यात्राको आफ्नै रुवाइ छ । धुवाई छ, पखल्याई छ । तर, म यात्रातिर जान्न । अबदेखि बसपार्कको खाजा खान्नँ ।
Photo by: Himal Darpan
कतै पुग्नु पर्ने थियो । पुग्नभन्दा पनि हिँड्नु पर्ने थियो । या, भनौँ यात्रा गर्नुपर्ने थियो । या, सवारीसाधनमा बसेर कहीँ जानु थियो । जसको लागि म पुगेँ( बसपार्क । त्यहाँ पुग्ने बित्तिकै मलाई त्यो ठाउँको ‘न्वारन’ गरिदिन मनलाग्यो । बाहुनको छोरो भएर होइन ! त्यहाँको हरिबिजोग, ‘रामबिजोग’, ‘अल्लाहबिजोग’, ‘जिससबिजोग’ या ‘बुद्धबिजोग’ देखेर मेरो मनमा एक्कासि पण्डित्याइँ गर्ने भूत सवार भयो । सबै उभिरहेको ठाउँलाई आखिर के कति कारणले ‘बसपार्क’ भनियो ? यसलाई त ‘उभिपार्क’ भन्नुपर्छ भन्ने मलाई लाग्यो । र, गोबरमा खुट्टा नचोबी, सूर्य नदेखाई मैले त्यसको नयाँ नाम राखिदिएँ- ‘उभिपार्क!’
कसैलाई पर्खिनु थियो । मायालुलाई भने होइन । मायालुलाई पर्खिनु पर्ने भएको भए म त्यतिबेला या यतिबेला कविता लेखिरहेको हुनसक्थे, हास्यव्यङ्ग्य होइन । त्यो कुरूप ठाउँ पनि मलाई बेबिलोनको बगैँचाझैँ लाग्न सक्थ्यो । तर, म प्रेमी थिइन्, होइन । थिए हुँला कुनै बेला, अहिले छैन ।
म सरासर गोडाफाट गर्दै फटाफट अघि बढेँ, गाडी हिँड्न समय रहेछ । किनभने, म ठिक समयमा पुगेको थिएँ । ठिक समयमा एम्बुलेन्स पनि नहिँड्ने देशमा गाडी हिँड्ला भनेर अपेक्षा गर्नु नै मेरो दिमागको ‘छ्या’ हो । परैबाट ठुलो बोर्ड देखेँ- ‘कोकाकोला खाजा घर’ । कोकाकोलाको खाजा कसरी भन्छ भनेर बुझ्न म अघि बढेको भने होइन । म गाडी हिँड्न लाग्ने समय उनीहरूलाई दान दिन चाहन्थे ।
नजिक पुग्नै लाग्दा ट्वाइलेट, बुझ्ने भाषामा भन्दा चर्पीको ह्वास्स गन्ध आयो । यो कस्तो खाना हो ? म तीन होइन, डेढ, दुई सय छक्क परेँ । ए १ त्यो त खाना खाने ठाउँ रहेछ ! खाजा निल्ने ठाउँ अलिक पर रहेको बुझियो । खाजापट्टिबाट भने त्यस्तो खास सुगन्ध या ‘गूगन्ध’ भने आएन । अलिक अघि बढेपछि छेउमा एउटा मानिस भट्टे म:म: को चुलोसँगै भ्वार्र गरिरहेको थियो । उसले निधार चम्काएर मलाई केही सोध्यो । मैले साङ्केतिक भाषा नजान्ने हुनाले केही भनिनँ, मुस्कुराएँ । काउन्टरमा एउटा मानिस मोबाइलमा निदाइरहेको थियो, सायद म आएको थाह पनि पाएन । बस्ने ठाउँ निकै सफा, मार्बल ओछ्याएको भुईँ, चिटिक्क परेका टेबल कुर्सी । वाह ! कस्तो राम्रो ठाउँ भन्ने भ्रमले मलाई मोहनी लगायो ।
केही त खानु पर्यो भनेर वरिपरि हेरेँ । डढेका समोसाहरूले सोकेसबाट मलाई गिज्याए । मानौँ, त्यो उनीहरूको महिनौँको घर हो, बासी भन्न खोजेको भने होइन, ताजा नभनेको मात्र हो । एउटा मानिस बेला-बेला तिनै समोसालाई तातो तेलमा डुबाउँदै निकाल्दै गरिरहेको थियो । मानौँ त्यो नै उसको जागिर हो । या भनौँ, ऊ नर्कमा जागिर खाएपछि तातो तेलमा समोसा कसरी डुबाउने भन्ने अभ्यास गरिरहेको थियो ।
अर्को एउटा करिब सत्र वर्षदेखि नमाझेको एउटा स्टिलको कपले चिया चलाइरहेको थियो । चियाले पनि सायद नाक थुनेर उसलाई झेलिरहेका थियो । ‘ओइ त नुहाउँदैनस्?’ भनेर सोध्न मन थियो तर, आँखा बाहिर निस्केला जसरी अर्को एक स्टाफले हेरिरहेकाले म अलिक डराएँ । उसिनेको ‘चाउमिन तेल’ लगाएर सपक्क परेर बसेको थियो । पाउरोटीजन्य पदार्थहरू बुढेसकालमा थिए, सायद चाउरिएका छाला देख्न सकिन्थ्यो- सोकेसको सिसाबाट । रामायणमा नखुलाइएको कुम्भकर्णको एक आफन्त ‘कफिम्भकर्ण’ उर्फ कफी मेसिन प्रत्येक ६/६ महिनामा उठ्छ जस्तो देखिन्थ्यो ।
अलिकति केही त खानुपर्यो भनेको कोही सोध्न आउँदैन । ए राम ! केही स्टाफहरू अलिक पछाडि बसेर मोबाइलमा केही हेरेर खित्काइरहेका थिए । सायद आफ्नै खाजा घरको अवस्था हेर्दै थिए । केही झिँगाहरूले मलाई के लिनुहुन्छ भनेर सोधे । ‘भाग ! तिमीहरूलाई भन्दिनँ’ भनेर मैले उनीहरूलाई वेटरको काम गर्न दिइनँ । केही आँट बटुलेर मैले केही खाने निर्णय लिएँ । पत्याउनु हुन्नहोला, धरोधर्म हो क्या, माँ कसम ! मैले समोसासँग डुबाइ-डुबाइ खेलिरहेको स्टाफलाई भाइ ‘चाउमिन ल्याइदेऊ न’ भनेँ । उसले काउन्टरबाट ‘पुर्जा ल्याउनुहोस्’ भन्यो । मैले मानेँ ।
काउन्टरमा निदाइरहेको स्टाफलाई के-के पाइन्छ भनेर सोधेपछि म छाँगाबाट मात्र होइन राँगाबाट पनि खसे । उसले सरासर भन्यो, ‘दाइ पखाला १०० रुपैयाँ प्लेट, पेट दुखाई अस्सी, पेट दुखाइसँग उल्टी पनि लिने भए ३० रुपैयाँ थप्नु पर्छ । वाकवाक लाग्ने १२०, फुड पोइजनिङ अलिक सस्तो छ । सिधै अस्पताल भर्नाको १५०, मरणासन्नको एक फन्को यात्रालाई ५० मात्र ।” होइन के भन्छ यो? म आत्तिएँ । कानेगुजीले कान भरिएछ कि भनेर कान कोट्याएँ । आफूलाई चिमटेँ । उसले त खाजाका परिकारको नाम पो फलाकिरहेको रहेछ ।
‘भाइ हाफ चाउमिन गर्देऊ न’ भनेको ‘हाफ हुँदैन’ भन्छ गाँठे । तर, म फुल खानै सक्दिनँ भनेको, उसले ‘खाए खाँ नखाए घिच’ को भावले ‘हाफ त मिल्दैन’ भन्यो । ए, मैले त राणाशासन अन्त्य भयो भन्ने सुनेको थिएँ, होइन रहेछ । उसले पुर्जा दियो अनि हरियो १०० को नोट माग्यो । ‘लौ ! जबरजस्ती खानु छ, त्यसमाथि पनि सय रुपैयाँ, कस्तो महँगो !’ मैले सुनाएँ । उसले सुन्यो तर, कपटी मुस्कान मुस्कुरायो मात्र । त्यसपछि जबरजस्ती भिराएको आधा लिटरे चिसो पनि लिएर कुर्सीमा मैले आसन राखेँ ।
चाउमिनको पुर्जा एउटा वेटरले लिएर भान्सेलाई दियो । मेरो दिमाग खराब मात्र भएन, आँखा बाहिर मात्र निस्किएन, साक्षात् यमराजलाई मैले लुगा नलगाएका नाङ्गा आँखाले देख्न पाएँ । ऊ त्यो चाउमिन खाएपछि ‘तँ यहीँ त आउने हो’ भन्ने भावले मुस्कुरायो । तर, मैले हिम्मत हारिनँ ।
भान्सेले पहिल्यै पाकिसकेको चाउमिन निकालेर भुटे जस्तो गर्न थाल्यो । ‘ए भाइ यो कहिलेको चाउमिन ?’ म जङ्गिएँ । भर्खर बनाएको भनेर उसले ढाँट्यो, म ढाँटिएँ । कालो अनुहार लगाउँदै चाउमिन प्लेटमा बस्यो । वेटरले नाक कोट्याएर एउटा लुडो बनाएर फुत्त फ्याँक्यो । त्यसमा ‘६ आयो कि ९’ मैले देख्न सकिनँ । ऊ सँगसँगै मेरा आँखा हिँडे । उसले त्यही हातले निकै सफासँग चाउमिन खानलाई चाहिने काँटा पुछ्यो र ग्वाम्म चाउमिनमा गाड्यो । नुन नपुगेको भए अब चाउमिनमा नुन पुग्ने भयो मैले सोचेँ । उसले चाउमिन ‘पिण्ड सेलाए जसरी’ ढ्याक्क मेरो टेबलमा राख्यो र फनक्क फन्किएर हिँड्यो । त्यहाँ खाने मान्छे कोही नभएकाले ऊ निकै व्यस्त थियो सायद । फुर्सदमा मान्छे धेरै व्यस्त हुन्छ नि ! मैले भगवान्को नाम जप्न थालेँ, मलाई चाउमिनले खान सुरु गर्यो । एक गाँसमै पेटमा बसेका किराहरू खुसी भएर नाच्न थाले । गुडगुड,,. गुडगुड.., गुडगुड.., गुडगुड.. । ‘मलाई माफ गरिदेऊ’ भन्दै मैले चाउमिनसँग बारम्बार बिन्ती गरेपछि उसले मलाई गाली गर्दै छोडिदियो । म यति खुसी भएँ कि त्यहाँबाट भागेर कतिबेला बसमा बसेँ थाह पाइनँ ।
यात्राको आफ्नै रुवाइ छ । धुवाई छ, पखल्याई छ । तर, म यात्रातिर जान्न । अबदेखि बसपार्कको खाजा खान्नँ । गाडी कतै खाना खाने ठाउँमा रोक्यो । त्यहाँको स्टाफलाई बसपार्कमा खाजा खाएको थाह थियो सायद, उसले सिँधै भन्यो, ‘दिशा-पिसाब गर्ने ठाउँ पछाडि छ, फटाफट गरौँ ।’
काम फत्ते भएपछि मैले फेरी मृत्युलाई अङ्गाल्ने निर्णय लिएँ । मैले त्यहाँ पनि केही खाने विचार गरेँ । दालमा परेको झिँगा फुत्त फ्याँक्दै एउटाले सोध्यो, ‘दाइ के ल्याऊँ?’ सोडा हालेको भातसँग त्यही झिँगे दाल, प्राय कपाल पर्ने साग र अमिलो भएको तरकारी खाऊँ कि ? रोग लागेर मरेको कुखुराको मासु र चिउरा खाऊँ ? म अलमलमा परेँ । पृथ्वीनारायण शाहको पालादेखि नबिकेको नेवारी खाजा खाऊँ कि ? पानी जस्तो तन्द्रङ्ग परेको तरकारीसँग पिसाब फेरेर हात नधोई आएको स्टाफले बनाएको रोटी खाऊँ ? अन्यौलता बढ्दै गयो ।
अन्ततः मैले पेट, छाती, आन्द्रा, आत्मा पोल्ने त्यहाँको खानाभन्दा मुख पोल्ने चाउचाउ खानु वेश भन्ने विचार गरे । चाउचाउ हसुरेपछि गाडी..,यात्रा.. र, म अहिले जिउँदै छु ।