शुक्रबार , भाद्र २६, २०८३

नेवा: संस्कृति बताइरहेका नरदेवी आसपासका भित्ताहरू

image

सन बजार आसपासका घरहरू बदलिए, ग्राहक-व्यापारीका नयाँ अनुहारहरू देखा परे तर व्यापार बदलिएको छैन । आज पनि यो क्षेत्र व्यापक घुइँचो हुने ठाउँ हो । नेपालको आर्थिक इतिहासमा असन आसपासका क्षेत्रहरूले आफ्नो अलगै पहिचान क्रियट गरिसकेका छन् । यी गल्लीहरू हुँदै हिँड्ने क्रममा मलाई कहिलेकसो यहाँका भित्ताहरू आकर्षित गर्ने गर्दछ । भित्तामा टाँसिएको पोस्टर (फोटोकपी पेपर), भित्तामा लेखिएका अक्षरहरू, पर्खालमा खोपिएका व्यापारिक-स्वास्थ्यजन्य या राजनीतिक सूचनाहरू पढ्दै, हाँस्दै हिँड्ने गर्छु ।

उसो त पर्खाल-भित्ताहरूप्रति मेरो साह्रो आशक्ति छ ।  र, साह्रो विरक्ति पनि ।
आशक्ति यसर्थमा कि भित्ता-पर्खालहरू ‘जनताका अखबार’ हुन् ।
विरक्ति चाहिँ यसर्थमा कि भित्ता-पर्खालहरू राजनीतिक प्रपन्चधीसहरूका मुखपत्र पनि हुन् ।

आशक्तितर्फ अलिकति बोलौँ । भिन्ची, एन्जेलोका फ्रेसको चित्रहरूले भित्तालाई अर्थ प्रदान गरेका थिए, गरिरहेका छन् । अजन्ता, अल्टामिरा जस्ता गुफाहरूमा पनि मानव सभ्यताको सजीव चित्रण त भेटिन्छ नै, शिल्पकारिताको उत्कृष्ट नमुना पनि भेटिन्छ । यी गुफाहरूमा अङ्कित भित्ते चित्रहरू, सिलिङ चित्रहरू, बाहिरी मोहडाका झ्याल ढोका र भित्री मोहडामा कुँदिएका मूर्तिहरू एवं बुट्टेदार खम्बाहरूले हामीलाई प्राचीन कालसँग साक्षात्कार गराउँदछ । यी गुफाहरूको भित्ता-पर्खाल नबोल्दा हुन् त हामी आफूलाई चिन्ने-बुझ्ने मेसोमा यहाँ यति चाडै आइपुग्ने थिएनौँ । यहाँ खोपिएका चित्रहरू तात्कालिक सङ्केत चिन्हहरू त थिए नै, सँगसँगै आजका हामीलाई ‘हिजोका हामी कस्ता थियौँ’ भनेर चिनाउने सेतु साबित हुन् पुगेको छ । उदाहरण स्वरूप, धादिङ डेबजोङ दरबार (वि.स.५०० आसपास)का खण्डहरहरूले वाइबा राजाहरूको परिचय हाम्रो अगाडि सारिरहेको छ ।

अब विरक्तितर्फ पनि बोलौँ । शीत युद्धकालीन वैचारिक विभाजनको प्रतीक बर्लिनको पर्खाल, विश्वको सबैभन्दा ठुलो चिहान ग्रेटवाल पनि आखिर थिए त पर्खाल नै, भित्ता नै । यिनले पनि तात्कालिकता झल्काएका छन्, जुन इतिहासका विद्यार्थीहरूको तीर्थाटन साबित भएको छ ।

यसहिसाबले नियाल्दा भित्ता- पर्खाल कुनै दल, समूह वा व्यक्तिका विचार जनतासम्म पुर्‍याउन सजिलो, कम खर्चिलो र प्रभावकारी माध्यम बनिरहेको देखिन्छ । यसैकारण सहरका भित्ताहरू-पर्खालहरू कतै खाली देखिँदैनन् । फिल्मको पोस्टर, नि:शुल्क आँखा शिविरका विज्ञापन, कोठा सार्ने गाडीवालहरूको प्रचारबाजी, दलगत-पार्टीगत विचारहरूको व्याख्या (नारा ?), नगर-महानगरको सूचना र आदि इत्यादि । काठमाडौँका भित्ता-पर्खालहरू दिनहुँ नयाँ-नयाँ सूचनाहरू बकिरहेका छन् । नयाँ-नयाँ हल्लाबाजीहरू गरिरहेको छन् । अलिकति नियालेर हेर्ने हो भने काठमाडौँका भित्ता-पर्खालहरूबाट नै काठमाडौँ बोलिरहेको छ ।

भित्तामा नारा लेखिनु, सूचना टाँसिनु वैचारिक स्वतन्त्रता कुरा हो । कुनै पनि ठाउँ या स्थानविशेषका भित्ता-पर्खालहरू के-कस्ता अक्षरहरू छन् भन्ने कुराले त्यस ठाउँको वैचारिक झल्काउँदछ । आवश्यकता औँल्याउँदछ । विसङ्गति दर्साउँदछ । पर्खाल-भित्ताहरू ‘भित्ता-पर्खालहरू’ मात्रै होइनन् ।

पर्खाल-भित्ता मानिसको दुःख-दुर्दशा बताउँछन्, रहर-सपनाहरू पनि बताउँछन् । पर्खाल-भित्ता समाज बुझाउँछन्, कला बुझाउँछन् । पर्खाल-भित्ता हकाधिकार पढाउँछन्, हकदाबी गर्न अर्हाउछन् । पर्खाल-भित्ता युगका चरित्र देखाउँछन् । चित्र देखाउँछन् । पर्खाल-भित्ताहरूले आगो बाले । पर्खाल-भित्ताहरूले खान सिके । पर्खाल-भित्ताहरूले भाषा जाने । पर्खाल-भित्ताहरूले संस्कृति जन्माए । पर्खाल-भित्ताहरूले घर बनाए । पर्खाल-भित्ताहरूले समाज बनाए । देश बनाए ।..पर्खाल-भित्ताहरू मात्रै ‘भित्ता-पर्खालह’रू होइनन् ।

नरदेवी मन्दिर आसपासका भित्ताहरू पनि धेरै थोक बोलिरहेका छन् । धेरै थोक भनिरहेका छन् । हेर्नुहोस्, यी भित्तामा सजिएका नेवा: संस्कृति, साम्प्रदायिकता र समाज बुझाउने कलाकृतिहरू;

तस्बीर : सुमन मगर

सम्बन्धित समाचार