वर्षाको समय । धमिलो पानी । छचल्किँदो छाल । झन्डै वारपार गर्दै उर्लिँदै छ त्रिशूली ।
धादिङको गल्छी र गजुरी गाउँपालिकाको साँधबाट दक्षिण हुँदै त्रिशूलीमा हाम फाल्दै छ, बेल्खु खोला । बेल्खु पनि सङ्लो छैन ।
यही धमिलो पानीमा मानिसहरू आफ्नो सपना सङ्ल्याउँदै छन् ।
बेल्खुले माथिमाथिबाट आफ्नो बेगसँगै छेउकुना हान्दै बालुवा ल्याउँछ । बालुवा त्रिशुलीमा मिसिनै लाग्दा हुलका हुल मानिसहरू खोलामा पस्छन् । त्रिशूलीले पनि मसिनो र राम्रो बालुवा छेउछेउ ल्याएर छाड्छ ।
त्रिशुली नदीकै अलि माथि चिंरौदी खोलामा पनी उस्तै गरी बालुवा निकाल्नेहरुलाई चटारो छ ।
यिनै थरीथरीका बालुवामा थरीथरीका मानिस आफ्नो सपना पूरा गर्न थुन्से, नाम्लो र बेल्चा लिएर होमिन्छन् । पानीमा डुबुल्की मार्दै उनीहरू बालुवा निकाल्छन् । खोला र किनारा गरिरहन्छन् ।
थुप्रै समूहका मानिसहरूले बालुवाका थुप्रै थुप्रा लगाउँछन् । एउटा समूहले दिनमै झन्डै दुई टिपर बालुवा खोलाबाट निकाल्छ । यो बेला त्रिशूलीको किनारमा बालुवा निकाल्नेहरूको कमाउने सिजन हो । उनीहरू समूह बनाएर आउँछन् । यहीँ समूहमै खान्छन् र समूहमै मिलेर रमाइलो गर्दै काम गर्छन् ।
यहाँ बालुवा निकाल्न सिन्धुपाल्चोक, अर्घाखाँची, जाजरकोट, रामेछाप लगायत ठाउँबाट मानिसहरू आएका छन् । यो बर्खाको दुई महिना यहीँ बसेर बालुवा निकाल्छन् र पैसा कमाएर घर फर्किन्छन् ।
यस क्षेत्रमा रोजगारी गुम्ने भन्दै मेसिनबाट बालुवा निकाल्न स्थानीयले रोक लगाएका छन् । मान्छेले नै बालुवा निकाल्दा प्रकृति पनि नमासिने, गरिखाने मानिसले पनि रोजगारी पाउने स्थानीय बताउँछन् ।
आम्दानीको हिसाबले राम्रो भएता पनि ज्यान जोखिममा राखेर बालुवा निकाल्न मस्त छन् उनीहरु ।
‘मलाई मेरो ज्यानको माया भन्दा पनि घरमा रहेका लालाबालाको भोकले पिरोल्छ’, बालुवा बोक्दै गर्दा एकजना भक्कानिए ।
उनीहरू एक सिजनमा दुई महिना काम गरेर डेढ-दुई लाख रुपैयाँसम्म कमाएर घर फर्किन्छन् ।
यसरी समूहले निकालेको बालुवा व्यापारीहरूले टिपरका हिसाबले किनेर लैजान्छन् ।