बिहिबार , भाद्र ११, २०८३

वाइबा राजा र धादिङको डब्ज्याङजोङ दरबारको इतिहास

image

धादिङको नेत्रावती गाउँपालिका अन्तर गत सेमजोङमा पर्ने डब्ज्याङजोङ दरबारको निर्माण वि.स. ४००–५०० तिर राजा तागुर र रानी सिलीङमोले गर्नुभएको प्रमाण यस क्षेत्रमा रहेको शिलालेखबाट थाहा हुन्छ ।

त्यसबेला यस वाइबा राजाको राज्यमा क्षेत्री बाहुनहरूको बसोबास नभएको देखिन्छ । वाइबा राज्यमा सबै तामाङहरू मात्र भएको र उनीहरू कृषि नगरी वन्यजन्तुको शिकार गर्ने तथा जङ्गलमा गिठा भ्याकुर खोज्ने र आफ्नो राजालाई शिकार गर्न वन्यजन्तुहरू जङ्गलबाट छेकेर दरबारको वरिपरि ल्याइदिने गर्थे । राजाले जनवारलाई मारेपछि सबै राजा र प्रजा मिलेर रमाइलो गर्ने गरिन्थ्यो ।

एकदिन राजा रानी दरबारको पश्चिमको जङ्गलमा शिकार खेल्न जाँदा राजाले धादिङको सल्यानटार फाँटमा चरिरहेको गाई गोरुको हुल देखे । त्यसपछि राजाले गाई गोरुको हुलमा आफ्नो अति शक्तिशाली बललाई केन्द्रित गर्दै वाण प्रहार गराए र ती वाण उक्त गाई गोरुलाई लागेछ ।

वाणको कारण गाई गोरु घाइते भएपछि गोठालाहरूमा आश्चर्य बढ्यो र सोधखोज गर्न थाले, वाण कसले हान्यो भनेर । गोठालाहरू बुद्धिमत्ता अपनाउँदै ढलेको गोरुको छेउमा लुकेर बसेछन् । यता शिकारी राजा रानी आफ्नो वाणले शिकार ढलेको यकिन भए पछि दुवै जना शिकार नजिक पुग्दा गोरु पल्टिरहेको देखेछन् ।

त्यसपछि रानी सिलीमोङले आफ्नो घलेक फुकाली बरिया बनाई आफ्नो शक्ति प्रयोग गरी गोरुलाई बोक्नुभएछ र राजा तागुरले रुखको हाँगा भाँचेर आफ्नो पाइला मेट्दै दरबार तिर लिएर आउनु भएछ ।

राजा र रानीलाई के थाहा, आफ्नो पछिपछि ती चलाख गोठालाहरू आएको । आखिरी गोठालाहरूले गोरु मार्ने पत्ता लगाई छाडे । त्यसपछि बाहुनहरू (ज्यार्दी) ले गोरु मारी खाएको अभियोगमा मुद्दा हाले । अदालतले गोरु मारी खाएको हो की होइन भनी बयान दिन वाइबा राजालाई अदालत बोलाएछ ।

अदालतमा राजाले बयान दिए, बयानको क्रममा आफूले गोरुलाई लक्षित गरी वाण हानेको र गोरुको मासु पनि खाएको हो तर मुखले मासु खाए पनि आँखाले नदेखेको र हातले पनि नछोई चिम्टाले च्यापेर खाएको बयान दिए । त्यसपछि बाहुनहरूसँग लडाई सुरु भएछ ।

शक्तिशाली वाइबा राजाको अगाडी बाहुनहरूको केही सीप लागेन । त्यसपछि ज्यार्दीहरूले षडयन्त्र रचे । योजनाबद्ध षडयन्त्र अनुरूप सम्झौताको योजना बनाए । सम्झौता मुताबिक दुवैतर्फबाट बिना हतियार सम्झौता गर्ने ठाउँमा उपस्थित हुने खबर वाइबा राजाको दरबारमा पठाए ।

ती सोझा राजालाई के थाहा उता ज्यार्दीहरूले आफूमाथि षडयन्त्र रच्दैछ भनेर । त्यसपछि दुवैतर्फ सन्धि सम्झौता गर्ने सर्तमा ज्यार्दीहरूले सन्धि गर्ने स्थान ह्यापिङ खोला तोके । तोकिएको स्थानमा सन्धि हुने पक्का भएपछि चलाख ज्यार्दीहरूले आवश्यक पर्ने सम्पूर्ण हतियार ह्यापिङ खोलाको बालुवा मुनि लुकाई राखे । यता सोझा वाइबा राजा भने बिना हात हतियार सम्झौता गर्न जुटेका थिए ।

वाइबा राजा तागुरले सम्झौतामा राजाको प्रतिनिधिको रूपमा आफ्ना चार राजकुमारहरूलाई खटाएका थिए । तर रानी सिलीङमो भने यस सम्झौतामा राजी थिइनन्, कारण बाहुनहरू चलाख र षडयन्त्रकारी हुन्छन् भन्ने उनले दाबी गर्दै आएकी थिइन् ।

विना हात हतियार सम्झौता स्थान जानुहुँदैन भन्ने रानीको तर्क थियो । तर रानीको कुरामा कसैले पनि वास्ता नगरी राजाको आज्ञा बमोजिम चार भाई राजकुमारहरू र वाइबा राज्यका जनताहरू सम्झौता स्थानतर्फ प्रस्थान गरे । राजकुमार गोम्बोले भने आफ्नो आमाको कुरालाई सही मानी आफ्नो हतियार धनुष वाण दाजु र बाबुले नदेख्ने गरी लुकाई छिपाई बोके । दाजुहरूलाई भने गोम्बोले हतियार बोकेको थाहा थिएन ।

राजकुमार तथा जनताको रगतले ह्यापिङ खोलाको ढुङ्गा माटो र पानी पुरै रातो भयो। तर चलाख राजकुमार गोम्बो भने त्यस भयानक षडयन्त्रबाट भाग्न सफल भए । आफूले लुकाई लगेको धनुष वाणले बुढीगण्डकीमा पुल बनाई पार गरे र राजकुमारलाई डुङ्गाबाट शत्रु आइरहेको देखेपछि धनुष वाणले डुङ्गालाई त्यही दुई टुक्रा पारेर भाग्न सफल भए । यिनै वाइबा राजाका राजकुमार गोम्बोको सन्तान नै पछि गुरुङ भएको इतिहास डब्जोङ दरबारको शिलालेखमा उल्लेख गरिएको छ ।

साथै वाइबा राजकुमार गोम्बोको नाम नै अपभ्रंश भई गुरुङ भएको भन्ने त्यहाँका बुढापाकाहरूको कथन रहेको छ । साथै रीतिरिवाज र धनुष वाणको कथासँग मेल खाएको पनि स्थानवासीहरूको कथन छ र अहिले पनि त्यहाँका बासिन्दाहरू विश्वास गर्ने गर्छन् ।

यता राजकुमार गोम्बोका दाजु र जनता भने ह्यापिङ खोलामा रगतको खोला बगाएर सखाप भइसकेका थिए । केही जनता त्यस चक्रव्यूहबाट भाग्न सफल भएका थिए । बचेका जनताहरू दरबार आएर राजालाई लडाइँको सम्पूर्ण खबर सुनाए । “हामी सबै जना ज्यार्दीहरूको चक्रव्यूहमा फस्यौँ र सम्पूर्ण राजकुमारको एउटै चिहान बनायो । अब हामी यहाँ बस्नु हुँदैन, हाम्रो पछि शत्रुहरू आइरहेको छ । अब बाँकी रहेको जनता तथा राजा रानीको सुरक्षाको लागी यहाँबाट अन्तै भाग्नुपर्छ भन्दै राजालाई सल्लाह दिए ।

त्यसपछि रानीले एक हजार टपरीमा दालभात लटपटाई शत्रु आउने बाटोतिर फालिदिए । रानी आफू पनि विभिन्न भेषमा प्रत्येक झ्यालबाट पालैपालो शत्रुहरूको चियो गर्न थाले । रानीको त्यो चालदेखि शत्रुहरू पनि डराएर दरबारमा हमला नगरी भागे ।

वाइबा राजा तागुरले आफ्नो चार राजकुमार शत्रुको षडयन्त्रमा गुमाएपछि आफ्नी गर्भवती श्रीमती बुहारी, रानी सिलीमोङ तथा बचेका जनतासहित राज्यको पूर्वतिर छवापर्माजोङ लाग्नुभएछ । वर्माचेत जोङ, फोका जोङ, सिङला जोङ, गर्चा जोङ, मिक्ली जोङ हुँदै अन्तमा उर्वाङ जोङसम्म बसाई सर्ने क्रममा मिक्ली जोङमा बसेको समयमा विधवा बुहारीलाई पुत्रलाभ भयो ।

त्यही ठाउँमा सुत्केरी राजकुमारीबाट आफ्ना स्वर्गीय पतिको सम्झना तथा आफ्नो कोखबाट छोरा जन्मिएको उपलक्ष्यमा ठडाएको ढुङ्गा पनि प्रमाण बनेर रहेको छ । आफ्नो विधवा बुहारीबाट नातिको जन्म भएपछि वाइबा राजा तागुरलाई केही मात्रमा राहत मिलेको थियो ।

त्यसपछि आफ्नो परिवार सहित हाल गौर गाउँ भएको ठाउँमा बसाई सर्नुभयो, सो बसाई सर्ने बेलामा छोराहरूको सम्झनामा र नातिको जन्म भएको उपलक्ष्यमा मिक्लीजोङ र उर्वाङजोङको बीचमा एउटा मानेँ (छोर्तेन) बनाउनु भएको रहेछ तर सो मानेंको टुप्पा नभएको र नाम पनि रुलुम माने नामकरण गरेको रहेछ । सो मानेँ अहिले पनि देख्न सकिन्छ ।

समय व्यतीत गर्ने सवालमा तागुर राजालाई गैर गाउँ भन्ने ठाउँमा पनि निकै सङ्घर्ष रहेछ । यस ठाउँमा पनि ज्यार्दीहरूले निकै दुःख दिने गरेको र आफूले पर्वते (खस) भाषा बोल्न नजानेको हुँदा उनीहरूले हामी यस ठाउँमा पुस्तौँदेखि बस्दै आएकाले अरू मानिस यहाँ बस्न पाउने छैन भनि दुःख दिने गरेकोले शिकार खेल्ने बेलामा दङसिङ भन्ने ठाउँको वाइबा राजासँग मित लगाएको र उनीहरू पर्वते भाषा बोल्ने भएकोले राजा तागुरले आफ्नो समस्या समाधान गर्न मितको सहयोगमा ज्यार्दीहरूसँग मुद्दा लड्न थाले ।

यसरी वाइबा राजाले मितेरी सहयोग पाएर ज्यार्दी विरुद्ध सङ्घर्ष गर्न थाले । सो क्रममा जसको पुरानो मानेँ छ, उसैको यस ठाउँमा बस्ने अधिकार छ भनि वाचा गरियो । यसै वाचा बमोजिम आफ्नो तरिकाबाट मानेँ (छोर्तेन) बनाए तर ज्यार्दीहरूले पुरा ताछेर चिटिक्क बनाएछ । यता वाइबा राजा र राजाको मितले ढुङ्गा निकाली मानेँ बनाउँदा बाहिरको बाहिर, भित्रको भित्रै मिलाएर बनाएछ । अनि कसको मानेँ पुरानो छ भनि जाँच गर्दा ज्यार्दीहरूको नयाँ र वाइबा राजाको पुरानो भएको ठहर गरियो । सोही मानेंको आधारमा वाइबा राजाहरूले हालको धादिङको गैरा गाउँमा बसोबास गर्न पाएपछि आफ्नो मितलाई भेडा काटी भोज ख्वाई मितलाई पनि यसै गाउँमा सधैँको लागी बस्न आग्रह गर्नुभएको थियो ।

मितको अनुरोधलाई स्वीकार गर्दै दाङसिङको वाइबा राजा पनि गैरा गाउँमा बस्न थाले । सोही समयदेखि भेडा काटी भोज गर्ने चलन अहिलेसम्म पनि यथावतै छ । प्रत्येक बडादशैंको अष्टमीको दिन बिहान वाइबा राजाहरूको घरमा भेडा काटी भोज गरेर मात्र मौलाको पूजा गर्ने चलन छ ।

वाइबा राजाको नाति राजकुमार छेवाङका पनि आठ भाई छोरा र एक छोरीको जन्म भयो । राजा रानी (हजुर बाबा र हजुर आमा) को निधन भएपछि राजकुमार छेवाङले आफ्नो बाजेको पुरानो राजदरबार डब्जाङजोङबाट केही पूर्वमा बाजे बज्यैको सम्झनामा दुईवटा मानेंहरु बनाउनु भएको रहेछ । सो माने अहिले पनि देख्न सकिन्छ । छेवाङले पनि आफ्नो निधनपछि मानेँ बनाउनु पर्छ भनि छोरा छोरीलाई भनेको हुँदा छोरा छोरीहरूले आफ्नो बुवाको सम्झनामा मानेँ बनाउनु भयो ।

सो मानेँ बनाउनको लागी प्रत्येक छोराछोरीको तर्फबाट एक र एक मुरी धान भुटेको फुल, मकैको फुल, लट्टेको फुल गरी जम्मा नौ मुरी र दूध, त्यस्तै गरी दही, नौनी घ्यु, रक्सी जाड नौ-नौ पाथी जम्मा गरी होमा नामको मानेँ बनाउनु भयो । सो होमा मानेंमा प्रत्येक १२ वर्षमा मेला लाग्ने गर्दछ । यो होमा मानेँ बनाउनको लागी वाइबा राजाको रगतले रँगिएको ह्यापिङ खोलाको ढुङ्गा लिएर बनाएको भन्ने त्यहाँका बुढापाकाहरूको भनाई रहेको छ । अहिले पनि सो मानेंको ढुङ्गा टुटफुट भएमा वा मानेंमा भएको पाँच वटा बुद्धको मूर्ति टुट्फुट भएमा वाइबाहरूको ज्वाइँ चेलाको उपस्थितिमा ह्यापिङ खोलाको ढुङ्गा ल्याएर मर्मत गर्ने गरिन्छ ।

यस गैरा गाउँमा अर्को रमाइलो कुरा के छ भने प्रत्येक बडादशैंको टिकाको दिन वाइबा राजाको शिकार खेल्ने चलनलाई साक्षी राख्न धनुष वाणबाट शिकार खेल्ने गरिन्छ । यो खेलमा एक व्यक्तिलाई कुकुरको रोल दिइन्छ भने गाउँको मुखियाले राजाको रोल खेलेको हुन्छ । गाउँका युवाहरूले जनताको रोलमा, मृग, हरिण जस्ता वन्यजन्तुको सट्टा फर्सी ल्याई राख्ने गरिन्छ र शिकारीहरु कुकुरलाई लिएर राजाको घरबाट शिकार खेल्न निस्कन्छ ।

यसमा सत्य कुरा के छ भने वाइबा राजाको पालामा राजाले प्रयोग गर्ने गरेका वज्रवाणलाई पनि शिकार खेल्ने ठाउँसम्म लाने गरिन्छ । सो वाणबाट मारिएको शिकारको मासुको रूपमा प्रत्येक घरघरमा फर्सीको टुक्रा पठाउने गरिन्छ। त्यस पछाडि गाउँको सबै जम्मा भएर हालको गाउँको मुखियाको घरको आँगनमा रातभरि रमाइलो गर्ने गर्छ र पृथ्वीको उत्पत्तिदेखि हालसम्मको कथा सुनाउँदै नाच्ने चलन छ ।

यस वाइबा राजाको दरबार क्षेत्रमा डब्जोङ अहिले हेर्न लायक वस्तुहरूमा यस प्रकार छन्:

  • ढुङ्गाको ओखल,
  • ढुङ्गाको ढिकी,
  • जाँतोको पिँधबाट लालीगुराँस फुलको रुख सो रुखले जाँतोलाई तीस फिट माथि उचालेको छ,
  • त्यस ईलाकाको प्रत्येक ढुङ्गामा ‘ॐ मानेँ पद्मे हु’ लेखेको शिलालेखहरू ।
  • सुत्केरीले उठाएको करिब पचास टनको ढुङ्गा आदि ।

वाइबा राजाको वंशजको नाम यसप्रकार छ- वाइबा राजा तागुर, रानी सिलिङ्मो, राजकुमारहरू ओम्वा, नब्वो, तीर्थ र गोम्बो राजकुमारी सत्यवती र सत्यावतीका छोरा छेवाङग र छेवाङगका आठ भाई छोराहरू ।

आठ भाई छोराहरू मध्ये एक भाई धादिङको दार्खामा र अर्को एक भाई नुवाकोटको दोलेवमा गई आफ्नो प्रभुत्व जमाएको बुढापाकाहरूको भनाई रहेको छ । बाँकी छ भाई हालको सेमजोङ गाविसको गैरा गाउँमा आफ्नो थलो बनाएर बसेको किंवदन्ती छ ।

यस कथामा उल्लेख गरिएका बुँदाहरू साविकको सेमजोङ गाविसका बुढापाकाहरूको भनाई र यस ठाउँमा भएको वस्तुहरूमा आधारित रहेको छ । (नाम्सादिमबाट)

सम्बन्धित समाचार