बुधबार , साउन ९, २०८१

भिक्षुहरूले वर्षावास ग्रहण गर्दै, वर्षावासबारे बुद्धले के भनेका छन् ?

फुग्पेको पात्रो अनुसार तिब्बत, चीन, मङ्गोलिया, भूटान, नेपाल आदि हिमाली बौद्धले मान्दै आएको बुद्ध धर्मको विशेष तिथि मध्ये एक हो । हिमाली बौद्धले श्रावकयान सर्वस्थीवादीको अटुट परम्परा अनुसार वर्षावास ग्रहण गर्दै आएको हो ।

image

वर्षातमा भिक्षु तथा श्रामणेरहरू अध्ययन, ध्यान र साधनामा एक स्थानमा तिन महिनासम्म बस्नुपर्ने नियम नै वर्षावास हो । आज तिब्बती छैटौँ महिनाको १५ गते पूर्णिमा हो, अर्थात् १२ अगस्ट ।

वर्षावासको लागि केही पद्धति सम्पन्न हुनेछ र पर्सी १३ अगस्ट को बिहान ४ बजे भिक्षुहरूले वर्षावास ग्रहण गर्नेछन् ।

यो फुग्पेको पात्रो अनुसार तिब्बत, चीन, मङ्गोलिया, भूटान, नेपाल आदि हिमाली बौद्धले मान्दै आएको बुद्ध धर्मको विशेष तिथि मध्ये एक हो । हिमाली बौद्धले श्रावकयान सर्वस्थीवादीको अटुट परम्परा अनुसार वर्षावास ग्रहण गर्दै आएको हो ।

 तस्वीर: नरेश केसी/रासस

वर्षावास(དབྱར་གནས)को सुरुवात कसरी भयो ?

बुद्ध समाकालिनमा वर्षातमा जैन र वैदिक श्रामणेरहरू वर्षावास बस्दथे । (अहिले जैन र वैदिक परम्परामा वर्षावास बस्ने परम्परा छ, छैन जान्दिनँ।) तर त्यो बेला भिक्षुसंघमा त्यो नियम बनाएको थिएन र भिक्षुहरू भिक्षाटनको लागि बाहिर जान्थे । त्यो देखेर विधर्मीले भिक्षुहरूलाई कट्टु वचन बोले, “यो समयमा तिन महिनासम्म चातक पंक्षी (བྱ་ཁུག་རྟ། त्यो बेलाको एक प्रकारको चराको प्रजाति जसबारे विनय पिटकमा उल्लेख गरिएको छ ) पनि आफ्नो गुँडबाट बाहिर निस्किँदैन तर, शाक्यमूनिको श्रामणेरहरू हेर ! चातक चरा भन्दा नि तल्लो स्तरको रहेछन् ।”

त्यसरी आलोचना गर्नुको कारण वर्षायाममा धेरै किरा फट्याङ्ग्राहरू जन्मिने र त्यही बेला खेतीपाती बढी उब्जाउ गर्ने गर्ने हुँदा केही भिक्षुहरू भिक्षाटन जाँदा हिँडेर खेतबारीका बाली नाली कुल्चिने र बिग्रिन्थे । त्यो देखेर किसानहरूले गाली गर्नु स्वाभाविक थियो र अबौद्ध गुरुहरू कहाँ गुनासो पोखाउन जान्थे । ती अबौद्ध विधर्मीले चरा चातकलाई उदाहरण राखेर कट्टु वचन बोलेपछि भिक्षुहरूले त्यस्तो कट्टु वचन सुन्नु परेको कहानी बुद्धलाई सुनाए, “हे! तथागत, भिक्षुलाई वर्षावास छैन?”

त्यसपछि बुद्धले ‘छ’ भनेर उपदेश दिनुभयो।

वर्षावासबारे बुद्धले के बताउनुभयो ?

“वर्षावास ग्रहण गर्नुहोस् । तिन महिनासम्म हो । १६ औँ दिनमा हो । वर्षावास दोस्रो महिनाको पूर्णिमाको भोलिपल्ट दिनमा हो । वर्षावास अन्तिम महिनाको पूर्णिमाको भोलिपल्ट हो । देखि………. वर्षावासको भूमि समाप्त भयो” सम्मको खण्ड ।

“དབྱར་གནས་པར་ཁས་བླང་བར་བྱའོ། ཟླ་བ་གསུམ་དུའོ། ཚེས་བཅུ་དྲུག་ལའོ། དབྱར་ཟླ་འབྲིང་པོ་ཉའི་ཕྱི་དེ་ཉིན་པར་གྱིའོ། དབྱར་ཟླ་ཐ་ཆུང་ཉའི་འོ། ཞེས་པ་ནས………. དབྱར་གྱི་གཞི་རྫོགས་སོ།” ཞེས་པིའི་བར་གྱི་ལེའུ།

यो बुद्ध वचन ‘विनयवस्तु सूत्र’ (འདུལ་བ་ལུང་གཞི།) मा उल्लेख गरिएको छ । सिधा हेर्दा बुझ्न गाह्रो देखिन्छ ।

यसमा भन्न खोजेको भिक्षु, भिक्षुणीलाई वर्षायाममा वर्षावास बस्न आग्रह गर्नुभएको हो ।
कति महिना बस्ने ? भन्दा, तिन महिना ।
कहिले देखि भन्दा, १६ औँ दिन देखि ।

(किनकि त्यो बेला १५ औँ दिनमा सधैँ पूर्णिमा पर्दथ्यो । चन्द्रमाको आकारलाई हेरेर रात र सूर्यलाई हेरेर दिनको गणना गर्दथे भनेर विनय पिटकमा त्यो बेला भारत नेपालमा प्रचलित चन्द्र पात्रो, सूर्य पात्रो र राशिफलको आधार नै दिन, महिना, वर्ष गणना गर्ने मध्यम थियो भनेर उल्लेख गरिएको छ ।)

पहिलो वर्षावास बस्न नभ्याएकाहरूले तीन महिना भित्रको दोस्रो महिनामा १६ औँ दिनदेखि बस्नुपर्छ ।

तस्बीर : कान्तिपुर

वर्षावास ग्रहण गर्नुको प्रयोजन (फाइदा) के हो ?

१) वर्षायाममा तीन महिना एक स्थानमा बस्ने हुँदा कुल्चेर कीराहरू नमर्ने भएकोले कीरा-फट्याङ्ग्रालाई हानि नहुने ।

२) भिक्षाटनको लागि खेत बालीनाली हिँड्न नपरेकाले किसानले भिक्षुप्रति अश्रद्धा पैदा नहुने ।

३) भिक्षु स्वयं बाढी पहिरोले बगाएर या पुरेर मृत्यु, घाइते हुनबाट बच्छन् ।

४) भिक्षाटनको लागि बाहिर जानु नपर्ने हुँदा कामकाज न्यून हुने ।

५) तीन महिना एकै ठाउँमा बस्नुपर्ने हुँदा अध्ययन, श्रावण गरि श्रुतिमयी प्रज्ञा, चिन्तामयी प्रज्ञा र भावनामयी प्रज्ञाको वृद्धिमा सहायता पुग्ने ।

६) वर्षावासमा धेरै भिक्षुहरू एक स्थानमा बेला हुने हुँदा बिग्रिएको स्थल, निवास, विहारको मर्मत हुने ।

७) वर्षावास बसेकाहरू तीन महिनापछि गायी (छुट्टी) मनाउनु पाउने र केही नियमहरू छुट छ भनेर बुद्धले बताउनुभएको छ । तर भिक्षु आनन्दले गायी भित्र के-के छुट छन् ? भनी बुद्धलाई नसोधेकाले यो यो छुट भनेर कुनै निश्चित नियम छैन । त्यही भएर गुम्बा, विहारले एक, दुई नियम छुट दिन्छ तर, भिक्षु शिल भित्रको नियम होइन । गुम्बाले आ-आफ्नो नियममा ५/७ दिनको छुट्टीमा छुट दिने गरेको पाइन्छ ।

८) वर्षावास सकेर, वर्षावास बसेका भिक्षु भिक्षुणीले तीन महिनासम्म जता गए पनि साथमा छ्योकु, नम्जे (पहेँलो वस्त्र) बोक्नु नपर्ने या तीन महिनासम्म छुट । अरू बेला भिक्षुले सधैँ कुनै स्थानमा एक रातभन्दा बढीको लागि जाँदै छ भने छ्योकु, नम्जे साथमा बोकेर हिँड्नु पर्ने भिक्षु नियम हुन्छ ।

यी ८ फाइदाहरू बताए पनि विशेष वर्षावास बस्नुको मूल प्रयोजन निर्वाण तथा सम्बोधीको लागि हो । त्यसैले वर्षावास बस्नुहुने भिक्षुलाई भोजन दान गर्नुहुने उपासक, उपासिका या दानदाताले केही गरि निर्वाण तथा सम्बोधी प्राप्तिको आशय मनमा नलिइकन भोजन दान गरेको हो भने पनि ती भोजन दानदाताका पुण्य निर्वाण तथा सम्बोधी प्राप्तिको हेतु बन्नेछ भनेर ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

भिक्षुले वर्षावास नबसे क-कस्ता आदीनव (ཉེས་དམིགས) या त्रुटिहरू आइपर्छ?

माथिल्लो ८ फाइदाको विपरीत ८ बेफाइदाहरू हुन्छ । साथै बुद्धले भिक्षु, भिक्षुणीलाई वर्षावास बस्न आग्रह गरेकाले नबसे बुद्धको विनय आचरण विपरीत भएकोले त्यसको फल भोग्नु पर्छ । साथै, तीन महिना भिक्षाटनको लागि निषेध गरेको र वर्षावास नबसेकाहरूले विहार, गुम्बाको भोजन उपभोग गर्न मिल्दैन । किनकि भोजन दानदातालाई उसको गिन्ती पठाएको हुँदैन । त्यसैले कतिपय भिक्षुले ‘केही हुँदैन, म पनि गुम्बाको भिक्षु हो’ भनेर अनजानवश उपभोग गरेको खण्डमा ‘कोर’ बन्ने छ । कोरलाई बाहिरी उदाहरणबाट बुझाउन आँगोको डल्लो या लाभा खानु बराबर हो भनेर बौद्ध ग्रन्थहरूमा उल्लेख गरिएको छ, जुन खाँदा पनि दु:ख, खाए पछि पनि पेट भित्र जलाउने हुँदा पिडा । मृत्युपछि नरक या प्रेतलोकमा जन्मिनेछ । कोर भनेको नदेखे पनि विपाक यही जन्ममा या पछिको जन्ममा देखा पर्छ । त्यही भएर स्मरण रहोस् भनेर गुम्बाका खाम्बाहरूमा मुखबाट आँगो निस्किएको मानिसको टाउकोको बुट्टा कोरेको हुन्छ।

तस्बीर : कान्तिपुर

वर्षावासमा भिक्षु, भिक्षुणीलाई खाना र बस्ने स्थानको व्यवस्था:

बौद्ध धर्मका श्राद्धवान् व्यक्ति वा उपासक, उपासिकालाई अनुरोध गरेर खानाको व्यवस्था गरिन्छ । जुन वर्षावास सुरु हुनुअघि नै व्यवस्थित गरिन्छ । वर्षावासबारे विस्तृत जानकारीको लागि मूल विनयसुत्र र त्यसका टिका, भाष्याहरू (तिब्बती भाषामा प्रशस्त पाइन्छ।) उपलब्ध छन् । भाष्याकार अलग अलग भए पनि मूल विषयवस्तु एउटै हो । त्यसमा हेर्नुहोला । सम्पूर्ण श्रामणेर तथा भिक्षुहरूलाई वर्षावासको सुभ-कामना । सर्व मंगलम् !!

सम्बन्धित समाचार