साबिती जन्माउनको लागि रोचक घिमिरेले निभाएको सुडेनीको कार्यभार तारिफयोग्य छ । नेपाली साहित्यले आज साबिती गर्भधारण गरेको छ तर, साबिती हुर्किन सकेन ।
– जनक कार्की
जब एउटा लेखक मात्छ, के हुनसक्छ ? ऊ नाच्दिन सक्ला ! निर्वस्त्र भएर रावण रचित शिव ताण्डव स्तोत्र घोकेर :
जटाटवीगलज्जल प्रवाहपावितस्थले
गलेऽवलम्ब्य लम्बितां भुजंगतुंगमालिकाम्।
डमड्डमड्डमड्डमनिनादवड्डमर्वयं
चकार चंडतांडवं तनोतु नः शिवः शिवम
नाङ्गो नाँच !! अराजक नाँच !! उन्मुक्त नाँच !!
कुनै नसालु कुराले मात्र मान्छे मात्दैन । ऊ मात्न सक्छ खोक्रो आदर्शको खोल ओढेर दुनियाँमा असल छवि बनाउन खोजिरहेको ढोंगीलाई देखेर । ऊ मात्न सक्छ, रुढीबादी परम्परालाई देखेर । ऊ मात्न पनि त सक्छ वेथिती र अराजकता देखेर । यस्तै कुराले मातेर कन्फेसन (साबिती) गरिरहेको म पात्र (लेखक) को वर्णन हो- `साबिती´ उपन्यास ।
अँ, साबितीलाई उपन्यास त भनिहालेँ तर यसलाई उपन्यास नमान्ने विद्धानहरू पनि छन् । हुन त साबिती उपन्यास भन्दा काव्यिक निजात्मक निबन्ध जस्तो नलाग्ने पनि होइन ।
मदनमणि हजुरबाले त भनेका छन, `साबितीलाई अरुले जे भनेपनि उपन्यास भन्न पाइन्न, त्यस बेलासम्म जुन बेलासम्म उपन्यासको परिभाषालाई नै विश्वस्तरमा परिवर्तन गरिदैँन ।´ दिक्षितले यसको विधालाई नस्वीकारेपनि साबितीलाई नेपाली साहित्यको शिरीषको फूल भन्दा पनि केही मानेमा माथिल्लो स्तरको रचना मानेका छन् । मलाई भने यो तुलना गर्ने कुरासँग आपत्ती हुन्छ सधैं । तुलना के को आधारमा गर्ने ? किन गर्ने ? आँप मीठो कि सुन्तला ? यो त व्यक्तिको रोजाइमा भर पर्ने कुरा न हो । तुलना नै गर्ने भए उनले आफ्नै माधवीसँग गरे कम विरोधाभास लाग्न सक्छ पाठकलाई ।
क्षयरोगको किटाणुलाई मित्र बनाएर रगत वान्ता गर्दै हिँडने जड्याहा लेखको कथा हो, साबिती । रगतको खकार-ओ-मिखौटा ओढेर हिँडने मान्छेको मुखमा थुक्न चाहने पात्रको कथा हो, साबिती । गधापच्चिसे उमेरको पूर्वार्दमा पुगेको लेखक, जसले दुईचारमाना रक्सी पिएर दुईचार माना रक्तदान गर्छ ।
ऊ आफूलाई असल देखाउन आदर्शको वस्त्र लगाउन्न, दरिद्रतालाई निस्फिक्री बयान गरिदिन्छ, इज्जतलाई रंग लगाउदैन । आफ्ना सिमित आवश्यकता पूरा गर्न माग्छ, ठग्छ, ढाट्छ, निर्लज्ज हुन्छ । आयको कुनै स्रोत नभएको व्यय मात्र भएको मातेको लेखक, हल्लिरहन्छ- ‘कोहि छ हँ ?’
ऊ आफूलाई समाजको हिस्सा मान्दैन । यो समाजको हिस्सा उनीहरूलाई मान्छ, जसले समाज बनाउने ठेक्का लिएर हिँडेका छन् । सडेको खटिरोलाई मसारेर बस्नुभन्दा जरैदेखि निकालेर फ्याक्नुमा विश्वास गर्छ । ‘आइज ! काटेर फाल्दिन्छु तेरो क्यान्सरको खटिरो । कोहि छ ? हँ आइज !’
`म भन्छु- सच्चा सामाजिक म हुँ । तिम्रो असमाजप्रति असामाजिक छु ।( पृष्ठ -३)
उसको विचारमा रक्स्याहा दुई किसिमको हुन्छ्न ।
एक थरी – अर्काको रगतले मात्ने अर्को थरी आफ्नू रगतले मात्ने । शोषकहरू, ऐयाशहरू, हाकिमहरू, नेताहरू, पहिलो थरीका गरिबको रगत चुस्ने जड्याहा लाग्छ भने आफूलाई आफ्नै रगत चुस्ने जड्याहा मान्छ ऊ । ‘आफ्नै रगत चुस्ने पिचास हुँ म ! कोहि छ ? आइज हँ !’
पहाडको पाखो । मास्तिर ढुङ्गाले छाएको घर । तल्तिर झुप्रो । मास्लो घरमा जिम्वाल बाबू साहेब राज गरिसिन्छ । तल्लो खोरमा झुप्रे कामी बस्छ । ( पृष्ठ-५)
हो, ऊ ढुङ्गाले छाएको जिम्वालको घरमा जन्मेको कथित धनिको छोरो हो । उसलाई आफू धनी हुनु र कामी गरिब हुनुमा समस्या छ । यसमा विभेद देख्छ । आफ्ना परिवारले झुप्रोमा बस्नेको रगत चुसेर ढिकुटी भरेको कुरामा ऊ जानकार छ । त्यसैलै आफ्न्तप्रति नै उसको गुनासो छ । घर त्यागेर, परिवार छोडेर । मध्यरातमा कुकुरसँगै भुक्छ ऊ मातेर ! ‘कोहि छ ? हँ आइज !’
नर्स सोध्छे – `तपाईंको नाउँ ?´
म नाउँ भन्छु ।
´उमेर ?´
`पच्चीस वर्ष ।´
`पेशा ?´
`बेकार ।´
`पेट पाल्न के गर्नुहुन्छ ?´
`रक्सी खान्छु ।´
`दिन बिताउन के गर्नुहुन्छ नि ?´
`लेख्छु। ´
`पेशामा लेखक लेखे हुन्छ ?´
`हुँदैन । यहाँ लेखक भन्ने पेशा छैन । लेखनदास भन्ने हुन्छ? जुन म होइन ।´
`ठेगाना ?´
`छैन ।´
`घर ?´
`छैन ।´ (पृष्ठ -११)
उसको काम लेख्ने हो तर, लेखनलाई पेशा मान्ने चलन नभएको स्वीकार्छ । कुनै पनि घर उसको घर होइन, कुनै पनि ठेगाना उसको होइन । उसको केही छैन । स्वयं आफू पनि आफ्नो होइन । उसलाई आफू बाहुन हुनुमा घृणा छ । नेपाली हुनुमा घृणा छ । मान्छे हुनुमा घृणा छ । त्यसैले त अराजक छ । आफैँलाई किटाणु मिसिएको रगत सहितको थुक थुक्छ र भन्छ, ‘कोहि छ ? हँ आइज !’
सम्राज्यवादलाई ऊ जुम्रा भन्छ । आफ्नो जाँघमा जुम्रा पालेको र त्यो जुम्रालाई धपाउन राणालाई धपाउन जत्तिकै गाह्रो भएको महशुस गर्छ । जुम्रालाई दुई नङको बिचमा पेलेर निक्लेको रगतलाई साबुन नदेखेको पाइन्टमा पुछेर , चिच्याउँछ, हँ कोहि छ ? आइज !’
`दाता दुईथरीका हुन्छन्- एकथरी जो दिएर दिए भन्न लजाउँछन । दोस्रोथरी, जो लगौँटी दिएर धोती दिएँ भन्छन ।´ (पृष्ठ-२५)
ऊ सालिक हो, चौबाटोमा ठडिएको त्यो पनि नाङ्गै । पुषको जाडोमा ओढ्ने स्वीटरदेखि गुप्ताङ्गका जुम्रा छोप्ने पाइन्ट पनि जडौरी मागेर लगाउँछ । उसलाई अझै पनि नाङ्गो हुनुको पीडा छ । ऊ आफ्नो आवश्यकता पूरा गर्न मात्र माग्छ । चाहेको भए उसले यो शहरको कुनै न कुनै ठाउँमा जागिर माग्न नसक्ने होइन तर, जागिरमा गुमाउनु पर्ने स्वाभिमानप्रति सचेत छ । उसलाई माग्नु चोर्नु बराबर लाग्छ र चोर्नु जागिर गर्नु बराबर । त्यसैले जागिर गरेर चोर बन्नुभन्दा मागेर चोर बन्न चाहन्छ । त्यसैले यो समाजलाई उसले पुचित्त थुक्छ र मध्यरातमा संभोग गरिरहेका नवजोडिको ध्यान भंग हुने गरि चिच्याउँछ, ‘कोहि छ ? हँ आइज !’
`मान्छे र ढुङ्गामा अब मलाई फरक लाग्दैन । ढुङ्गा र फूलमा फरक लाग्दैन । अब यौटा मान्छे आयो लेख्नु साटो लेख्छु – यौटा ढुङ्गा आयो । अथवा फूलको थुँगाको साटो लेखूँं, ढुङ्गाक थुँगो ।´ ( पृष्ठ-२८)
ऊ मान्छेलाई अब संवेदनाभन्दा पर पाउँछ । मान्छे निर्जीव भइसकेको घोषणा गर्छ । मान्छेको आँखा र मोटरको आँखामा फरक देख्दैन । मान्छेको गिदी क्याल्कुलेटर मात्र भएकाले घृणा गर्छ । मान्छेको हृदय मोटरको कार्बेटर जत्तिको संवेदनशील नभएको ठान्छ । सर्वश्रेष्ठ प्राणी मान्छेलाई अब ऊ प्राणविहीन पत्थर मात्र देख्छ । त्यसैले थोत्रो गाडीको मुखैमा पिसाब फेर्दिन्छ र हर्न भन्दा पर सुनिने ठूलो आवाजमा चिच्चाउँछ, ‘कोहि छ ? हँ आइज !’
आफ्नो जीवन दस मुठ्ठी चामलको गुहु बनाउन बितेकोमा खेद छ उसलाई । सात बित्ता पृथ्वीको जमिन ओगटेर बसेकोमा दिक्दार लाग्छ उसलाई । चिहानघाटमा जिन्दगी बिताइरहेको लाचार समयलाई एक लात्ती कसेर हान्छ र भन्छ, ‘कोहि छ ? हँ आइज !’
मातेको लेखकले एक रात `नमातेको रात´ कविता कोर्छ:
नमातेको रात
आज झ्याल ढोका पर्दा ऐना हल्लिएका छैनन्
कोठामा झुण्डिएका लुगा
मान्छे झुण्डिए जस्तै फासीँमा
केही पनि मातेर हल्लिएका छैनन्
आज तिनले रक्सी खाएनन्
|आज सम्म छ – उकाला ओराला छैनन्
भ्वाम्म भ्वाम्म करेन्ट लाग्दैन
उडेर जूनमा बगेर सागरमा पुगिन्न
एकै छिनमा ।
आज मेरो गिदीलाई पक्षघातले हिर्काएको छैन
जे बोल्छु सोचेर बोल्छु
संकोच मानेर हाँस्छु
लाज मानेर आँखा उठाउँछु
आज मैले सभ्यतासँग लड्ने ढाल लगाएको छैन । ( पृष्ठ ३७-३८)
नमातेको रात ऊ आफैंलाई मंगल ग्रहको मान्छे सम्झिन्छ । अमिर खानको पिकेलाई जस्तै लङगुर सम्झिन्छ समाजले ।
उसलाई रक्सी खान छोडेर सप्रने कुरामा विश्वास छैन । कसैको पुच्छर भएर नोकरी गर्नु, पानपसल खोल्नु, अवसरवादी नेताको पछि लाग्नु, ताता किताब लेख्नु, जासुसी उपन्यास लेख्नु, सुकिलो लुगा लगाउनु, मन्त्री हुनु, पटक्कै होइन भन्ने लाग्छ । ऊ बिग्रनुमा शिक्षालाई दोष लगाउँछ । स्कुल, कलेज, विश्वविद्यालयलाई ऊ मगज बिगार्ने कारखामा सम्झ्न्छ ।
उसलाई शरीरको व्यापार भन्दा पवित्र व्यापार अरु लाग्दैन । कुनै पनि देशको विकास मापन गर्न वेश्यालयको उन्नति नाप्न पर्ने उसको मान्यता छ । जति व्यवस्थित देश हुन्छ, उति व्यवस्थित वेश्यालय हुने कुरामा ऊ अडिग छ । पैसावालाहरू भन्दा देह व्यापार गर्नेलाई आदरणीय मान्छ । त्यस दिन मन्दिरका सबै फूल संकलन गरेर वेश्यालयको ढोकामा अर्पण गर्दछ ।
मान्छेसँग केही छैन अब
हारिसकेको छ पाण्डवले झैँ
सबै थोक युगको जुवामा जालसाजीमा
बेच्न अलिकति गिदी
ललनी गाउन, प्रशंसा पढ्न सानू थुतुनु
घोडीले मुत्र त्याग गरेपछि प्यात्त-प्यात्त पार्ने योनी जस्तो ।
अब म टाउकाले हिडूँ पैतालाले खाऊँ नाइटाले सोचूँ
दाँतले उडूँ ठूल्व्बडालाई ढोगुँ दुई खुट्टा जोडेर
कविता सुनाऊँ थोत्रा जीपहरूलाई ।
मलाई न्याय देऊ
मलाई दण्ड देऊ
ए सतीले सरापेका देशका वासीहरू हो । ( उपन्यास भित्रको कवितांश )
२०३२ सालमा जगदीशले यस्तो नव प्रयोग गरेर उपन्यास लेखे कि आज उनको यो लेखनले वर्तमानलाई गिज्याइरहेको छ । खोइ आजका लेखनमा यो अराजकता, अस्तव्यस्तता, जङ्गालीपना ?
साबितीको म पात्र कथित सभ्य भनिएको आँखामा अनुसाशनहीन छ, अभद्र छ, अव्यवहारीक छ, अव्यवस्थित छ । उसलाई समस्या छ, देखावटीपनसँग, औपचारिकतासँग, सामाजिक मान्यतासँग र मानव भएर अमानवीय जीवन बाँचिरहेकासँग ।
जङ्गली सन्तान जन्माउन यो समाजलाई कहाँ पो राजी छ र ? त्यसैले साबिती जन्माउन पनि निकै जालझेल गर्नु परेको थियो । साबिती जन्माउनको लागि रोचक घिमिरेले निभाएको सुडेनीको कार्यभार तारिफयोग्य छ । नेपाली साहित्यले आज साबिती गर्भधारण गरेको छ तर, साबिती हुर्किन सकेन । साबितीको सिद्धान्तलाई बतिलामै असिनाले झारेको छ । अब हामीले माटो खनेर साबितीका बीउ खोज्न जरुरी छ ।
साबितीको सबैभन्दा बढी आत्मसात डा. गोविन्दराज भट्टराईले गरेको देखिन्छ । उनले २१ वर्षको कलिलो उमेरमा साबितीको लेखक जस्तै अभिमानी, युटोपियन, अव्यावहारिक उग्र चेतनालाई उचाल्दा आफ्नै प्रतिविम्न भेटे ।
जब गोविन्दराज परिपक्व हुँदै गए साबितीलाई सैद्धान्तिक व्याख्या पनि गरे । साबितीलाई दादावादको सिद्धान्तमा गाँसेर लेखे । दादावाद सन् १९१६ मा जन्मेर १९२० मा टुङि्गएको आन्दोलन हो । यो कला र साहित्यमा देखापरेको शून्यवादी आन्दोलन हो । युद्धजन्य बर्बरताको विरुद्धमा त्यो आन्दोलन स्थापित भएको थियो । यसले सम्पूर्ण बौद्धिक,सांस्कृतिक र सामाजिक परिपाटीका अन्त्यको आध्यात्मिक र नैतिक मान्यताको निन्दाको उदघोष गर्यो । यसले कलाको बुर्जुवावादी चेतनालाई उल्टाउने लक्ष्य लियो । दादावादले नकारात्मकताको संकेत गर्छ तर, वास्तवमा यसले कलाको दुरुपयोग र समाजको मात्र विरोध देखाउन खोजेको थियो- स्वयं कला र मानवताको होइन ( डा. गोविन्दराज भट्टराई ) ।
अब कुनै कलाकार चाहिँदैन, लेखक चाहिँदैन
अब कुनै सङ्गीतकार चाहिँदैन, मूर्तिकार चाहिँदैन
अब कुनै धर्म चाहिँदैन, रिपब्लिकन चाहिँदैन
अब कुनै निरङ्कुश चाहिँदैन, समाजवादी चाहिँदैन
अब कुनै बोल्सेविक चाहिँदैन, राजनीति चाहिँदैन
अब कुनै सर्वहरा चाहिँदैन, प्रजातन्त्रवादी चाहिँदैन
अब कुनै बुर्जुवा चाहिँदैन, कुलीनतन्त्र चाहिँदैन
अब कुनै फौजी चाहिँदैन, प्रहरी चाहिँदैन
अब कुनै पितृभूमि चाहिँदैन, सबै पुगिसक्यो
यो मुख्र्याइँ अब केही चाहिँदैन
अब केही केही केही चाहिँदैन
(दादावाद सिद्धान्तका प्रतिपादक मध्यका कवि आरागनको कविता डा. गोविन्दराज भट्टराईले अनुवाद गरेको )
साबितीका म पात्र फर्स्टेड पात्र हो । ऊ विद्रोही हो तर, क्रान्तिकारी होइन् । ऊ प्रजातन्त्रवादी हो तर, समर्थक होइन् । ऊ विकासप्रेमी हो तर, रगतको माटो मुछेर ठडाइएको घर जगैसँग उखाल्न चाहन्छ । यो संसारको कुनै पनि कुराले उसलाई सन्तोष दिँदैन । यो लोकको हत्या, बलात्कार, हिंसा, अन्याय,अत्याचार, पापको भागिदार आफैँलाई ठानेर आफैँलाई सजाय दिन चाहन्छ । चेतना जाग्नु पनि एउटा दु:खको कारण बनेको छ पात्रलाई ।
‘सबैको प्रिय बन्छु , चर्चित बन्छु, धन कमाउँछु, पद प्राप्त गर्छु, मानमर्यदा हासिल गर्छु’ भन्दाभन्दै आजको मान्छे कतै न कतैबाट अनैतिक बन्दै छ । उपन्यासलले देखाएको मुख्य समस्या पनि त्यहीँ हो । म पात्रको लेखक एउटा अलग अनागरिक राष्ट्र बनाउन चाहन्छ । यस किसिमको उपन्यास लेखिनु एकदम सुखद कुरा हो तर, यस किसिमको चेतनलाई बक्सामा चाबी लगाएर राख्नु सबैभन्दा घातक कुरा पनि यहि हो ।
जगदीश घिमिरे भनेजस्तै, `म अभिनय गर्दिन, नग्न लेख्छु, दिक्काल लेख्छु, म आफूले भोगेको अधम समय कागतमा पोख्न चाहन्छु ।´ आजको लेखकले यो एउटा वाक्यलाई बुटी बनाएर कलममा झुण्ड्याउन आवश्यक छ । साबिती एउटा विद्रोह हो । अति यथार्थवाद उपन्यास हो । उपन्यास होइन भने ६४ पृष्ठ लामो कविता हो । डेटएक्सपाएर नैतिकता, आदर्श, मानवीयता, प्रेम, व्यवस्था आदि बोकेर हिँडेका मानव सभ्यता माथी ठूलो प्रश्न चिन्ह खडा गरेको छ ।
जगदीश घिमिरेको अरु सबै कृतिलाई भुलेर यो कृतिलाई मात्र पढेर बुझ्न सके यो संसार हामीले कल्पना गरेको भन्दा बेग्लै बन्नेछ । यो सम्भव नहोला तर, अराज्यवाद नै आजको आवश्यकता हो । सर्वमान्य हुन, सर्वज्ञानी हुन्, सर्वकालीक हुन आज मान्छेले जुन किसिमको बुझो आफ्नो कर्तुत ढाक्न लगाएको छ, के साबितीको म पात्रले जस्तै साबिती गर्ने हिम्मत छ ? कोहि छ भने नाङ्गै आओस् यो सडकमा म उसको पैतालाको मुनि कुल्चिन तयार छु । साबिती पढ्दा मलाई पनि केही मात लाग्यो त्यसैले चुनौती नै दिगएछु,यो चुनौती मातेको तालमा हो ।
‘कोहि छ ? हँ यो युगलाई परिवर्तन गर्ने ! छैन भने इट्स ओके !’