

बुन्डभर टेल सुडामा कबो ना बारे, लाखन डिप जले ।।

(ञ) चाँचर

टेक :– मैया रे खटपटे रे नयन मटवाला रे, सैंया निरमैया खटपटे ।२

उलार :– अगिया लागल् डुर डेस चाँचरे चाँचरे, जरिजावै डौना मेरौना ।

ओजरिया बाबा डोलिया फँडायो, डुरु डेस हे ससुरा रे ।।

डस सखि आगे डस सखि पाछे, बैठे कडारे ।

कडम जुर छंहियाँ, सैया निरमैयाँ ।।

(ट) होरिक गीत

टेक :– होरि मघहि गइ लागै बहुट डिन ।२

उलार :–के टोरे पालै रे सुगना परेउना, के टोरे पालै रे ।

के टोरे पालै गलहार मैना, होरि मघहि गइ लागैं बहुट डिन ।।

सासु मोरे पालैं रे सुगना परेउना, सासु मोरे पालै रे ।

डेवर मोरे पालै गलहार मैना, होरि मघहि गइ लागैं बहुट डिन ।।

(ठ) पहपट

टेक :– सेम सुनडरिया रानि, सेम पियारिया रानि ।२

उलार :–केकर बकुलिया उबरि कुबरि, केकर बकुलियक टुटल् टाँग ।

केकर बकुलिया सेम पियारिया, पिटरि मेँराइल् ठोँर रे ।

सेम सुनडरिया…

सासुक बकुलिया उबरि कुबरि, सैंयक बकुलियक टुटल् टाँग ।

डेउरक् बकुलिया सेम पियारिया, पिटरि मेँराइल् ठोँर रे । सेम सुनडरिया… (थारू, २०७५ : २३–२८)

यसैगरी स्तुति गीत मध्ये उदासी पनि एक हो । यो गीत पनि अहिले दुर्लभ मानिन्छ । 

परठम गनेस छोरल रिटु बन्ढु

माटा डिगमोर, अग्मागहिंर

नौसर भजनि, सुरज मन साँछि 

किया हे ! भवानि मोर लेकेर सरिर कि हरि हरि । 

यी गीत बाहेक थारू लोकगीति साहित्यमा ऋतु गीतहरू पनि थुप्रै छन् । थारू जाति मूलत: श्रमिक भएका कारण आफ्नो कामको साइत हेर्ने पनि आफ्नै किसिमको परम्परा छ । थारू जातिले पूर्वकालदेखि खेती–पाती (खेती किसानी) पेशा अपनाउँदै आएकोले काम अनुसारको गीतको पनि सिर्जना गरेको हो । ती गीत मध्ये सजना मुख्य हो । यो गीत जाडो याम सकिएपछि या शिशिर ऋतुपछि वसन्त ऋतुको आगमनसँगै जब वनजंगलका रुख बिरुवामा नवपालुवाहरू टुसाउन थाल्छन्, यता किसानहरू आफ्नो नयाँ खेतीपातीको लागि बिग्रिएका हलो, कोदालो बनाउँछन् र वसन्त पञ्चमीको दिन सबै किसानले आ–आफ्नो खेतबारीको एक कुनामा हलोेले जोतेर या खनेर खेती–पातीको शुरुवात गर्छन् । यही अवसरमा हर्षोल्लासका साथ सजना गाउन थाल्छन् । 

केकरि पलाइल सरि सुगुन रे, 

उरि रे बना लगलो । 

केकरि पलाइल टुँ टे मैना रे,

जुगरे जुग रहलो ।।

चैत्र–वैशाख महिना प्रचण्ड घाममा यता खेतमा लगाइएका रब्वी (दाल बाली पाकेर काट्ने र बोक्ने तयारी अवस्थामा हुन्छ उता नयाँ दुलहीहरू बीचमा कुनै चाडवाड नभएका कारण आफ्नो माइतीघर जान नपाएर आफ्नो साथी संगीहरूको वियोगले पिरोलेको हुन्छ । यसलाई बिर्सन तथा प्रचण्ड गर्मीमा काम गर्दाको थकान मेट्न एउटा छुट्टै किसिमको गीत लगनी गाउँछन्–

जो टुहुँ जैबो भौजि रे, डुर डेसवा नैहरवा रे 

मैलि कपरवा हो भौजि, ढारो रे ढोवाइ, 

मैलि कपरवा हो भौजि, ढारो रे ढोवाइ ।

का टे मै डेबु डेवरा रे, करि कपरा ढोवाइनि रि आवै 

का टे मै डेबु डेवरा रे, ढोवियाकि डाम 

का टे मै डेबु डेवरा, ढोवियाकि डाम ।

जेठ–असारमा कुनै साल अत्यन्त सुख्खा हुन्छ । जग्गा जोत्न नसकेर बाँझै राख्ने अवस्था आउन सक्छ । पानी पर्ने कुनै सम्भावना देखिँदैन । किसानहरूले निराश भएर आकाशतिर हेर्ने बाहेक कुनै विकल्प हुँदैन । भएका दुबो समेत ओइलाउन थाल्छ । बारीमा छर्नु पर्ने मकै, खेतमा विउ (व्याड) छर्नलाई पानीको आशमा बस्नु पर्ने हुन्छ तर थारू समुदायमा यस्तो गीतको सृजना भएको छ, जसले पानी पार्छ, त्यो गीत हो सजनी । थारू समुदायमा सुख्खाको समयमा यो गीत गाउँदा पानी पर्छ भन्ने जनविश्वास रही आएको छ । जसको केही अंश यस्तो छ; 

कहवइ टे उम्ररल 

कारिरे बडरिया रे, 

कहवइ टे वर्षे झिना बुँडा रे ।

कै लाख भिजे मोर लालि 

रंग चुडरिया रे, 

कै लाख भिजे मोर मोटिहार ।।

यी गीतहरू बाहेक बहलक गीत (झुला गीत) पनि ऋतु गीत अन्तर्गत पर्दछ । यो गीत मूख्यत: चैत, वैशाख, जेठ तथा दशै तिहारतिर गाइन्छ । यो गीत अरू गीतभन्दा धेरै फरक छ । घाम या दिनभरिको कामको थकानले साँझपख साथी भाइहरूसँग दु:ख–सुखका अभिव्यक्ति पोख्न पिङ खेल्दै यो गीत गाउँछन् तर अहिले थारू समाजमा पिङ खेल्ने परम्परा पनि लोप भइसकेको छ । अपवादको रूपमा केही बुढापाकाले मात्रै गाउँछन् । 

उटरक पर्वट, बसट सोलरवा भैया मिटवै हो न, 

रमा गर्हिडिस् सोलरा, माँठके मगिया हो न ।

उटरक पर्वट, बसट सोलरवा भैया मिटवै हो न ।

रमा गर्हिडिस सोलरा, माँठके टिकुलिया हो न ।।

थारू जातिको मुख्य पेशा कृषि भएकोले खेती–पातीको लागि हरेक उपभोग्य समान वनजंगलबाटै ल्याउनु पर्ने, घरमा पालिएका गाई–भैसीं, भेडा, बाख्रा चराउन जंगलमै जानु पर्ने, पात–पतिङ्गर, घाँस दाउरा लिन पनि जंगलमै जानु पर्ने भएकोले त्यहाँ पनि आफ्नो कामलाई सजिलो बनाउन सिर्जना भएको गीत वनगीतवा हो । यो पनि अहिले लोप भैसकेको छ । वनगीतवा :

अलियना गलियना सावर हे 

कुटना न कुटैलो हे, 

हाइ कोइ भरिया मोर 

आनो पाटा टुरे, 

घिरे सुटे आउ मोर विरना, 

टुहारे सुकिया मोर हिरा मोेलै रे ।।

थारू समुदायमा एउटै गीतलाई बाह्रैमास गाउन सकिने किसिमका गीतहरू पनि रहेका छन् । यसरी बर्षैभरि गाउन मिल्ने भएर यस्ता गीतलाई बरमासा गीत भनिएको हो । यो गीत गाउनलाई कुनै किसिमको सांस्कृतिक बन्धन हुँदैन । थारू समुदायमा अधिकांश गीतहरू निश्चित मौसम, समय, प्रहर, पल–पलमा मात्रै गाउन मिल्छ तर बरमासा गीतको भने कुनै निश्चित मौसम हुँदैन सधैं गाउने सकिन्छ । (चौधरी, २०६७ : ३९) जस्तै बरमासा गीत :

पहिले मै. सुमिरहँ श्री गुरु नारि बाँढु मैं जलठल ना रे हो,

अगलि समान समुन्डर बिच ढारि,

अरि हो, ठार्हि रे ठार्हि मोर काँपल सरिर ।

यस्ता धेरै किसिमका सदावहार, अजम्बरी गीतहरू थारू लोकगीति साहित्यमा सिर्जना भएका छन् । जो कुनै समय, मौसम या अवस्थामा गाउन सकिन्छ । ती मध्ये मैना पनि हो । यो गीत देउखुरी उपत्यका खासै गाउने चलन छैन । दाङ उपत्यका लगायत अन्य जिल्लाहरूमा भने यो गीत प्रचलित छ : 

हरि मैना, जो टुहँु जैवो सामि डक्खिन वनजिया रे मैना, 

पिपरक पाटा सामि चिठ्ठि लिखि जैहो रे मैना ।

मैना हो टुहँु जैबो सामि डक्खिन बनजिया रे मौना । 

जो टुहुँ सामि हो महि छोडि जैबो रे मैना ।।

विवाह एक मानवका लागि महत्वपूर्ण संस्कार हो । निश्चित उमेर पार गरी सकेपछि मानिस वैवाहिक जीवनमा प्रवेश गर्छ । विश्वका हरेक जातिहरूमा विवाहशैली फरक फरक रहेको छ । नेपालमा पनि विभिन्न जातजातिहरूको आ–आफ्नो संस्कृति छ र विवाहको पनि आ–आफ्नै परम्परागतशैली छ । थारू जातिमा विवाह गर्ने शैली आफ्नै मौलिकतामा आधारित छ । थारू जातिमा विवाह सिमल फुलेपछि अथवा शिवरात्री पछिको फागुन महिनामा उपयुक्त समय मानिन्थ्यो तर अहिले बाह्य संस्कृतिको प्रभावका कारण अन्य महिनाहरूमा पनि हुने गर्छन् । 

विवाहमा थारू जातिहरूमा विशेष किसिमको गीत गाइन्छ जसलाई माँगर भनिन्छ । माँगर विवाहको हरेक चरणमा फरक–फरक लयमा गाइने भएकोले फरक –फरक नामले चिनिन्छ । जस्तै दिउली दर्ने (विवाहको पहिलो दिनको साँझ दाल दर्ने) बेला गाइने गीत डिउलि डर्ना माँगर भनिन्छ । यो माँगर गाउँका भान्सा गर्न आएका महिलाहरूले जातोमा दाल दर्ने (पिस्ने) बेला गाउँका गढुरियाहरू सामूहिक रूपमा गाउँछन् । 

हरे कहाँवै टे सिर्जल करौडा वन हाय रे करौडा वन रे, 

कहाँवै टे सिर्जल डुढि बाघिन हाय रे करौडा वन ।।

हरे कहाँवै टे सिरिजल झालि मकुवा धानि 

कहाँवै टे उरुडा न रे ।

कहाँवै टे सिरिजल सडिया ओहि रे भिन्सरिया ।।

यसैगरी  (२) डुल्हा सप्रैना (३) डुलहा निकर्ना (४) चल्टु माँगर (५) डोला उठैना (६) बैठाकुर (७) सम्ढी–सम्ढा लग्ना माँगर (८) पाउ पुज्ना माँगर (९) विडाइ मग्ना (१०) डुल्ही निकर्ना माँगर (११) डोली उठैना (१२) उल्टा चल्टा माँगर (१३) डुल्हनियक माँगर (१४) उल्टा बैठाकुर माँगर (१५) छपिया माँगर लगायत ६० भन्दा बढी लय र सन्दर्भमामा गाइने माँगरहरू छन् । यी सबै भिन्न–भिन्नै अवस्था गाइन्छ । 

त्यसै गरी अर्को झुमरा गीत सदाबहार गीत हो । झुमरा गीत नाचसँग सम्बन्धित छ । यसको पनि विभिन्न सन्दर्भ र अवस्था हुन्छ ।

किया टुहँु लेलो हो जोगि,

ढरटिसे जनमवाँ हो ।

किया टुहुँ लेलो जोगि, ढरटिसे जनमवाँ

किया टुँहुँ ढरटि अवटारे ।।

यो सामूहिक गीत भएकोले गीत सँगै नाचिन्छ । यो नाच चाडपर्व, उत्सव, पिकनिक, साथीहरूसँग मनोरञ्जन गर्ने क्रममा नाचिन्छ । यस नाच नाच्न कुनै मौसम, चाडपर्व कुर्नु पर्दैन । जुनसुकै समयमा नाच्न सकिन्छ । तर, यसका लय भने हरेक प्रहरमा फरक–फरक हुने गर्छ । बिहान गाउने बिहानियाँ, झिस्मिसेमा गाउने भिन्सारिया, राति गाउने रत्नचुवाँ, मध्यरातमा गाउने अढरटिया, दिउँसो गाउने गीतलाई डिनचुवाँ भनेर भनिन्छ । यो नाच विभिन्न कार्यक्रममा पनि प्रदर्शन गरिएको पाइन्छ । 

थारू लोकसाहित्यमा थुप्रै गीतहरू छन् । सबै गीतहरूको बारेमा यो सानो लेख मार्फत प्रस्तुत गर्न त्यति नसकिए तापनि केही गीतहरूको बारेमा संक्षिप्त चिनाउने प्रयास गरिएको छ । पहिले–पहिले यस्ता लोकसाहित्यहरू स्थानीय स्तरमा मौखिक रूपमा विकसित भएको हो । पुराना पुस्ताले जुन लय, भाकामा गाउँथें र त्यसैलाई परिमार्जित गर्दै पछि विभिन्न भाकामा गाउन थालेको पाइन्छ । कामको थकाइबाट आराम लिन विभिन्न चाडवाडहरूमा नाच्न गाउन थालियो । यसैलाई गाएर नाच्दै रमाइलो गरी आफ्नो अभिन्न संस्कृतिका रूपमा समाजले लिन थालेको सजिलै अनुमान गर्न सकिन्छ । विगतमा थारू लोक गीतिसाहित्य लिखित नभए पनि मानिसको ओठ र गलामा प्रिय बन्न निकै सफलता पायो । 

जुन साहित्यको मेलापर्व, चाडपर्व मात्रै होइन, वनपाखा जाँदा, गाई–गोरु चराउन जाँदा अथवा अनेक काम गर्दा, भोज विवाह या कुनै पनि मनोरञ्जनमा प्रयोग हुँदै आयो तर वर्तमान अवस्थामा हाम्रा प्रचलित लोकगीतहरू घट्दै गइरहेको छ, यसका कारण धेरै छन् । विगतमा विभिन्न भाका लयमा गाइने गीतहरू एकाएक सेलाएर जानु भनेको आफ्नो जातीय पहिचान हराउनु हो र यस विषयमा गम्भीर नहुनु दु:खको विषय हो । समग्रमा थारू लोकसाहित्यमा विभिन्न लय–भाका र अवस्थामा सिर्जना भएका छन् । ती सिर्जनाहरू थारू जातिका आफ्नै मौलिकता र परम्परामा आधारित छन् । श्रुतियोग्य छन् तर, समयसँगै परिमार्जन हुन सकेको छैन । धेरै जसो गीतहरू पौराणिक कथाहरूमा आधारित छन् । ती गीतहरू गाउनु पूर्व पूजा पाठहरूको ठूलो ढामा (खर्च) गर्नु पर्ने, निश्चित अवधिभित्र मात्रै गाउन पाइने, अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न नसक्ने या पछिल्लो पुस्ताले स्वयं आफै चासो नदिने, आफ्ना पुर्खाको आर्जन प्रयोग गर्नुको सट्टा बाह्य संस्कृतिको प्रभावमा पर्नु, आजका युवा पुस्ताले पुख्र्याैली लय भाका छाडेर अन्य क्षेत्रको लोकगीत लगायत विदेशी आयातीत गीतहरूको अनुशरण गर्नु पनि आफ्नो मौलिक गीत प्रभावित हुनुको मुख्य कारण हो । 

थारू लोकगीति साहित्य निकै धनी मानिए पनि अहिले यो पिछडिएको क्षेत्रको उत्पीडित साहित्य हो भनेर सजिलै अनुमान लगाउन सकिन्छ । यहाँको पछिल्लो पुस्ताले आफ्नो लोकभाकाप्रति त्यति चासो नदिनुको अर्काे कारण संचार माध्यम पनि हो । अहिले छापामा मात्र होइन विद्युतीय संचार (रेडियो र टेलिभिजनहरूमा) विभिन्न कार्यक्रमहरू संचालन गरेपनि थारू लोकगीतको पक्षमा कार्यक्रम संचालन गरेको पाइँदैन । एफ.एम.रेडियोहरूमा थारू कार्यक्रमहरू संचालन नभएका होइनन् तर, कार्यक्रम संचालकहरूले नै यी कुराहरूमा ध्यान दिएको पाइँदैन । थारू गीतको नाममा नेपाली, हिन्दी या भोजपुरी भाषाका गीत प्रसारण हुन्छन् । थारू भाषाका गीत प्रसारण भएपनि लोक–भाका, लोक–लयमा गाइएका गीतहरू प्रसारण हुँदैनन् । प्यारोडी या आधुनिक नेपाली, हिन्दी, भोजपुरी भाकामा थारू भाषाका गीतहरू प्रसारण गरिन्छन् । 

छापा संचार माध्यमको पनि अवस्था त्यही छ, थारू भाषाका करिब एक सय पत्रपत्रिकाहरू प्रकाशित छन् तर कुनै पत्रिकाले लोकगीतलाई प्राथमिकताको क्रममा राख्दैनन् । काठमाडौंबाट प्रकाशित हुने बिहान पत्रिकाले मघौटा, अस्टिम्कीक गीत, माँगर र सजना विशेषााङ्क निकालेर सराहनीय काम गरेको छ तर त्यसपछिका निकै कम पत्रिकाले मात्रै लोकगीत अथवा लोकगीत विशेषााङ्क भनेर स्थान दिएका छन् । यही उपेक्षाका कारणले यहाँका लोक–भाकाका प्रतिभाहरू अन्य गीततिर आकर्षित हुन बाध्य छन् । फलस्वरूप थारू लोक–भाका ओझेलमा पर्न थालेको छ । पुराना भाकाहरू ओझेल मात्रै परेको छैन, ती भाकामा सिर्जना भएका गीतहरू पनि माटो मुनि दबेर जाँदैछन् । 

थारू लोकगीति साहित्यको भविष्य चुनौतीपूर्ण छ । यो चुनौतीपूर्ण घडीमा ती गीतहरूलाई समयसँग परिवर्तन गरी आफ्नो मौलिक गीतको संरक्षण गर्नु आजको बौद्धिक जगत र गीतका पारखीहरूको दायित्व हो । यसको लागि छलफल, गीत गोष्ठी, लोकगीत प्रतियोगिता लगायत विभिन्न कार्यक्रम मार्फत नयाँ पुस्तालाई यसबारे सचेत एवं संचार माध्यमबाट प्रकाशन तथा प्रसारण गर्नु पर्छ । अन्यथा भोलिका दिनमा थारू कला, साहित्य र संस्कृतिको अभावमा आफ्नै अस्तित्व समेत हराएर जान सक्ने सम्भावना देखिन्छ । आफ्नो कला, संस्कृति र साहित्यको संरक्षणको लागि सबै तहका थारूहरू गम्भीर हुनुको साथै गैरथारूहरूले पनि उत्तिकै सहयोग सदभाव राख्न जरुरी छ । 

सन्दर्भ सामग्री

दहित, अयोध्याप्रसाद, (२०५७), थारू संस्कृतिके पहिचान : बर्का नाच । बिहान । काठमाडौं, थारु युवा परिवार । बर्ष–१२, अंक–९, पृष्ठ–४५ ।

चौधरी, बालगोविन्द, (२०५८), सुर्खेल । बिहान । काठमाडौं, थारु युवा परिवार । बर्ष–१३, अंक–१०, पृष्ठ –४०–४५ ।

चौधरी, क्षितिज, (२०५९), थारु गीति लोकसाहित्य । इन्द्रेणी । दाङ, देउखुरी, इन्द्रेणी साहित्यिक परिवार । बर्ष–१, अंक–१, पृष्ठ–९ ।

कोपिला, छविलाल, (२०६७), थारु लोक गीतिसाहित्य : एक चर्चा । स्तम्भ । दाङ, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च । बर्ष–१, अंक–१, –बैशाख, पृष्ठ –४९ । 

चौधरी, नन्दकुमार, (२०६७), थारु लोकसंस्कृति आजके अवस्था । डगर । दाङ, डेउखर, सत्गौवाँ थारु समाज संघ । बर्ष–१, अंक–१, असोज पृष्ठ –३९ ।

चौधरी, शेरबहादुर, (२०६७), थारू भाषक महाकाव्य बर्किमार । बिहान । काठमाडौं, थारु युवा परिवार । बर्ष–२२, अंक–१५, पृष्ठ –६७ ।

कोपिला, छविलाल, (२०७०), थारु लोक गीतिसाहित्य । लावा डग्गर । दाङ, डेउखर, थारु भाषा तथा साहित्य संरक्षण मञ्च । बर्ष–४, पूर्णाङ्क–१४, पृष्ठ–३६ । 

थारू, श्यामबहादुर, (२०७५), डफ रे डफ, मैं टुहिं जानुँ । लावा डग्गर । दाङ, डेउखर, थारु भाषा तथा साहित्य संरक्षण मञ्च । बर्ष–९, पूर्णाङ्क–३६, पृष्ठ–२३–२८ ।

चौधरी, भगवतीप्रसाद, (२०७५), गुर्बाबक जल्मौटी । थारू चिन्हारी ओ गुर्बाबक जल्मौटी । दाङ, देउखुरी, गढवा गाउँपालकिा । पृष्ठ–३२ ।

चौधरी, गेदुलाल,  लमही नगरपालिका–३ उत्तर मजगाउँ, कुराकानी ।

चौधरी, पहुनराज, लमही नगरपालिका–३ उत्तर मजगाउँ, कुराकानी ।

चौधरी, रुपलाल, लमही नगरपालिका–३ उत्तर मजगाउँ, कुराकानी ।

चौधरी, ताराप्रसाद, लमही नगरपालिका–३ उत्तर मजगाउँ, कुराकानी ।

चौधरी, रामु, लमही नगरपालिका–३ उत्तर मजगाउँ, कुराकानी ।

चौधरी, शिउरानी, लमही नगरपालिका–३ उत्तर मजगाउँ, कुराकानी ।

चौधरी, टीकाराम, लमही नगरपालिका–४ छुट्की घुम्ना, कुराकानी ।

चौधरी, टीकाराम, लमही नगरपालिका–३, नारायणपुर, कुराकानी ।

सम्बन्धित समाचार