बुधबार , जेठ १३, २०८३

थिएटर भन्ने बित्तिकै अभिनय मात्रै बुझ्नु गलत कुरा हो : चे शंखर

image

Photo by: Himal Darpan

चे शंखरको लागि थिएटर यस्तो माध्यम हो, जहाँ उनी विशुद्ध आफू हुन्छन् र आफ्ना अनुभवहरू व्यक्त गर्छन् । धादिङको सिम्लेमा जन्मिएका शंखर स्कुल पढ्ने बेलादेखि नै चें ग्वेभाराबाट निकै प्रभावित थिए र उनले आफ्नो नाम अगाडी ‘चे’ थपे । ‘इल्युजन’ नाटकमा अभिनय र निर्देशन गरेर नाट्य क्षेत्रमा प्रवेश गरेका उनले रंगकर्म गर्न थालेको १२ वर्ष पुगी सकेको छ ।

यस अवधिमा उनले ‘सेम टाइम नेक्स्ट इयर’, ‘मिस्टर फक्स इन स्कुल बोय’, ‘तिर्खा’, ‘लुक ब्याक इन एंगर’, ‘ऊ मरेकी छैन’, ‘म्याड म्यान्स डायरी’ ‘कोही किन बर्बाद होस्’ लगायत दर्जन भन्दा बढी नाटक निर्देशन गरिसकेका छन् । साहित्यकार नयनराज पाण्डेको २५ वर्षअघि प्रकाशित उपन्यास ‘उलार’ लाई उनै चे शंखरले नाट्य रूपान्तरण, परिकल्पना र निर्देशन गरेको नाटक ‘उलार’ कौशी थिएटरमा प्रदर्शन भइरहेको छ । राजनीतिक, सामाजिक मुद्दाहरूमा काम गर्न मन पराउने चे नाटकले मानिसलाई सुसूचित गराउन सहयोग गर्ने बताउँछन् ।

उनै चे शंखर सङ्ग हिमाल दर्पणकर्मी अन्शु खनालले गरेको कुराकानीको सम्पादित अंश :

१. नाटकतिर तपाईँको मन कहिलेदेखि तानियो ?

स्कुल पढ्ने बेलादेखि नै हामी स्कुलमा जानी नजानी नाटक गरिन्थ्यो ।  काठमाडौँ आएर ब्याचलर पढ्दै गर्दा म गुरुकुलको नियमित दर्शक भएँ । सोही समय म फरक फरक थिएटर ग्रुपसँग जोडिएँ । सोही कुराले मलाई नाटकमा काम गर्न हौसला मिल्यो ।

२. धेरैलाई निर्देशनमा भन्दा अभिनयमा चाहना हुन्छ नि ? तपाई चाहिँ किन निर्देशनमा लाग्नु भयो ?

थिएटर भनेको सबै आर्ट फर्मको महासागर हो, थिएटर भन्ने बित्तिकै अभिनय मात्रै बुझ्नु गलत कुरा हो । म अभिनय गर्ने गर्थेँ तर, पछि मलाई म निर्देशनमा रमाउँछु जस्तो लाग्यो ।

३. नाटकले समाज परिवर्तनमा कस्तो भूमिका खेल्छ ?

नाटकले समाजलाई प्रगतिशील र जागरूक बनाउन ठुलो भूमिका खेल्छ । नाटकलाई समाजको प्रतिबिम्ब हो । नेपालमा धेरै नाटकहरूले सामाजिक, आर्थिक, राजनैतिक र लैङ्गिक विषयमा आम मानिसलाई चेतना फैलाएको छ ।

४. काम गर्नलाई अङ्ग्रेजी र नेपाली नाटक कुन सजिलो ?

रङ्गमञ्चको भाषा हुँदैन तर, मलाई अङ्ग्रेजी नाटक गर्न सहज लाग्छ ।

५. नेपाली नाटकमा कथाको कमी भएको हो ?

नेपाली थिएटरमा केही चिजको कमी छैन । खासमा काम गर्ने मान्छेको कमी भएको हो । कलाकारहरूले कसरी अभिव्यक्त गर्ने भन्ने महसुस नगरेको हो । आफूलाई बुझ्ने कलाकारको कमी छ । जो मान्छेले आफैलाई देख्दैन, आफूलाई खोज्दैन, उसले कथा कसरी खोज्छ ? जब कलाकारले  वरपरको चिज अनुभूत गर्छ, आफूले के गरिराछु भन्ने महसुस गर्छ, नेपालमा कथाको कमी हुन्न । कमी त बस् देखाइको हो, बुझाइको हो ।

६. नेपालमा नाटक मात्रै गरेर सर्भाइभ गर्न सकिन्छ त ?

थिएटरले मात्रै चाहिँ सस्टेन गर्न गाह्रो नै छ । तर, फेरी म सर्भाइभ भइरहेकै छु । निरन्तर काम गरिरहने हो भने सकिन्छ ।

७. २५ वर्षअघि लेखिएको उपन्यासलाई नाट्य रूपान्तरण गर्ने सोच कसरी आयो  ?

जे कुरा पनि आज गर्छु भन्यो भोलि नै हुँदैन । पहिल्यैबाट उलारमा काम गर्छु भन्ने सोचेको थिएँ ।

हरेकपटक पदमा जो पुगे पनि, हामी भने ‘सफर’ गरिरहेका हुन्छौँ । २५ वर्षअघि लेखिएको उपन्यास भए पनि त्यसको कथा अहिले पनि सान्दर्भिक छ, सोही कारणले पनि उलार गर्ने सोचेँ । कलाले राज्यलाई खबरदारी पनि गर्नु पर्‍यो नि ।

८. उपन्यास नपढेकालाई कथाको विषय कसरी बुझाउनु हुन्छ ?

उलार हामी सबैको कथा हो ।  सत्ताको अगाडी हामी सबै प्रेमललवा हौँ । यो सीमान्तकृत वर्गको आवाज हो ।

९. उपन्यासलाई नाट्यरूपान्तरण गर्दाको चुनौती के रहेछ ?

जसरी किताबमा लेखकको भाषा हुन्छ, नाटकमा निर्देशकको भाषा हुन्छ । नाटकमा मेरो विचार पनि छ । तर, दर्शकले किताब पढेर एक किसिमको विचार सेट गरिसकेको हुन्छ र सोही विचारलाई नाटकमार्फत देखाउन चुनौती हुन्छ नै ।

१०. नाटक हेरिसकेपछि नयनराज पाण्डेको प्रतिक्रिया के थियो ?

उहाँ त खुसी हुनुभयो । उहाँ आफैँ पनि थिएटरसँग जोडिएर काम गरेको मान्छे ।  सायद हामीबिच विश्वास भएर पनि होला, मैले म नाटक गर्छु  भन्दा पनि सहजै हुन्छ भन्नु भयो । नाटक हेरी सकेपछि पनि खुसी हुनु भयो ।

११. अन्त्यमा केही भन्नु हुन्छ ?

सबै थिएटरले एक अर्कालाई सपोर्ट गरौँ । एक अर्कालाई प्रतियोगी सोचेर काम नगरौँ । मिलेर काम गरौँ । नाटक हेर्ने बानी बसालौँ ।

सम्बन्धित समाचार