मंगलबार , साउन ८, २०८१

वैरी धपाउने मान्यता बाेकेकाे ‘ट्होटें पर्व’

लामो समय देखि गुरुङ समुदाय भनेर चिनिने जातीको नाम वास्तवमा गुरुङ नै हो वा तमु हो भन्ने विषयमा भने कुनै निर्क्योल भएको छैन ।

image

तमुहरूले वर्षको दुई पटक साउन तथा चैत महीनाको अन्तिम मंगलवार ट्होटें पर्व मनाउने गर्दछ । ट्हो अर्थात् बस्ती वा राज्य हो भने टें को अर्थ वैरी धपाउने हो । परापूर्वकालमा घले राजाहरूका पालामा आफ्नो राज्यमा वैरीहरूको आक्रमण नहोस् भनेर वैरी धपाउनका लागि ट्होटें पर्व मनाउने गरिन्थ्यो । पछि गाउँघरमा वनमा पाइने घाँसपात बेरेर विभिन्न पहिरनमा ढ्याङ्ग्रो ठटाउँदै भूत, प्रेत र पिशाचलाई तर्साउँदै धपाउने कार्य गरिन्थ्यो ।

खासमा यसको सांस्कृतिक महत्व भन्दा बढी सामाजिक महत्व थियो । यसले अन्य समाजका मानिसलाई आफ्नो समाज भित्र प्रवेशमा रोक लगाउथ्यो । आफ्नो राज्यमा अन्यको प्रवेश बर्जित गर्दथ्यो । जसले गर्दा आफ्नो राज्य सुरक्षित र संरक्षित रहन्थ्यो । मित्रका रूपमा वा शत्रुका रूपमा होस् बाहिरियाको प्रवेश भनेको स्विकार्न हुँदैन भन्ने मान्यतामा त्यो बेलाका घले राजाहरूले आफ्नो राज्य सुरक्षित राखेका थिए ।

हुन त गुरुङहरूको इतिहास कोट्याउने काम धेरैले गरेका छैनन् । फ्रान्सेली समाजशास्त्री बर्नाड पिगनेडले अलि धेरै अध्ययन गरेका छन् । पिगनेडका अनुसार गुरुङहरू इसा पूर्व १००० तिर पूर्वी तिब्बतको चाम्डोबाट पश्चिमको लोखा क्षेत्रको यारलुङ घाँटीमा पुग्दा यो समूहका पूर्वजलाई टुबो भनेर चिनिन्थ्यो । टुबो त्यहि वंश हो जसका राजा श्रङचङ गम्पोले नेपालकी राजकुमारी भृकुटीसँग विवाह गरेका थिए । साथै उनकै घोडचढी सैनिक जो नेपाल प्रवेश गरेपछि यहि बसोबास गरे । जसलाई पछि हामीले तामाङ भनेर चिन्दछौँ ।

यस्तै डा. टेकबहादुर गुरुङले गुरुङहरूको आफ्नो शोधको समय जेनेटिक एनालाइसिस गरेका थिए । वहाँको अध्ययनको निचोडका अनुसार नेपालमा भएका मंगोलियन भनेर चिनिने गुरुङहरूको इसापूर्व ८००० वर्ष देखिको स्थानान्तरको इतिहास अनुसार ६००० इसा पूर्वमा कोकोनर ताल तिर थिए । शायद त्यसभन्दा अगाडि मंगोलियामा थिए होला ।

क्रमश: स्थानान्तरणको क्रममा करीब ४००० इसा पूर्वमा यूनान क्षेत्रमा पुगे । २००० इसा पूर्वमा पूर्वबाट पश्चिमतिर लाग्दै तिब्बती भूभागमा पुगे । करीब इसा पूर्व १००० तिर मुस्ताङमा आइपुगेका थिए । अन्तमा इसा पूर्व ५०० तिर क्होला सोथारमा पुगेका थिए । यसरी अहिलेका गुरुङ समुदायको चिरपरिचित क्होला सोथारमा करीब २५०० वर्ष अगाडि आइपुगेका थिए ।

आखिर लामो समय देखि गुरुङ समुदाय भनेर चिनिने जातीको नाम वास्तवमा गुरुङ नै हो वा तमु हो भन्ने विषयमा भने कुनै निर्क्योल भएको छैन । गुरुङ भाषामा “ताइ” माथि लेक तथा “मू” बसोबास गर्ने अर्थात् माथिल्लो लेकमा बसोबास गर्ने भएको हुँदा ताइमू भनिएको हो । यही ताइमूबाट नै अप्रभंश भई तमु भएको पनि भनिन्छ । अर्को तर्फ सातौँ शताव्दीमा गण्डकी सिंचित क्षेत्रदेखि नेपालको हालको पूर्वी भागसम्म रोङ जातीको प्रभुत्व थियो ।

पूर्वमा बस्नेहरूलाई लुरोङ भनिन्थ्यो जो पछि राई लिम्बु भए । पश्चिममा बस्नेलाई ग्यारोङ भनिन्थ्यो । यिनै ग्यारोङ नै अप्रभंश भएर गुरुङ भएको भन्ने पनि गरिन्छ । आखिर गुरुङ भनेर चिनिए पनि तमु भनेर चिनिए पनि आफ्नो संस्कृति र संस्कारलाई जोगाउँदै अगाडि बढ्नु तथा जातीय एकता कायम गर्नु नै महत्व रहन्छ । यही उद्देश्य बोकेर गुरुङहरू सिङ्गो एक समाजको गठनका गर्न लागि परे ।

२०४२ जेठ ५ मा तमुधिं नेपालको गठन भएको थियो । तमुधिं नेपालको गठनसँगै तमुहरूले एक ढिक्का भएर आफ्ना सामाजिक तथा सांस्कृतिक कार्यहरू अगाडि बढाउने प्रण गर्यो । पोखरामा त्यो बेला तामागी भदौरेबाट एक पूर्व लाहुरे बसोबास गर्न आइपुगेका थिए । नेपालमा महाभूकम्पले बेस्सरी हल्लाएको समयमा जन्मनु भएका तथा बेलायती सेनामा क्याप्टेनसम्म बनेका वहाँको नाम क्याप्टेन मीनबहादुर गुरुङ थियो ।

लाहुरे जीवन सिध्याएर पेन्सनमा गाउँ फर्केपछि गाउँ बस्न मन नमानेपछि पोखराको बगरमा बसेर सेती नदी किनारमा नै १५ पैसाको टिकट काट्दै आफ्नो संस्कृतिको झल्को नाचबाट देखाउन थाल्नुभएको थियो । यो कुरा २०२८ साल तिरको थियो । अब यसरी भएन भनेर २०३२ सालमा डाँफे कला मन्दिर नाम राखेरै नाचगान देखाउन थाले । वहाँको उद्धेश्य नै आफ्नो संस्कार र संस्कृती जोगाउनु थियो । डाँफे कला मन्दिर खोलेपछि वहाँको नाम नै डाँफे बाजे रहन गयो । यिनै डाँफे बाजेलाई तमुधिं नेपालले सांस्कृतिक संयोजकक जिम्मा दियो ।

आफ्नो संस्कार र संस्कृतिका काम गर्दै आएका वहाँलाई तमुधिं नेपालले सांस्कृतिक संयोजककै भूमिका दिए पछि गुरुङ समुदायले परापूर्वकाल देखि मनाउँदै आएको ट्होटें मनाउन जोड गरे । अन्तत २०५२ सालबाट ट्होटे पर्व मनाउन थालियो । प्रत्येक वर्ष साउनको तथा चैतको अन्तिम मंगलवार मनाउने ट्होटें पर्वबारे धेरै गुरुङ समुदायमा जानकारी नै थिएन ।

जसले गर्दा खासै उपस्थिती हुने गर्दैनथ्यो । पछि बिस्तारै प्रत्येक गुरुङ परिवारबाट एक सदस्य अनिवार्य उपस्थिती हुनै पर्ने तमुधिं नेपालले घोषणा गरेपछि भने ट्होटेंमा पनि राम्रै उपस्थिती हुन थालेको छ । जातीय रूपले पोखरामा बलियो पकड राखेको गुरुङ समुदायको ट्होटें पर्वमा सिङ्गो पोखरा नै उल्हासमय देखिने गर्दछ ।

सम्बन्धित समाचार