रुखलाई चारधाम गर्नु परेको छैन । न त ‘बुद्ध वाज बर्न इन् नेपाल’ भन्दै डुक्रिनु छ । रुखलाई हज गर्न मक्का जानु छैन । न त जिससलाई भेट्नु परेको छ, कुनै स्वर्गमा । कुनै धर्म नमानेर पनि रुखले आफ्नो धर्म निभाइरहेको छ । प्रकृति बचाइरहेको छ ।
रुख भनेको कुनै पार्टी होइन, पार्टीको सङ्केत होइन । रुखले देश बेच्दैन, रुखले भ्रष्टाचार गर्न जान्दैन । रुखले आन्दोलन गरेर कसैलाई ढुङ्गा हान्दैन । रुखले मञ्चमा उभिएर कुनै भाषण गर्दैन । पानी जहाज ल्याउनु छैन, घर-घरमा पाइपबाट ग्याँस पुर्याउनु परेको छैन । टनकपुर बेच्नु परेको छैन । रुखालाई मन्त्री हुनु परेको छैन । मान्छे नहुँदा पनि चलेको पृथ्वी, यसै चल्छ भन्ने थाह छ रुखलाई ।
खान माग्दैन, रुखलाई भात, म:म, चाउमिन, छोइला, समोसा खानु परेको छैन । समोसासँग अचार नदिएको दु:ख रुखसँग छैन । गिजा सुन्निने गरि पिज्जा खानु छैन । न त ‘एक्स्ट्रा चीज’ नै चाहिएको छ । केएफसीको चिकनको ससका लागि अतिरिक्त पैसा तिर्नुपरेको छैन । बाटोमा राखेको पानीपुरी र चटपटे स्वस्व गर्दै खाएर पानी खोज्नु परेको छैन । हैदरावादी दम बिरयानीको होम डेलिभरी मगाएर घिच्नु परेको छैन ।
कोक पिएर डकार्नु परेको छैन, ह्विस्की पिएर छाद्नु परेको छैन । रुखलाई ह्यांग हुँदैन । रुखले लाउन माग्दैन । रुखलाई वानपिस चाहिएको छैन । ग्रन्ज जिन्सको पेन्ट लगाएर हिँड्नु परेको छैन । पेटी लगाएर पाइन्ट कस्नु परेको छैन । टाई लगाएर ठालु पल्टिनु परेको छैन । रेबनको चस्मा लगाउनु परेको छैन । ‘कालो चस्मा लगाऊ है मैया विशाल बजारको’ यो गीत रुखका लागि बनेको होइन । नाङ्गै भएपनि रुखलाई लाज लाग्दैन । रुखले कट्टु लगाउँदैन । रुख मान्छे नभएकाले स्वतन्त्र छ, त्यसैले मान्छेलाई रुखप्रति धेरै रिस छ । र, मान्छेले रुख काट्छ । रुखले कसैलाई हिंसा गर्दैन । रुख अपराधी होइन । रुखलाई बाल छैन ।
रुखले सुनको गहना लगाउनु परेको छैन । हिराको औँठी पहिरिनु परेको छैन । रुखको व्रतबन्ध या गुन्यु चोली गर्नु परेको छैन । बालविवाह/बहुविवाह गर्नु परेको छैन । रुख प्रेम गर्न खप्पिस छ र त घुमिरहेको छ पृथ्वी । चलिरहेको छ बाँकी प्राणीका सास । रुखलाई अस्थायी बन्ध्याकरण गर्नु परेको छैन । बेबी शावर गर्नु परेको छैन ।
रुख यानिकी गाछी, यानिकी ट्री, यानिकी वृक्ष, यानिकी प्राण भएको जीवित प्राणी । खोइ कुन मन्त्रीले भने झैँ ‘कार्बन डाइअक्साइड’ होइन अक्सिजन दिने जन्तु । रुखलाई एलन मस्क हुनु परेको छैन । आफ्नै छाला ताछेर बनाएको पैसा उसलाई किन चाहियो ? रुखलाई न्युटन बन्नु परेको छैन । ऊ स्याउ खसाएर न्युटन जन्माउँछ । असन्तोषी मान्छे जस्तो बम-बारुद खसाएर संसार जित्नु परेको छैन । रुखलाई गाडी चढ्नु परेको छैन । हवाईजहाज उडाउनु परेको छैन । न त चन्द्रको माटो ल्याएर जाँच्नु छ । रुख आफ्नै संसारमा खुसी छ । मस्त छ । मौलाना छ । चिल छ ।
रुखलाई चारधाम गर्नु परेको छैन । न त ‘बुद्ध वाज बर्न इन् नेपाल’ भन्दै डुक्रिनु छ । रुखलाई हज गर्न मक्का जानु छैन । न त जिससलाई भेट्नु परेको छ, कुनै स्वर्गमा । कुनै धर्म नमानेर पनि रुखले आफ्नो धर्म निभाइरहेको छ । प्रकृति बचाइरहेको छ । रुखको विचार घिनलाग्दो छैन । रुखले कसैको जात छुट्याएको छैन । रुखले जसलाई पनि छहारी दिन्छ, फल दिन्छ, फुल दिन्छ, काठ/स्याउला दिन्छ । रुखले बिना कुनै सर्त आफ्नो प्राण र शरीर दिन्छ ।
रुखले फेसबुकमा देशभक्ति कुरा गर्नु परेको छैन । न त प्रोफाइल पिक्चर परिवर्तन गर्छ । इन्स्टाग्राममा एक्टिभ हुँदैन । कहिलेकाहीँ नाच्छ तर टिकटक बनाउँदैन । कसैको ट्विटलाई रिट्वीट गर्दैन । रुखलाई प्रविधिको कुरा थाह छैन तर ‘परको विधि’ थाह छ । कसरी पृथ्वी जोगाउने जानेको छ । युट्युबबाट साउथ इन्डियन चलचित्र हेर्नु परेको छैन । न त अमेजन र नेटफ्लिक्सको पासवर्ड चाहिएको छ । रुख चराहरूको अभिनयमा नै रमाउँछ ।
रुखले आफ्ना आफन्तलाई विकासको नाममा मारेको भन्दै सिंह दरबार घेर्दैन । चक्रपथमा हराएका आफन्तको खोजी गर्दैन । फास्ट ट्र्याक बनाउन आफ्नो ज्यान दिएकाहरूलाई ‘सहीद घोषित गर्’ भन्नु परेको छैन । रुख बाटोका लागि मरिदिन्छ । रङ्गशालाका लागि, होटेलका लागि, होटेलमा मच्चिने खाट/पलङका लगी, कलात्मक ढोकाको नाममा, मायालुलाई हेर्ने झ्यालको काममा आफ्नो ज्यान दिइदिन्छ । बदलामा माग्दैन आफ्नो मृतक परिवारको क्षतिपूर्ति स्वरूप कुनै रकम । रुख १४ वर्ष जेलमा बसेको छैन । रुखको जिब्रोमा कसैले करेन्ट लगाएको छैन । रुखले मदन भण्डारीको गाडी दासढुंगामा ठेलेको होइन । श्रीपेच लगाएर अढाई सय वर्ष शासन गरेको छैन । जङ्गलमा बसे पनि बन्दुक बोकेर १७ हजार मारेको छैन । रुख बिबिसीको जागिर छोडेर नेपाल छिरेको होइन । रुख आफूले शान्ति दिन्छ बरु तर, रुखलाई क्रान्ति चाहिएको छैन ।
रुखले धाँधली हुने जाने पनि, नजाने पनि प्रतियोगितामा कविता पठाउँदैन । गजलको लागि गुट बनाएर आँपले लिचीलाई , सिसौले साललाई बहिस्कार गर्दैन । रुख अग्रिम बुकिङ गर्नुपर्ने उपन्यास लेख्दैन । बिचरा ! आफ्नै मासुबाट बन्ने कागजमा किन एउटा मात्र शब्द भरेर आफ्नै बेइज्जत गर्नु पर्दो हो ।
रुखले माटोसँग मिलेर बस्न जानेको छ, परिवार थाह छैन । रुखलाई जङ्गलमा हुर्किन आउँछ, समाज जान्दैन । मान्छेहरू आफ्नै छिमेकीसँग रिसाए पनि रुख पहिरोसँग रिसाउँदैन । न त रिसाउँछ डढेलोसँग । रुख मानसिक रोगी होइन ।
रुखलाई पायल्स हुँदैन, रुखको किड्नीमा पत्थरी हुँदैन । रुखालाई गनोरिया र एड्स लाग्दैन । रुख चुरोट/गुट्खा खाएर फोक्सो बिगार्दैन । रुखको बोसो लाग्दैन । मर्निंग वाकमा हिन्नु छैन । न त गर्नु छ, कुनै बाबाको योग या जानु छ जिमखाना । रुखलाई जुम्बामा नाच्नु छैन । रुख त्यसै सुगठित छ ।
फेयर एण्ड लब्ली लगाउनु परेको छैन । दाह्री काट्नु परेको छैन । काखी मुनिको भुत्ला फाल्नु परेको छैन । आईलाइनर, लिपस्टिक या पाउडर लगाउनु परेको छैन । कपाल स्ट्रेट या कर्ली गर्नु परेको छैन । रुख स्वयम्को अस्तित्वमा सुन्दर छ ।
केही पनि नचाहिनु भनेको सब थोक चाहिनु बुझ्छन् क्यारे मान्छे, त्यसैले धमाधम काट्छन् रुख ।
रुखलाई हगेर टिस्यु पेपरले पुछ्नु परेको छैन !