बुधबार , साउन ९, २०८१

रित्तिँदै गाउँ भरिँदै बजार

image

काठमाडौं । एक दशक अघिसम्म बागलुङमा धेरै बजार थिएनन्। अधिकांश मानिसहरू गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला-ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर धेरै थिए ।

स्थानीय तह बनेसँगै गाउँ-गाउँमा मोटरबाटो पुग्न थाल्यो । साना बजार ठूला सहरमा परिणत हुँदै गए । पहिला बागलुङ, गलकोट र बुर्तिबाङलाई मुख्य बजारका रूपमा लिइन्थ्यो । पछिल्लो समय बुर्तिबाङ र गलकोट बजार घरैघरले भरिन थालेको छ ।

ग्रामीण भेगका बासिन्दा सेवा सुविधा खोज्दै तराइ तथा सहरमा बसाइँसराइ गर्ने चलन ह्वात्तै बढेको छ । अहिले दिनप्रतिदिन गाउँ छाडेर बजार झर्नेको लर्को लाग्न थालेको छ । गाउँको कुना कन्दरासम्म सडक पुगे पनि बजारमोह भने उस्तै छ ।

निसी, कानाबगर, झिवाखोला, जुग्गाखोला, काठेखोलाको भीमगिठे, खार, खौलारा, न्वारा, काठेखोलाको अक्षते, बरेङको बरेङडाँडा, जैमिनीको कुश्मिेरालागयत ठाउँ बजारमा परिणत हुँदै गएका छन् । गाउँमा विकासले गति लिए पनि सहर जाने क्रम रोकिएको छैन् । गाउँ रित्तिँदै तर बजार भरिँदै गएका तमानखोलाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए ।

‘अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने लहर चलेको छ’, उनले भने । तमानखोलाबाट बुर्तिबाङ झर्नेको सङ्ख्या बढी छ । योसँगै पोखरा, काठमाडौँ, बुटवललगायत सहर बसाइँसराइ गर्ने अत्यधिक छन् । बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्नुपर्नेमा बुढामगर बताउँछन् ।

‘बसाइँसराइको मुख्य कारण गाउँमा पर्याप्त विकास र सेवासुविधा नहुनु हो, हुनेखाने सब सहर बजार जान थालेका छन्’, अध्यक्ष बुढामगरले भने । निसीखोलाको झिवाखोला, बडिगाडको खौलारा र गलकोटको हटिया बजार बसाइँसराइ गर्नेको सङ्ख्या बढेको छ । बागलुङमा सबैभन्दा धेरै गलकोट बसाइँसराइ गर्ने रहेका गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी सुनाउँछन् ।

उनी भन्छन्,’गाउँमा विकास भइरहेकै छ, तर पनि बसाइँसराइ कम भएको छैन् ।’ गाउँमा युवा भेट्टाउनै मुस्किल पर्छ । गाउँका घर जीर्ण बन्दै गएका छन् ।’

घर र खेतीयोग्य जमिन प्रयोग गर्नेको सङ्ख्या घट्दै गएको गलकोट- ७ का विष्णु थापाले बताए । बसाइँसराइले गाउँ रित्तिदा उत्पादनमा कमी आएको छ । धान, गहुँ, मकै र सागसब्जी फल्ने बारी बाँझिएका छन् । गाउँ उराठ बन्दै गएका छन् ।

रासस

सम्बन्धित समाचार