सोमबार , जेठ १४, २०८१

सौराहा बाहेकका पर्यटन क्षेत्रलाई पनि हामीले चिनाउनु छ : युवराज घिमिरे (अन्तर्वार्ता)

अहिले सौराहा राख्ने, सौराहामै ख्वाउने, थारु कल्चर देखाउने, अनि पर्यटकलाई एयरपोर्ट लगेर बिदा गर्ने प्रणालीले नारायणी नदि आसपासका अन्य पर्यटकीय सम्भावना बोकेको स्थान ओझेलमा परेका छन् ।

image

  • राजु झल्लु प्रसाद र सुरज पराजुली

द नारायणी रिजोर्ट । मनै भुलाउने नारायणी नदी किनारमा अवस्थित एक सुव्यस्थित बस्ने ठेगाना । मौलिक स्वादका लागि रोकिनै पर्ने स्थान । चितवन-नवलपरासीमा बैंकरहरूको कार्यक्रम हुने एक प्रमुख गन्तव्य ।

करिब ७ वर्ष अघिबाट सञ्चालनमा आएको यस रिजोर्टमा रास्ट्रियस्तरका कार्यक्रम त हुन्छन् नै स्थानीयमाझ पनि त्यति नै लोकप्रिय छ । नारायणी पुल तरेर गैडाकोट छिर्दै गर्दा कसैलाई पनि सोध्नुस, नारायणी रिजोर्ट देखाइदिहाल्छन् । नारायणी रिजोर्टमा एक रात बिसाउनेहरूले अर्को रात पनि त्यहि बिसाउन मन गर्छन् ।

छैटौँ वर्ष पुरा गरेर सातौँ वर्षमा चलिरहेको यस रिजोर्टका सञ्चालकमध्ये एक युवराज घिमिरेसँग हामीले चितवन-नवलपरासीको पर्यटन, नारायणी नदी पर्यटन र यस क्षेत्रको होटल व्यवसायसँग सम्बन्धित रहेर गरिएको कुराकानीको सम्पादित अंश:

द नारायणी रिजोर्टका सञ्चालकमध्ये एक युवराज घिमिरे

नारायणी रिजोर्टसँग तपाईँ कसरी जोडिनुभयो ?

म आबद्ध हुनुभन्दा पहिला नै साथीहरूले पूर्वाधारलाई एउटा रूपरङ्ग दिइसकेका थिए । त्यसपछि मलाई सम्पर्क गरेर ‘दाइ हामीलाई तपाईँको खाँचो छ । हाम्रो समूहसँग जोडिनुपर्‍यो‘ भनेर भने । यस बारेमा पहिला पनि कुरा भएको थियो, यद्यपि आफ्नो कार्य व्यस्तताका कारण ध्यान दिन पाएको थिइन । साथीहरूको अनुरोध बमोजिम हाम्रो सहकार्य हुँदै गयो र अहिलेको अवस्थासम्म आइपुगिएको छ ।

नारायणी रिजोर्टको एउटा शाखा ‘द नारायणी रिजोर्ट’ नारायणी किनारमा अवस्थित छ भने अर्को शाखा ‘होटल द नारायणी’ नारायणी रिजोर्टबाट ८०० मिटर पश्चिममा कालीगण्डकी चोक नजिक अवस्थित छ ।

सबै कुरा मिल्यो र पर्यटकको सङ्ख्या बढ्यो भने निकट भविष्यमा थप शाखा विस्तारबारे सोच्ने छौँ ।

नारायणी नदी किनारमा यो रिजोर्ट बसिरहेको छ । स्थान छनौट कसरी भयो ? केकस्ता सुविधाहरू विस्तार गर्दै हुनुहुन्छ ?

स्थानको कुरा गर्ने हो भने यहाँ एकजना अंकलले ‘अंकल लज’ भनेर चलाइरहनु भएको थियो । राम्रो व्यवस्थापन नभएर पनि आफ्नै फिल्मी युनिटहरू, व्यक्तिगत पाहुनाहरू ल्याएर चलाइरहनु भएको थियो ।

लोकेसन खोज्ने क्रममा हामीले नारायणीको सौन्दर्यतालाई बेच्न सकिन्छ कि भनी टार्गेट गरेर यो लोकेसन छान्यौँ ।

तर पनि यहाँ तटबन्ध क्षेत्रमा बस्तीहरू बसिरहेको छ । तिनीहरूलाई अलिकति फिल्टर गर्न सकियो अथवा स्थानान्तरण गरेर हाम्रो जस्तै अरू एउटा-दुइटा होटलहरू थपिए भने राम्रो हुने थियो ।

व्यवसायमा जति कम्पिटिसन बढ्यो त्यति पाहुनाहरू आउने न हुन् । हाम्रो मान्यता भनेको हाम्रो मात्र होओस् भन्ने होइन ।

हामी पुरानै संरचनामा चलाइरहेका छौँ । हामीले जति मोडिफाई गरेपनि सन्तोषजनक संरचना बनाउन सकेका छैनौ ।

मानिसहरूसँग लगानी गर्ने क्षमता छ, त्यो अनुसारको सेवा सुविधा खोज्नुहुन्छ भने यहाँ लगानी गर्न आग्रह गर्छु । ठाउँ शान्त छ, नारायणी नदीको भ्यु देखिन्छ, राती बत्ती बाल्दा सुन्दरता अझ बढ्छ ।

यहाँका पाहुनाहरू को-को हुन् ?

नारायणघाट अहिले बैङ्क तथा शिक्षाको हब भएको छ । कतिपय बैङ्कहरूको धेरै जसो कार्यक्रमहरू निरन्तर भइरहेका हुन्छन् । त्यसैगरि एनजिओ आइएनजिओहरू पनि आउने गर्छन् ।

हामी संघसंस्थाहरूको रेटसँग पनि लचिलो बनिदिन्छौँ । कसैको ठुलो अपेक्षा हुन्छ, कसैको मध्यम त कसैको साधारण तर पनि हामीले कसैलाई फर्काउने गरेका छैनौँ । ‘तपाईँहरूको यो रेन्ज हो भने आउनुहोस्, हामी तपाईँलाई त्यो रेन्ज भित्रै पारेर तपाईँहरूको सेवा सुविधा नबढुञ्जेलसम्म प्रयोग दिन्छौँ‘ भनेर खुला हृदयले स्वागत गर्ने गर्छौँ ।

स्थानीय पाहुनाहरूले पनि माउथ मार्केटिङ गरिदिनाले हामी टिकिरहेका छौँ । कोरोना महामारीको समयमा हामी थोरै गाह्रो अवस्थामा थियौँ । तर अहिले हामी सम्हालिएका छौँ ।

हामीसँग १ हजार क्षमताको हल पनि रहेकाले त्यसको प्रतिफल हामीले पाइरहेका छौँ ।

अरू सेवा सुविधा के-कस्तो छ ?

हामीसँग ३ प्रकारका रुमहरू छन् । हामीले केही रुमलाइ सुपर डिलक्स भनी नामकरण गरेका छौँ, त्यो रेन्जमा हामीसँग ३ रुम छन् । त्यसैगरि डिलक्स रुम भनेर हामी ६ रुम बेच्छौँ । बाँकी चाहिँ हामी स्ट्यान्डर्ड रुम भनेरै बेच्ने गर्छौँ ।

हाम्रो रुमको दर २ हजारबाट सुरु हुन्छ । स्ट्यान्डर्ड रुमलाइ २ हजार, डिलक्सलाई २५०० र सुपर डिलक्सलाई ३ हजार राखेका छौँ । यो दर चाहिँ कर बाहेकको हो ।

खानाहरूमा हामीले नेपाली, इन्डियन, चाइनिजका साथै स्थानीय मानिसहरूलाई मनपर्ने टिपिकल स्न्याक्सहरू राखेका छौँ ।

चितवन आउने पर्यटकहरू या भनौँ नेशनल पार्क घुम्न आउने पर्यटकलाई सौराहमै रोकाइन्छ । देवघाटका तीर्थयात्री आश्रममा बस्छन् । तपाईँहरूलाई ठाउँ अलिकति असजिलो परेको हो कि ?

पक्कै पनि हो । हामीले अन्तराष्ट्रिय मार्केटिङ गरेर, विदेशीहरूलाई टार्गेट गरेर चितवनस्थित फलानो होटेल भनेर भन्छौँ, यसो गर्दा भरतपुर, नारायणघाट बजार क्षेत्रको होटलहरू सँगसँगै नारायणी नदि पारी होटेलहरू ओझेलमा पर्छन् ।

हाम्राजस्ता होटलहरूसँग पर्यटक परिचित हुँदैन किनभने ट्राभल एजेन्सीहरूले एउटा प्याकेज लिएको हुन्छ । त्यो प्याकेज अनुसार उसले सौराहा कति नाइट, कति डेज बिताउने भन्ने तोकिएको हुन्छ । उसले त्यही अनुसारको मूल्य तिरिसकेको हुन्छ । ट्राभल एजेन्सीले एयरपोर्टसम्म उनीहरूलाई छोड्ने व्यवस्था मिलाउँछ । भरतपुर एयरपोर्टमा झरिसकेपछि सौराहाले पिकअप गर्ने व्यवस्था मिलाउँछ । प्याकेज अनुसारका दिन उनीहरूले सौराहा बिताउँछन् र उनीहरूलाई त्यस बाहेक अन्यत्र घुमाएको मलाई थाह छैन ।

सौराहा बाहेकका पर्यटन क्षेत्र हामीले चिनाएका छैनौँ । हामी जुन क्षेत्रमा लागेका छौँ महत्त्वपूर्ण स्थानहरूलाई पनि चिनाउने, हाम्रो गन्तव्य यहाँ-यहाँ हो है, यहाँसम्म पुर्‍याउनु पर्छ भन्ने एउटा लक्षित स्तरको नीति नभएको महसुस गरेको छु ।

सुधारका के-कस्ता पाटाहरू हुन सक्छन् ? कसरी अगाडी जान सकिन्छ ?

कम्तीमा टुरिजम बोर्डमा र पर्यटनसँग सम्बन्धित स्थानीय संस्थाहरूले पहिला चितवनमा भएका पर्यटकीय क्षेत्र पहिचान गर्नुपर्‍यो ।

सम्भाव्यता अध्ययन गरिसकेपछि त्यहाँ पुर्‍याउने माध्यम के हो ? यातायातको सजिलो सुविधा छ कि छैन, बाई ट्र्याक जानु पर्ने अवस्था छ कि ? यी सबै कुरालाई पहिचान गरी पर्यटनसँग सम्बन्धित सबैलाई एकै ठाउँमा फोकस बनाएर एउटा नीति बनाउँदा राम्रो होला । सौराहाले पनि ३ दिन बस्ने पाहुनालाई एक दिन चाहिँ सौराहाबाहिर लिएर जान सक्छ । पर्यटकलाई त्यही अनुसार प्याकेज बेच्न सकिन्छ ।

हामीसँग भएका कुरा विस्तार गर्न सकिन्छ । नजिकै रहेको तनहुँ क्षेत्रको देवघाट धार्मिक पर्यटकका लागि विशेष स्थान हो । त्यहाँसम्म घुमाउने योजना बनाउनु पर्छ । स्थानीय बजार घुमाउने, ठाउँ अनुसारको संस्कृति देखाउने/बुझाउने तिर ध्यान दियो भने थोरै बृहत् हुने थियो ।

अहिले सौराहा राख्ने, सौराहामै ख्वाउने, थारु कल्चर देखाउने, अनि पर्यटकलाई एयरपोर्ट लगेर बिदा गर्ने प्रणालीले अन्य पर्यटकीय सम्भावना बोकेको स्थान ओझेलमा परेको मैले महसुस गरेको छु ।

अहिले सरकारले पर्यटक दशक घोषणा गरेको छप्रदेश प्रदेशमा पुग्ने भनिएको यो १० वर्षीय योजनाको नीति के कस्तो लागेको छ ? तपाईँहरूसँग सरोकार राख्छ कि राख्दैन ?

नराम्रो नीति त बनेकै छैनन्, सबै राम्रो छ । तर त्यसलाई कार्यान्वयन गर्ने पाटोमा कमजोरी देखिन्छ । हामीले २०२० बाटै टुरिजम इयर भनेर खर्च गर्‍यौँ । नयाँ-नयाँ संरचनाहरू थपिए । त्यसपछि कोरोना महामारीमा हामी पर्‍यौँ । लगानी गरेका मानिसहरूको पनि अस्तव्यस्त अवस्था भयो । बैङ्कहरूको ब्याजदर बढेको बढ्यै छ । किस्ता मागेको माग्यै छ । एउटा मानिसले ऋण लिएर काम गरिरहेको छ तर उसले त्यो व्यवस्थापन गर्न सकिरहेको छैन । बाध्यतावश कि त्यो बन्द गर्ने, कि अरू कसैलाई बेच्नु पर्ने अवस्था छ ।

पर्यटन क्षेत्रमा ऋणको सहजता, किस्ताका इन्स्टलमेन्टलाई थोरै बढाइदिने, ब्याजदरमा थोरै सहुलियत दिने गर्नुपर्छ । पर्यटनमा लगानी गरेको छ भने जहिलेसम्म त्यो होटल सञ्चालनमा आउँदैन त्यो बेलासम्म बैङ्कहरूले पनि किस्ता नलिइदिने हो भने मान्छेलाई सर्भाइभ गर्न सजिलो हुने थियो कि ?

एउटा होटल तयार गर्न करोडौँ खर्च लाग्छ, त्यसबाट आम्दानी भइसकेको हुँदैन तर किस्ता बुझाउने दिन आइसक्छ । यस कष्टदायी क्षणबाट हामी गुज्रिरहेका छौँ ।

अहिलेको सरकारसँग कत्तिको आशावादी हुनुहुन्छ ?

अहिलेसम्मका गतिविधिमा जनताले पनि परिवर्तन चाहेको रहेछ । मैले एउटा राजनीतिक पाटोलाई विश्लेषण गर्दाखेरि हामी पुरानै भन्दा पनि केही फरक जाऊँ भन्ने कन्सेप्ट जनतामा आएको पाइएको छ । हामीले पुरानै पुस्तालाई निरन्तरता दियौँ भने देशको उन्नति नहुने रहेछ, अब नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने मान्यता आइसकेको छ ।

सरकारमा अहिले जति पनि नयाँ व्यक्तिहरू पुगेका छन् उनीहरूको अधिकार कति रहन्छ, उनीहरूलाई कतिको स्वतन्त्र भएर काम गर्न दिइन्छ भन्ने प्रमुख कुरा हो । नयाँ पुस्तालाई सहजीकरण गरी दिएन भने उनीहरूले पनि कति नै गर्न सक्लान् र ?

देशमा परिवर्तन देखिएको छ । अब जनताको विश्वासलाई आत्मसाथ गरेर अघि बढेको कत्तिको देख्न पाइन्छ भन्ने कुरा हो ।

आन्तरिक चहलपहल देशभरि बढेको छत्यो चहलपहलले गैँडाकोटलाई कतिको प्रभाव पारेको होला ?

गैँडाकोटलाई खासै प्रभाव पारेको चाहिँ म देख्दिन । जस्तै यहाँ टुरिजम बढ्ने भनेको कुनै संस्थाले कुनै प्रदर्शनी तथा मेला गर्दा गैँडाकोटसम्मका होटलहरू पनि भरिन्छन् ।

पूर्वपश्चिम आउने जाने पाहुना भनेको अलि कमै हुन्छन् । बिदाको दिन पर्‍यो भने घुम्न जाऊँ भन्ने उद्देश्यले आउँदा होटलहरू भरिन्छन् नत्र अघिपछि ६० देखी ७० प्रतिशत अकुपेन्सीमा हामी चलिरहेका हुन्छौँ ।

हाम्रोमा दोहोरिएर आउने पाहुना नै बढी हुन्छन् ।

तपाईँको बिचारमा चितवनको गतिविधिहरू कसरी सञ्चालित हुनुपर्थ्यो होला ? या यसका कमी कमजोरीहरू के छन् ?

सबैभन्दा पहिला हामी जतिपनि यो व्यवसायमा आबद्ध छौँ, सबै एउटै युनिट हौँ भन्ने बुझी एउटा छाता सङ्गठनले सबैलाई समेट्नु पर्‍यो ।

मेरोमा एउटा दरमा बसिरहेको ग्राहकलाई अर्को होटलले दर थाह पाएर म यति पैसामा दिन्छु, बरु २ सय रुपैयाँ कम लिन्छु भनेर दलाली गरी अरूको पाहुनालाई तान्ने भन्दा पनि नयाँ पाहुना कसरी भित्र्याउने सक्छौँ भनेर सोच्ने कि ?

जस्तै पोखराको उदाहरण हेरौँ । वहाँहरू टुरिजमलाई लक्षित गरेर केही न केही गतिविधि सधैँ जसो गरिरहनुहुन्छ । कहिले फुड फेस्टिभल, कहिले कुनै सांस्कृतिक कार्यक्रम भइरहन्छ । हाम्रो चितवनमा त्यस्तो छैन किनभने जसले आयोजना गर्‍यो ऊ मात्र केन्द्रित भएको हुन्छ । त्यसमा अरूले साथ दिँदैनन् । पर्यटक बढे भने सबैको लागि बढ्ने हो एउटालाई मात्र बढ्ने होइन ।

त्यही भएर केही समयको अन्तरालमा हामीले विभिन्न गतिविधिहरू गर्‍यौँ भने सबैलाई हुन्छ ।

नारायणी नदी, तस्बीर: संयोग रेग्मी

शैक्षिक हबपर्यटकीय हब यो ठाउँ विभिन्न कारणले उठ्न खोजिरहेको बेला हामीले गर्न नहुने गल्तीहरू के थिए ?

यहाँको पर्यटन क्षेत्रमा गर्न नहुने गल्ती भनेर मैले अङ्कित गर्न सकिनँ । भइरहेका गतिविधीहरूको पुनरावलोकन गर्ने हो भने ति औल्याउँन सकिएला !

यी दुवै तस्बीर संयोग रेग्मीले खिचेका हुन्

नारायणी तट प्रदूषित भयो भन्ने कुरा छ नि ?

विगत लामो समयदेखि म पर्यटन क्षेत्रमा संलग्न छु । १२/१४ वर्ष अघि यसरी जाँदा राम्रो हुन्छ भन्ने हाम्रो एउटा भिजन बनेको थियो । तर त्यो माथिल्लो लेभलसम्म पुग्ने हाम्रो आधार बनेन ।

अलिकति नारायणघाटको किनार अथवा गैँडाकोटको किनार दुवैतिर तटबन्ध गरेर थोरै हाइट उठाएर पानीको लेभल सहर भित्र नछिरोस् भन्ने तरिकाले लिएर गयौँ भने नदीको पनि संरक्षण हुने थियो ।

एक डेढ महिनामा एउटा कार्यक्रम आउँदैछ । हामीले पटक पटक नदी किनारमा फोहर भयो भनेका छौँ । मान्छेहरूले दिनभरि ठेला राखेर फोहर छोड्छन् । सफा गर्ने निकाय छैन ।

माथि देखि तलसम्मकै कर्मचारी राखौँ । दैनिक रूपमा सफा गरौँ । एउटा संस्थाले कति तिर्नुपर्छ, सर्वसाधारणले कति तिर्नुपर्छ, ठेलाहरूसँग कति लिने लिऔँ । उक्त रकम सरसफाइ र यस क्षेत्रको विकासका लागि खर्च गरौँ । यसको गर्दा कतै खाल्टो परे बालुवा पुर्न पैसा पुग्ने भयो । यस विषयमा पछ्याउने निकाय नपाएकाले अन्यौलता छ ।

हामीले मात्र गर्छु भनेर सम्भव छैन । उद्योग वाणिज्य सङ्घले, नगरपालिकाले कार्यविधि बनाइदिएर त्यो अनुसारको पैसा उठाइदिने हो भने सहज हुने थियो । सबैजना सहयोग गर्न तयार छन् ।

यसो गर्दा वातावरण पनि प्रदूषित हुने थिएन । थोरै आय पनि हुन्थ्यो । हामीले यस विषयमा पहल नगरेको भने होइन । बिचबिचमा ग्राभेल गर्ने, डोजर ल्याएर सम्याउने गरिरहेका छौँ । तर बाढी आउँछ अनि त्यो बनाएको बाटो कि बालुवाले पुरिन्छ कि बग्छ । नदी तट क्षेत्र भएकाले यसलाई पिच नै गर्ने प्रावधान भने रहेनछ ।

मौलाकालिका मन्दिरबाट देखिएको नारायणघाट-गैंडाकोट क्षेत्र, तस्बीर: संयोग रेग्मी

समयको लागि धन्यवाद 

यहाँलाई पनि धन्यवाद ।

सम्बन्धित समाचार