शुक्रबार , जेठ ८, २०८३

पुग्ने हैन त ? हात्ती प्रजनन एवम् तालिम केन्द्र, सौराहा

तालिमका क्रममा प्रायः छावाको अगाडिको दुवै खुट्टा डोरीले बाँधेर राखिन्छ । दिउँसोको समयमा तालीम दिइने छावाको घाँटीको डोरीमा दुवैतर्फ लामो डोरी जोडेर दुईटा अनुभवी र बलिया हात्तीलाई समात्न लगाइन्छ ।

image

माउसँग क्रमशः अलग गराएर छावा हात्तीको चुनौतीपूर्ण तालिम सुरु हुन्छ । तान्त्रिक विधिबाट देवीदेवताको पूजा गरी छावालाई खवारीको खाँबोमा बाँधेर सुरु हुने यो तालिमबारे सुन्नेलाई रमाइलो लाग्न सक्छ तर तालिम दिने माउते र लिने छावालाई चाहिँ यो कष्टप्रद हुन्छ ।

दाना, आहार र पानीसमेत कम खान दिई साँझ बिहान खवारीमा डोरीले छावाको घाँटीमा बाँधिन्छ । धेरै उपद्रो मच्याउन थाले नजिकै आगो बालेर छावाको रिस शान्त पारिन्छ । आगोको लप्काले तर्साएर उसलाई नियन्त्रणमा राखिन्छ ।

छावाका गुरु तिनै हात्ती चलाउने माउते र उनका माउहरु हुन् । माउतेहरु अधिकांश थारु जातिका छन् । छावालाई तालिम दिने यो कठिन तर रोमाञ्चक काममा स्थानीय चौधरीहरु वर्षाैँदेखि अभ्यस्त छन् ।

उनीहरुले कुनै विश्वविद्यालय वा प्रशिक्षण केन्द्रमा पढेर हात्तीसँग खेल्न थालेका होइनन् । त्यसो त माउतेका गुरु पनि तिनै हात्ती नै हुन्, जसले एकापसका भाषा र हाउभाउ बुझेर आफ्ना जीवन चलाइहेका छन् ।

जमिनमा पाइनेमध्ये सबैभन्दा ठूलो शरीर भएको जनावरलाई साक्षर मात्र भएका माउतेले कुशल प्रशिक्षक भई तालिम दिएर भनेअनुसार ठाउँमा डुलाउन सक्नु आफैँमा चुनौतीपूर्ण काम हाे ।

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन एवम् तालिम केन्द्र, सौराहामा हात्तीलाई नियमित तालिम दिइन्छ । छावालाई काम लगाउन, योग्य बनाउन र माउतेको भाषा बुझ्ने बनाउन तालिम दिइन्छ ।

तालिम नपाएका छावाले हात्तीसारका कर्मचारी र आगन्तुकलाई हानेर घाइते बनाउने डर हुन्छ । तालिम नदिएको छावा बिरामी पर्न गएमा उपचार गराउन समेत अप्ठ्यारो पर्छ । छावाको उमेर दुईदेखि चार वर्ष पुगेपछि तालिम दिइन्छ ।

मौखिक तथा सांकेतिक आदेश 

तालिमका क्रममा प्रायः छावाको अगाडिको दुवै खुट्टा डोरीले बाँधेर राखिन्छ । दिउँसोको समयमा तालीम दिइने छावाको घाँटीको डोरीमा दुवैतर्फ लामो डोरी जोडेर दुईटा अनुभवी र बलिया हात्तीलाई समात्न लगाइन्छ । पछाडि एक बलियो हात्तीलाई राखिन्छ । यसरी डोरी र तालिमप्राप्त हात्तीको सहायताले नियन्त्रणमा लिँदै अभ्यासका हिँडाइन्छ ।

छावाको घाँटीमा एक माउते बसेर ठूलो चौरमा लगेर दायाँबायाँ हिँडाउने, बसाउने, उठाउने, गरिन्छ । यसका लागि मौखिक तथा सांकेतिक आदेश दिएर सिकाइन्छ ।

साँझमा आगोको लपेटोले तर्साउँदै छावाको शरीरमा चढ्ने, मालिस गर्नेजस्ता क्रियाकलाप गरिन्छ । ती छावालाई अन्य प्रकारका जनावर, मोटर र असामान्य आवाज तथा गन्धसँग नडराउन भनेर अभ्यस्त गराउन सडकतिर पनि लैजाने गरिन्छ ।

सामान्यतया एउटा छावालाई तालीम दिन २० दिनदेखि तीन महिनासम्म लाग्छ । यसपछि पनि छावाले माउतेबाट दिइने अन्य आदेश कामको सिलसिलामा सिक्दै जान्छन् । जुनसुकै जातिका माउते भए पनि हात्तीलाई स्थानीय थारु भाषामै तालिम दिइने र काममा लगाउने गरिन्छ ।

थारू भाषामा ‘अगत’ भनेपछि हिँड्छन् 

हात्तीलाई बसाउन ‘बैठ’, घुँडा खुम्च्याएर बसाउन ‘सरबैठ’, राम्रोसँग बाटो हेर भन्न ‘देख’, अगाडि हिँड्न ‘अगत’, टाउकोले धकेल्न ‘हिक’, उठाएर मुखमा च्याप्न ‘उठासकल’, टाउको झुकाइ अगाडिको खुट्टा खुम्च्याउन ‘झुक’ शब्द प्रयोग गरिन्छ ।

यसैगरी, हात्तीलाई उठाउन ‘मैल’, सुताउन ‘सुत’, पानी पिउने ‘छोप’, समातेर दबाउन ‘घरदाव’, यता हिँड भन्न ‘फर्कि इभर’, छोड्नलाई ‘छि’, रोकिनलाई ‘र’, बोकी हिँड्नलाई ‘छेउ’, खानलाई ‘दहिर’ जस्ता भाषा प्रयोग हुन्छ ।

तालिम पूरा गरेपछि छावालाई बोका, कुखुरा, परेवाको बलि दिई देवी देवताको पूजा गर्ने प्रचलन छ । एशियाली संस्कृतिमा हात्तीलाई ज्ञानको प्रतीक मानिन्छ । यिनीहरूको स्मरणशक्ति र वुद्धिको क्षमता प्रायः ऐतिहासिक मानव ह्वेल र डल्फिन बराबर हुने मानिन्छ ।

तालिम पाएका हात्तीले तिनै माउतेका भाषा र सङ्केत बुझेर निकुञ्ज संरक्षण गस्तीदेखि पर्यटक डुलाउनेसम्म काम गर्दै आएका छन् । नवलपुर, चितवन, पर्सा, मकवानपुरका क्षेत्र गरी ९५२ वर्गकिलोमिटरमा फैलिएको यो निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो, जुन विश्व सम्पदा सूचीमा सूचीकृत छ ।

चौध वर्ष पुगेपछि प्रजजन प्रक्रिया

हाल विश्वमा अफ्रिकन झाडीमा पाइने हात्ती, अफ्रिकन जङ्गलमा पाइने हात्ती र एशियन हात्ती गरी तीन प्रकारका हात्ती अस्तित्वमा रहेको पाइन्छ। साधारणतया एउटा छावा जन्मदाकै अवस्थामा १ सय २० किलोग्राम (२६० पाउन्ड) तौलको हुन्छ।

एशियन हात्ती प्रौढ हात्ती अवस्थामा पाँच टन तौलका हुन्छन्। यिनीहरुको उचाइ तीन मिटर र लम्बाइ ६ दशमलव ४ मिटर हुन्छ। हात्तीको औषत आयु ५० देखि ७० वर्षको हुन्छ। अहिलेसम्मको अभिलेखअनुसार ८२ वर्षसम्म पनि बाँचेको छ। हात्ती १४ देखि १५ वर्षमा पुगेपछि उनीहरू प्रजनन (यौन) प्रक्रियामा संलग्न हुन्छन्। गर्भिणी हात्तीलाई केन्द्रमा ल्याउने गरिन्छ।

तस्बिरहरु: राजेश पौडेल

सम्बन्धित समाचार