सोमबार , फागुण २१, २०८०

सुदूरपश्चिमको सान : उग्रतारा मन्दिर

image

सुदूरपश्चिमको डडेल्धुरा भौगोलिक रूपमा जति विकट भनेर चिनिन्छ, प्राकृतिक रूपमा उत्तिकै रमणीय पनि छ । प्रकृतिको उपहारसँगै यस क्षेत्रमा धार्मिक पर्यटनका पनि आकर्षक गन्तव्यहरू छन् । त्यसैमध्येको एक हो, डडेल्धुराको अमरगढी नगरपालिका– ७, पोखरामा अवस्थित उग्रतारा मन्दिर । यो मन्दिर डडेल्धुरा सदरमुकाम बागजारदेखि चार/पाँच किलोमिटर पश्चिमपट्टि रहेको छ । यो मन्दिरलाई नेपालको सूदूरपश्चिमका ९ भगवतीका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिरको उत्पत्तिका सम्बन्धमा प्रामाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म भेटिएको छैन । तर पनि उग्रतारा भगवती मन्दिरको उत्पत्तिको किंवदन्ती भने रोचक छ ।

डडेल्धुराको अमरगढी नगरपालिका–८ मा पर्ने प्रसिद्ध यो मन्दिर सदरमुकामबाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमपट्टिको अग्लो विशाल तथा रमणीय फाँटमा अवस्थित छ । प्रकृतिप्रदत फाँटमा अवस्थित उग्रतारा देवीको दर्शन गर्न जाने भक्तजनहरूले अमरगढी–८ को टाटेसिल्ङबाट उक्लेर जानुपर्दछ । अहिले उग्रतारा मन्दिरसम्म पुग्न अमरगढी– ८ को डकले र रातागौनबाट कालोपत्रे सडक पनि निर्माण गरिएको छ । गतवर्ष सरकारले छनोट गरेका १ सय नयाँ पर्यटकीय गन्तव्यमा ‘उग्रतारा मन्दिर’ पनि परेको छ । यहाँ दिनहुँ भक्तजनहरू पूजाआजा गर्न आउँछन् ।

यस्तो छ किंवदन्ती

धेरै वर्ष उग्रतारा भगवती रहेको स्थाननजिक लटाउली गाउँमा साँकी जातीको बसोबास रहेको थियो । जुन कुरा त्यहाँ हाल रहेको भूबनोटको आकृतिबाट पनि प्रष्ट हुन्छ । हाल रहेको उग्रतारा भगवतीे मन्दिरको वरपर तिनै लटाउलीका साँकी जातीहरूले कृषि कार्य गर्दथे । एक दिन तिनै साँकी जातिका एक जना किसान हलो जोतिरहेको अवस्थामा हलोको फाली शिलामा गढेर शिलाबाट निरन्तर रगतको धारा बगिरहेको अवस्थामा ती साँकीले रगत रोक्न अनेक प्रयत्न गर्दा पनि रोकिएन । रगत धेरै आउँदा रगतको खोला बग्न शुरू भयो । हाल पनि यो खोला यही मन्दिरका तलन्वाखोलाको नामले चिनिन्छ । यसरी बग्दै रहेको रगत रोक्न तिनै किसानले आफूलाई खान ल्याएको खिचडी (मासबाट बनेको) सोही शिलाको फाली लागेको घाउमा लगाउँदा रगत बग्न रोकियो । त्यसपछि त्यस शिलालाई सुरक्षित गरी मन्दिर निर्माण गरियो । ती किसान नै त्यहाँको पुजारी भए ।

उनका सन्तानहरू पुजारी हुँदा उग्रतारा क्षेत्रको भित्रै नचनटुक्री भन्ने ठाउँबाट सिधै ओरालो उल्टो शरीर सुती करिब ५ किलोमिटर तल शैलेश्वर महादेव मन्दिरभित्रको सानो झ्यालबाट भित्र छिरिसकेर अन्य परम्परागत क्रिया गरी वास्तविक गृहस्थी जीवन त्यागी भगवतीको पूजामा रहनुपर्ने प्रचलन छ । यसरी पुजारी अवतार नभएको अवस्थामा मन्दिरको बाहिरी शिलाभन्दा अलि टाढा मात्र ब्राम्हणहरूले पूजा गराउने चलन छ । यिनै पुजारीबारे अर्काे किंवदन्ती पनि छ ।

एक समय उग्रतारा माताको पुजारीको वृद्ध अवस्थासम्म पनि सन्तान नभएकाले सन्तान पाऊँ भनी आग्रह गर्दा उग्रतारा माताले ‘पछि दुःख पाइन्छ’ भन्दा पनि उसले सन्तानका लागि ढिपी गरिरहँदा उसको छोरो भयो । छोरो ठूलो भएपछि पुजारीको सबै घरव्यवहार छोराले सम्हाल्थे । तर, एक वर्ष उग्रताराको मेला हुने अघिल्लो दिन सो गाउँमा थुप्रै पाहुनाहरू आए । जो आज पनि यथावत् छ । आएका पाहुनाहरूको सत्कार गर्न त्यो गाँउका मानिसहरू आफ्नो कर्तव्य सम्झन्छन् । सोही आधा रातमा पाहुनाकै सत्कारमा ती वृद्धाको छोराबुहारीको समय बितेको र त्यस अवधिमा आफ्नो कुनै वास्ता नगरेकाले वृद्धा पुनः आक्रोशका साथ राति नै उग्रतारा मन्दिरमा गई पुकार गरी हजुरको दरबारबाट प्राप्त छोरा नष्ट होस् भन्दा भोलिपल्ट मेलाका दिन दिउँसो ठीक १२ बजे उसको छोराको मृत्यु भएको किंवदन्ती सुन्न पाइन्छ ।

हरेक वर्ष ‘देहिजात’ मेला

यस प्रकार उग्रताराको महिमाबारे अर्को किंवदन्ती पनि छ । कात्तिक शुक्ल पूर्णिमामा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचीनकालमा गर्खाबाट लडाकुहरूले आ आफ्नो वीरताका साथ लडाइ हुँदा रगतको खोला बग्ने गरेको जसलाई त्यहा न्वाखोलाको रूपमा नामकरण गरिएको छ । देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हरेक वर्ष हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू आउँछन् । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्दछ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउँसेडी मेला शुरू हुन्छ ।

पण्डित भोजराज भट्टका अनुसार बिहान ४ बजे धार्मिक परम्परागत रूपमा दाइन दमाह, रूइसिङ, विकुल, भोकर, शंख, घण्टा आदि बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवतीको पूजा शुरू हुने गर्दछ ।

बिहानको पूजाआजापछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौं एकडमा फैलिएको मैदानको विशेष चार स्थानमा बाजागाजाका साथ घुमाइन्छ । अष्टमीका दिनसमेत पूजाआजा गरिने मन्दिरमा राँगाको बलि दिने प्रचन पनि रहिआएको छ ।

उग्रतारा मेला व्यापार व्यवसाय र आफन्तसँगको भेटघाट हुने मौकाको रूपमा प्रख्यात छ । हराँउदै गएका अन्नबाली फापर, भिमुर, तिललगायत अदुवा, बेसार, चुक, मह, घ्यु, सन्तरा, मौसमी, केरालगायत स्थानीयस्तरमा उत्पादित विभिन्न वस्तुसँगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग र तरकारीको राम्रो व्यापार हुन्छ । स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको विक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ । उग्रतारा मेलामा विक्री गर्ने पूर्वयोजनाका साथ स्थानीयहरूले विभिन्न बाँस र निगालोका सामग्रीसँगै खाद्यवस्तु एवं कृषि औजार, बेर्ना तयार पार्ने गरेका छन् । मेलामा भारतका विभिन्न स्थानका व्यापारीले मिठाइका परिकार बनाई विक्री गर्छन् ।

वेद विद्याश्रम सञ्चालनमा

अहिले उग्रतारा मन्दिर परिसरमा वेद विद्याश्रम पनि सञ्चालनमा ल्याइएको छ । यहाँ २५ जना विद्यार्थीहरू अध्यापन गरिरहेका छन् । डडेलधुरासहित बैतडी, डोटी र बाजुराका विद्यार्थीहरू यहाँ पढ्छन् । यससँगै गौशाला निर्माण गरिएको छ भने मेलाबाहेक अन्य समयमा पनि आन्तरिक श्रद्धालु भक्तजनलगायत अवलोकनका लागि अधिकांश व्यक्ति पुग्ने भएकाले पिकनिक स्पटहरू पनि निर्माण गरिएका छन् । व्रतबन्ध र विवाहका मुहूर्तहरूमा निकै भीड बढ्न थालेपछि मण्डपहरू पनि निर्माण गरिएको छ ।

विवाह गर्नेहरूको भीड

हिन्दू परम्पराअनुसार मंसिर महिना विवाह गर्न योग्य महिना भएकाले डडेलधुरामा रहेको उग्रतारा मन्दिरमा दैनिक दर्जनौं जोडीको विवाह सम्पन्न हुने गरेको छ ।

पहिलापहिला छिटफुट रूपमा उग्रतारा मन्दिरमा विवाह गर्न आउने भए पनि पछिल्लो समयमा भने विवाह गर्ने मानिसको संख्या बढेको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । उग्रतारा मन्दिर सबै क्षेत्रका मानिसका लागि पायक ठाउँमा भएकाले पनि विवाह गर्न दुलहादुलहीका परिवारको मन्जुरीमा हुने गरिन्छ । विवाहको समयमा विभिन्न कारणले गर्दा घरमा भन्दा प्रायःजसो मन्दिरमा विवाह गर्नेको संख्या धेरै पाइन्छ ।

सम्बन्धित समाचार