शनिबार , साउन १६, २०८३

कस्तो छ प्रतिवेदनका आधारमा टुकुचा खोलाको अवस्था ?

image

काठमाण्डौँ । उपत्यकामा बग्ने अधिकांश नदीनालाको उद्गम उत्तर शिवपुरी जलाधार क्षेत्र रहेको छ । यस्तै काठमाण्डू महानगरको मध्य भाग हुँदै बग्ने टुकुचाको नामबाट बढी चिनिने ईच्छुमती खोला सहर पसेपछि कतै देखिन्छ भने कतै बिलाउँछ। ठाउँठाउँमा यस खोलालाई ढल छोपेको झैँ छोपेर त्यसमाथि संरचना समेत बनेका छन्।

नारायणहिटी दरबार परिसरभित्रदेखि दबिएको खोला एकैचोटि कमलादीनेर काठमाण्डू प्लाजापछाडि देखा पर्छ। त्यसपछि पनि कतै देखा पर्ने त कतै छोपिएको अवस्थामै बहेर टुकुचा थापाथलीस्थित कालमोचन घाटमा पुगेर बाग्मतीमा मिसिन्छ। दबिएका ठाउँमा टुकुचालाई मुनि पारेरै ठूल्ठूला भवन बनेका छन् भने देखा परेका ठाउँमा समेत छेउछाउमा व्यापक अतिक्रमण गरिएको छ।

सरकारी कलेजहरूदेखि लिएर विदेशी नियोग अनि निजी व्यापारिक कम्प्लेक्सले ठाउँठाउँमा यस खोलाको भूभाग अतिक्रमण गरेका छन्, दशकौँअघि आफूले देखेको टुकुचा खोलाबारे सम्झँदै पाका एक पत्रकार भन्छन्, “त्योबेला पुतलीसडकमा टुकुचाको दायाँबायाँ खेत भएको अनि मानिसहरूले त्यहाँको पानी समेत पिउने गर्थे । टुकुचा पश्चिममा तरकारी खेती हुन्थ्यो भने टुकुचा पूर्व धान खेती हुन्थ्यो। किसानहरूले खाजा खानेबेला त्यहीँकै पानी खान्थे । तर क्रमश: नारायणहिटी दरबार देखिनै अतिक्रमण हुन थाल्यो । हुनेखाने वर्गले टुकुचालाई छोपेर त्यसमाथि नै घर बनाउन थाले,” उनी भन्छन् ।

‘इच्छुमती’ समेत भनिने टुकुचा खोलालाई केही समय अघि दस भागमा बाँडेर अध्ययन गरिएको थियो। ती दस भागमध्ये कुन ठाउँमा खोलाको अवस्था कस्तो छ भन्नेबारे स्याटलाइट, ड्रोन र स्थलगत तस्वीरसहित प्रतिवेदनमा वर्णन गरिएको छ ।

अब हामी त्यही प्रतिवेदनका आधारमा टुकुचा खोलाको अवस्था कस्तो छ भन्ने हेरौं ।

प्रतिवेदनअनुसार खोलाको पहिलो खण्ड भाटभटेनीस्थित टुँडालदेवी मन्दिरबाट चिनियाँ दूतावाससम्म जान्छ। यसको दुरी ७ सय ८० मिटर छ। आवासीय क्षेत्रमा पर्ने यो खण्डमा खोला जुन दिशातर्फ बग्छ, त्यसको दायाँ ६ मिटर फराकिलो बाटो छ भने बायाँतर्फ घरहरू छन्। यहाँ घर र बाटोले दुवैतिरबाट खोला च्यापेर साँघुरो पारेको छ। खोला कज्याउन माथिबाट कंक्रिटको स्ल्याब हालिएको छ र त्यो स्ल्याबमा पैदलमार्ग बनाइएको छ।

यति मात्र होइन, खोलालाई बाँध्न दायाँबायाँ पर्खाल लगाइएको छ। खोलाको दुवैतर्फ चार मिटर क्षेत्र खाली छाड्नुपर्ने नियम यहाँ कार्यान्वयन भएको छैन। बालुवाटारमा टुकुचा मिचिएको घटना धेरै पुरानो होइन। सहरी योजनाकार तथा भूमिगत जलस्रोत विशेषज्ञ पद्मसुन्दर जोशीले २०५६ सालमा चिनियाँ दूतावाससँगैको टुकुचा छोपेर सडक निकालिएको बताएका छन्।

टुकुचाको दोस्रो खण्ड चिनियाँ दूतावासदेखि गैरीधारा (नारायणहिति दरबार संग्रहालयको उत्तर) सम्म जान्छ। यसको लम्बाइ एक हजार मिटर छ।

यो ठाउँ पनि आवासीय क्षेत्रमा पर्छ। यहाँ खोला बग्ने दिशाको देब्रेतर्फ ६ मिटर फराकिलो सडक रहेको प्रतिवेदनमा छ। दायाँतर्फको भाग भने धेरै अतिक्रमणमा परेको छ। कतिपय ठाउँमा स्ल्याब राखेर खोला छोपिएको छ। केही ठाउँमा त खोलालाई दुवै किनारमा पर्खाल लगाएर नालीमा परिणत गरिएको छ। यहाँ पनि खोला किनारको जग्गा ४ मिटर खाली राख्नुपर्ने नियम पालना भएको छैन।

यही खण्डको बीचमा नीलसरस्वती मन्दिर पर्छ। उक्त मन्दिरमा धार्मिक पूजाआजाका लागि टुकुचाको पानी प्रयोग गर्नुपर्छ। यो सांस्कृतिक चलन अहिलेसम्म जारी छ।

टुकुचा खोलाको ४ सय ८० मिटर लामो तेस्रो खण्ड नारायणहिति दरबार संग्रहालय परिसर भित्रैबाट बग्छ। प्रतिवदेनअनुसार यो खण्ड नारायणहिति संग्रहालयको पूर्वी भाग हुँदै गणतन्त्र स्मारक पार्कसम्म पुग्छ। निषेधित क्षेत्रमा पर्ने हुँदा यहाँको ड्रोन तस्बिर खिच्न नसकेको प्रतिवेदनमा उल्लेख छ। ‘स्याटलाइट तस्बिरहरू हेर्दा टुकुचा खोलाको यो हिस्सा सुरक्षित नै छ भन्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यहाँ खोला बग्ने दिशाको देब्रेतिर करिब २५ हजार २ सय ७० वर्गमिटर क्षेत्र खुला देखिन्छ।’

यो खुला क्षेत्रलाई खोलाको करिडोरका अतिरिक्त पार्कका रूपमा प्रयोग गर्न सकिने प्रतिवेदनले औंल्याएको छ। टुकुचाको चौथो खण्ड नारायणहिति संग्रहालयदेखि तीनधारा मार्गसम्म जान्छ। यसको लम्बाइ ४ सय ४० मिटर छ। बिहीबार महानगरले उत्खनन् गरेको जयनेपाल हलको प्रांगण यही खण्डमा पर्छ।

यो खण्डको करिब सम्पूर्ण हिस्सा जमिनमुनि पुरिएको र त्यसमाथि थुप्रै घर र सडक बनेको प्रतिवेदनमा छ। महानगरको उत्खननबाट जमिनमुनि टुकुचाको अवशेष भेटिनुले प्रतिवेदनको कुरा पुष्टि हुन्छ। खोलाको पाँचौं खण्ड तीनधारा मार्गदेखि बागबजारको सडकसम्म जान्छ। यो ४ सय ६५ मिटर लामो छ।

यो खण्डका धेरैजसो ठाउँमा खोला बाँकी नै छ। यहाँ अहिलेसम्म पानी बगिरहेकै देखिन्छ। बागबजारको घना बस्तीबीच पर्ने भए पनि यो खण्डमा खोला छेउछाउ केही खुला क्षेत्र पनि बाँकी रहेको प्रतिवेदनमा छ। कतिपय ठाउँमा भने ठूला घरहरूले खोलाको साँध मिचेका छन्। ती घरले खोलाछेउ चार मिटर क्षेत्र छाड्नुपर्ने नियम पालना नगरेको प्रतिवेदनले औंल्याएको छ।

छैठौं खण्ड बागबजार सडकदेखि अद्वैत मार्गसम्म जान्छ। जम्मा २ सय ८० मिटर लामो यो खण्डमा पनि धेरैजसो ठाउँमा खोला बाँकी छ। पानी बगिरहेकै छ। तर किनारमा चार मिटर छाड्नुपर्ने नियम उल्लंघन गरी साँध मिचेर घरहरू बनेकाले यहाँ पानी भएको ठाउँसम्म पुग्न सकिँदैन। खोला करिब करिब फोहोर र ढल बग्ने नालीमा परिणत भएको छ। शंकरदेव क्याम्पस पनि टुकुचा खोलाको यही खण्डमा पर्छ।

सातौं खण्ड इच्छुमती तरकारी बजार क्षेत्र हुँदै बग्छ। एक सय ६० मिटर लम्बाइको यो खण्डमा खोला बग्ने दिशातर्फ दायाँतिर तरकारी बजार छ भने बायाँतिर पैदलमार्ग बनाइएको छ। यहाँ तरकारी बजारले खोलाको चार मिटर साँध मिचेको प्रतिवेदनमा जनाइएको छ। इच्छुमती तरकारी बजारबाट अगाडि बढेपछि भृकुटीमण्डप क्षेत्रसम्म टुकुचाको आठौं खण्ड पर्छ। तीन सय २० मिटरको यो खण्डमा खोला बग्ने दिशातर्फ दाहिनेतिर भृकुटीमण्डपको बजार छ भने देब्रेतिर घरहरू बनेका छन्।

टुकुचाको नवौं खण्ड भद्रकाली क्षेत्रको पूर्वतर्फबाट बग्छ। यसको लम्बाइ ३ सय ५० मिटर छ। यो खण्ड भद्रकालीस्थित सेनाको मुख्यालय क्षेत्रबाट बग्छ। निषेधित क्षेत्रमा पर्ने भएकाले यहाँ पनि खोलाको दुवैतर्फ प्रशस्त खाली जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ। यो खुला क्षेत्रलाई पार्क र साइकल लेनका रूपमा विकास गरेर सर्वसाधारण निम्ति खुला गर्न सकिने प्रतिवेदनले सुझाएको छ।

भद्रकालीदेखि बागमती नदीसम्मको हिस्सा टुकुचा खोलाको दसौं तथा अन्तिम खण्ड हो। यो ६ सय ६० मिटर लामो छ। यो हिस्सामध्ये थापाथलीदेखि त्रिपुरेश्वर सडकसम्म वरिपरि घना बस्ती छ भने थापाथली क्याम्पसको भागमा खुला ठाउँ बाँकी छ। त्योभन्दा अगाडि त्रिपुरेश्वरको कालमोचन महादेव मन्दिरमा पुगेपछि टुकुचा खोला बागमती नदीमा मिसिन्छ। यही ठाउँमा टुकुचाको पानी प्रशोधन निम्ति प्लान्ट राख्न सकिने प्रतिवेदनमा छ। यसबाट टुकुचाले बोकेर ल्याउने फोहोर प्रशोधन गरेर सफा पानी मात्र बागमतीमा पठाउन सकिन्छ।

टुकुचा खोला अतिक्रमणमुक्त गर्ने योजनामा लागेको काठमाडौं महानगरका लागि यो प्रतिवेदन उपयोगी हुनसक्छ। दुई वर्ष पुरानो प्रतिवेदनमा उल्लेख भएका धेरै विवरण अहिले पनि मिल्छन्। केही क्षेत्रमा थप अतिक्रमण भएको हुनसक्छ जसबारे थप अध्ययन गर्न सकिन्छ। प्रतिवेदनले टुकुचाको प्रत्येक खण्डको अवस्था मात्र औंल्याएको छैन, कुन ठाउँ कसरी अतिक्रमणमुक्त गर्ने र कसरी नयाँ ढंगले पुनर्निर्माण गर्ने भनेर डिजाइन पनि प्रस्ताव गरेको छ ।

सम्बन्धित समाचार