शुक्रबार , जेठ ८, २०८३

अग्निपरीक्षा (कथा)

छोरीले गीत गाएको मन नपराउनुसम्म ठिक छ किनभने नेपाली समाजमा यो अत्यन्त सामान्य कुरा हो । तर, गीत सुनेको पनि मन नपराउनु ? साँच्ची, एउटा बाबुले किन छोरीले गीत सुनेको पनि मन पराउँदैन होला ?

image

– विज्ञान राज

उसले भनी, “मैले गीत गाएको बाबाले मन पराउनु हुँदैन ।” उसले यो कुरा अचानक किन भनी ? फेरि यस सम्बन्धित हाम्रोबिच कुनै कुरा पनि त भइरहेको थिएन ।

उसले भनी, “म बच्चैदेखि खुब गीत गाउने गर्थेँ । तर, जब बाबाले भन्नुभयो कि उहाँलाई मैले गीत गाएको कत्ति पनि मन पर्दैन । तबदेखि मैले गीत गाउन चटक्क छाडिदिएँ ।” थाहा छैन, यो सब भनेर किन ऊ भावुक बनिरहेकी थिई ? ऊ आफू मात्र कहाँ भावुक बनिरहेकी थिई र ! पुरै माहौललाई नै भावुक बनाइरहेकी थिई ।

उसले भनी, “मैले गीत गाउन किन चटक्क छाडिदिए भने बाबाको खुसीभन्दा आफ्नो रहर कहिले पनि ठुलो हुँदैन लागेर । अनि अर्को कुरा जो रहर कालान्तरमा गएर बदलिने हो भन्ने थाहा छ, त्यस बदलिने रहरका लागी बाबालाई म कसरी बेखुसी बनाउन सक्थे ?”
ठिक छ, उसले भनिहाली तर, यो कुरा हामी कुनै अर्को दिन पनि त गर्न सक्थ्यौ नि हैन र ? उसले नभुल्नुपर्ने हो, हामी यहाँ विवाह गर्ने वा नगर्ने बारेमा छलफल गर्न भेटिएका हौँ भनेर ।

उसले भनी, “गीत नगाउने निर्णय त लिएँ तर, प्रारम्भमा मलाई अत्ति नै सकस भयो । किनभने स्वतन्त्र भएर गीत गाउन बानी परेकी म । गीत नगाउन जति नै सतर्क र सचेत भए पनि काम गर्दा होस् अथवा पढ्दा होस्, आफ्नै धुनमा गुनगुनाउँदी रहिछु । गुनगुनाई रहेको आफैँलाई होस समेत हुन्थेन । जब थाहा पाउँथे, सबैभन्दा सुरुमा बाबा नजिक हुनुहुन्छ कि हुनुहुन्न ? उहाँले थाहा पाउनु भयो वा भएन ? भनेर हेर्थेँ ।

यस्तै विद्यालयमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा साथीहरुले गीत गाउँथे । उनीहरूले गीत गाएको देखेर यति हर्षित हुन्थ्यो मन कि म आफैँ स्वयम त्यहाँ गएर गाइहालूँ जस्तो लाग्थ्यो । त्यतिखेरै बाबालाई स्टेजको एकछेउमा गीत गाउने र नाच्ने टोलीलाई सिकाई रहेको र तयार गराइरहेको देख्न पुग्थेँ । अनि म झस्किन्थेँ । लिएको निर्णय सम्झिन्थेँ । कतै आफ्नो कण्ठबाट गीत निस्किरहेको त छैन भनेर आफूलाई सुन्थेँ र सतर्क रहन्थेँ । सकभर म त्यहाँबाट तुरुन्त घरतिर लागिहाल्थेँ ।

यहाँनेर मलाई एउटा कुरा सम्झना आएको छ । सर नआएर गणित कक्षा खाली थियो । म साथीहरूसँग बसिरहेकी थिएँ । साथीहरू अन्टसन्ट गन्थन गरिरहेका थिए । बसिरहेकी थिएँ भन्दा पनि उनीहरूका गन्थनहरू सुनिरहेकी थिए भनौँ न । एकछिनपछि त उनीहरू अन्ताक्षरी पो खेल्न थाले । म जुरुक्क उठेर हिँड्नै आँटेकी थिएँ, एउटी साथीले च्याप्प हात समाती हाली । त्यसपछि म त्यहाँबाट फुत्किन असम्भव नै थियो । किनभने गीत नगाउने मैले जेसुकै बहाना बनाए पनि उनीहरू पत्याउने वाला थिएनन् । कक्षामा राम्रो गीत गाउने मान्छे म जो थिएँ ।

यसो सोचेँ, बुबाले थाहा पाउनु हुँदैन होला । अनि खेल्न थालिहालेँ । एक दुईटा अन्तरा बनाएर फर्काएँ पनि । जब तेस्रो अन्तरा फर्काउँदै थिएँ, मैले ढोकामा बाबालाई देखिहालेँ । बाबा मेरो कक्षा भएर जाँदै हुनुहुन्थ्यो अनि मैले गीत गाएको थाहा पाएर आउनुभयो अथवा छेउको कुनै कक्षामा पढाउँदै गर्दा मैले गीत गाएको आवाज सुनेर दौडिँदादौडिँदै आउनुभयो, मैले केही भेउ पाउन सकेनँ ।

उहाँको अचानकको उपस्थितिले अझ त्यसमाथि उहाँको डरलाग्दो आवरणले म लगलग काम्न थालेँ । गाइरहेको मेरो कण्ठ अटकिदै अँट्किदै रोकियो । न म हलचल गरिरहेकी थिएँ, न म केही सोच्न नै सकिरहेकी थिएँ । त्यसबखत म एकप्रकारले शून्य जस्तै अचेत भएकी थिएँ ।

यो घटनापछि वास्तवमै मेरो जीवनमा परिवर्तन आयो । आयो भन्दा पनि यस घटनाको पीडाले मलाई जीवन परिवर्तन गर्न बाध्य बनायो भन्दा अझ सान्दर्भिक हुन्छ होला । मैले चटक्क सामूहिक भेला वा मेला वा कार्यक्रम वा साथीहरूको जमघट वा चाडपर्वहरूमा सकेसम्म सहभागी जनाउनै छोडिदिएँ । मैले नाच्न छोडिदिएँ । गीत सुन्न पनि छोडिदिएँ । अहिले जस्तो उसबेला सामाजिक सञ्जाल थिएन । त्यसैले सजिलो थियो तर, अहिले अत्यन्त गाह्रो भएको छ मलाई । गीत नबज्ने सामाजिक सञ्जाल निकै कम होलान्, मेरो जानकारी भएसम्म । लगभग एक दुईटा सञ्जालबाहेक म अरू कत्ति पनि चलाउँदिन भन्दा नै हुन्छ । मैले यस्ता तमाम कुराहरूमा सहभागी जनाउन छाडिदिएँ । किन छाडिदिएँ भने यी सबै कहीँ न कहीँ गीतसँग जोडिएका कुराहरू हुन । अझ मुख्य कुरा त के हो भन्दा, म फेरि बाबालाई कसै गरेर पनि निराश र दुःखी बनाउन चाहन्नथेँ ।”

एकछिन रोकिएकी उसले लामो सास फेरि अनि अघिको कुरालाई क्रमशः भन्न थाली, “एउटा सत्य कुरा के हो भने समय जान्छ र आउँछ । यही समय जाने र आउने बिचको अन्तरालमा जसरीतसरी गीत नगाउन सक्ने बनाएँ, आफूलाई । गीत जो स्वतःस्फूर्त आउने गर्छ मानिसको कण्ठमा, त्यसलाई दबाउन अथवा फेरि कहिल्यै पनि नगाउन कम्ता सकस थिएन । तथापि मैले अनेक सकसका बाबजुद दबाएँ । विस्तारै बानी पर्दै गए । अहिले त अभ्यस्त भइसकेकी छु ।” यत्ति भनेर ऊ चुपचाप लागी ।

अघिसम्म झन्झट लागिरहेको उसको कुरा म कतिखेरदेखि पो ध्यान दिएर सुन्न थालेको रहेछु, मलाई पत्तो नै भएन । हामी यहाँ विवाह गर्ने वा नगर्ने बारेमा छलफल गर्न आएका हौँ भन्ने कुरा पनि त मैले भुसुक्क भुलेछु ।

उसले आफूले बाच्दै आएको कुराहरू जसरी सुनाई । साँच्चै भन्नुपर्दा मलाई भाउन्न बनाएको छ । म पूर्णरूपले उथलपुथल भएको छु, भित्री मनतिर । किन एउटा बाबु छोरीले गीत गाएको मन पराउँदैन होला ? गीत गाएको मन नपराउनुसम्म ठिक छ किनभने नेपाली समाजमा यो अत्यन्त सामान्य कुरा हो । तर, गीत सुनेको पनि मन नपराउनु.. ? साँच्चि एउटा बाबुले किन छोरीले गीत सुनेको पनि मन पराउँदैन होला ?

ठिक छ, उसले बाबाको खुसीका लागी यत्रो सब गरी तर उसको खुसी ? उसको खुसीको के कुनै अस्तित्व छैन ? अथवा महत्त्व छैन ? अथवा उसले खुसी हुनुपर्दैन ? अनि अर्को कुरा बाबालाई उसले गीत गाएको मन पर्दैन भन्नुमा पनि त कुनै खास कारण होला । किन कारण नसोधेर उसले अन्धभक्त तरिकाले आफ्नो रहरको आहुति दिई ? उसले अन्धभक्त भएर आफ्नो रहरको आहुति दिनु भनेको उसले आफ्नो आहुति दिनु नै हो । आफ्नो आहुति दिएर अथवा रहरको आहुति दिएर बाबा त खुसी हुनुभयो तर ऊ ? ऊ खुसी भई त ? अथवा छे त ? अथवा उसले जेलाई खुसी भेनेकि छे, त्यो खुसी नै हो त ?

अघि उसले भन्दैदेखि मलाई एउटा कुरा खट्केको थियो । त्यो के भन्देखिन भने स्टेजको एक कुनामा नाच्ने र गाउने टोलीलाई सिकाई रहेको र तयार गराइरहेको कुराबाट उसको बाबा शिक्षकको साथसाथै नाच र गीत सिकाउने गुरु पनि हो भन्ने बुझिन्छ । यो कस्तो आश्चर्यजनक र संयोगपूर्ण कुरा हो । म खालि यत्ति मात्र सोचिरहेको छु कि एउटा बाबु जो नाच र गीत सिकाउँछ, ऊ कुन कारणले आफ्नी छोरीले गीत गाएको मन पराउँदैन ? कुन लक्ष्यका खातिर अथवा बाध्यताका निम्ति छोरीले फेरि कहिले पनि गीत नगाओस् भन्ने चाहन्छ ? यो कस्तो अग्निपरीक्षा लिइरहेको छ एउटा बाबु र एउटी छोरी चुपचाप दिइरहेकी छे ? ठिक छ, अग्निपरीक्षा लिइएकै हो र दिइरहेकै हो भने पनि कमसेकम उसले गीत गाएको मन नपराउनुको कारण सोधिदिए पनि त हुने हो । छोरीले सोध्ने हिम्मत नगरे पनि कमसेकम बाबुले त बताइदिनु पर्ने हो ।

उसो त कारण बिनाको अग्निपरीक्षा महाभारतकालीन वा रामायणकालीन युगमा हुने गर्थ्यो होला र त्यो एक हिसाबले सम्भव पनि थियो होला । तर, यो कलियुगमा बिना कारणको अग्निपरीक्षा लिन खोज्नु र दिनु दुवै अपराध हो । अन्याय हो । यो कुरा किन एउटा बाबुले बुझेको छैन ? किन एउटी छोरीले बुझेकी छैने ?

मैले भर्खर जेजति सोचे यी सब बारेमा उसले आफैँ पनि बताउनु पर्ने हो । तर ऊ कतिखेर देखि पो रुन लागेकी रहिछे । अब यस्तो अवस्थामा उसले कसरी बताउन सक्ले भन्ने कुराको कुनै प्रवाह नगरेर म उसले कतिखेर बोल्ले भनेर प्रतीक्षा गरी बस्न थालेँ ।

एकछिनसम्म त व्यग्र भएर, धैर्य भएर प्रतीक्षारत बसेँ । तर अह उसले बोल्ने कुनै सुरसार गरिन । उसले बोल्ने सुरसार गरेको नदेखेपछि बल्ल लाग्यो, उसले केही भनोस् भन्नु पहिले उसलाई सम्हाल्न जरुरी छ । तुरुन्त भान्सामा गएर पानी ल्याएर दिएँ । उसले एक घुट्को मात्र खाई र गिलास राखिदिई ।

मलाई लाग्यो, अब ऊ शान्त भई । शान्त भई भन्नु अब ऊ केही बोल्छे भन्ने हो । मेरो मनमा उब्जेका जिज्ञासाहरूलाई सम्बोधन गर्छे भन्ने हो । अफसोच ! अझै पनि ऊ उस्तै अवस्था र मनस्थितिमा देखिएकी छे । अब बोल्न थाल्ली भन्ने जस्तो कुनै सुरसार देखाएकी छैने ।

खासमा ऊ भावविह्वलताको स्थितिमा छे र भित्रै देखि भक्कानिएकी छे । यस्तो अवस्थामा कोही कसरी भन्न सकोस् ,अझ वर्षौँदेखिको घुटन । यता म भने अझै आस मानिरहेको छु र प्रतीक्षामा छु कि ऊ अब केही बोल्ने छे भनेर । यो मानवीयता कसरी गिरिरहेको छ भन्ने एउटा ज्वलन्त उदाहरण पनि हो ।

एकछिनपछि उसले बोल्ने सुरसार गरी । मलाई उसले बोल्न लागेका एकएक शब्दहरू सुन्न मन छ । त्यसैले कान चनाखो पारेको छु । तर ऊ बोल्न सकिरहेकी छैने । बोल्न खोज्छे तर बोल्न सक्दिन । किनभने बोल्नै लाग्दा रुवाई आएको छ । बोल्न लाग्दा रुवाई आउनु भन्दा पीडादायक क्षण पनि हुन्छ र ?

मलाई उसको हालतले विक्षिप्त बनाएको छ । मलाई देख्न सकस पर्न थालेर आयो । यहाँ म र ऊ बाहेक अरू कोही पनि छैनौ । त्यसैले मैले उसलाई समाल्नु अनिवार्य छ । मैले फेरि पानी ल्याएर दिएँ । यो पटक उसले सबै सकी । यो पटक म सिधैँ आफ्नो ठाउँमा आएर बसेन । बस्नु भन्दा पहिले उसको आशु पुछिदिएँ । कपाल सुमसुम्याई दिएँ । हातमा स्पर्श गरिदिएँ ।

हुन पनि ऊ ठिक भई, अघिभन्दा । अब भने बोल्न सक्छे जस्तो देखिई । यत्तिकैमा उसले मलाई पुलुक्क हेरी । यता अघिदेखि म उसलाई नै हेरिरहेको थिएँ । आँखा जुध्ने सक्ने सम्भावना देखेर होला, उसले तुरुन्त आँखा अन्त मोडी । भुईँभरि असरल्ल फिँजारिएका संगीतका किताबका चाङहरूमा, भित्तामा लेपन गरिएका विभिन्न संगितकारका पेन्टिङहरूमा अनि एककुनामा धुम बनाइएर राखिएका संगीतका सिँढीहरू उसले आँखा पूर्णतया मोडिसकेपछि उसले मेरो कोठाको दक्षिण पट्टि हेरि । त्यहाँ उसले अवश्य देखी मैले साधना गर्ने कक्ष । र, त उसका आँखा विस्फारित भएका होलान् । मैले सोचेको थिएँ, फेरि सन्नाटाको स्थिति आउने छ । र फेरि ऊ रुने छे । तर ऊ अचल भएर बोल्ने सुरसार गर्न पो थाली ।

उसले भनी, “गीत नगाउने निर्णय लिएपछि म बाट के गुम्यो अथवा म कहाँ गुमेँ, यसको कुनै सम्झना छैन । मेरो भित्री चाहना पनि यही छ, यस कुराको मलाई कहिले पनि सम्झना नहोस् । किनभने म वर्षौँदेखि नगाउने गीत गाउँदै आएकी छु । नसुनिने गीत सुन्दै आएकी छु । भनौँ न, मेरो जीवनपद्धति यही भइसकेको छ । म चाहन्छु, मेरो मृत्यु पद्धति पनि ठिक यही र यस्तै होस ।”

एकछिन मेरो अनुहारमा घोरिएर, त्यसपछि मेरो आँखामा निहालेर, त्यसपछि संगीतका पुस्तकहरूमा, पेन्टिङहरूमा, सिँढीहरू र साधना गर्ने कक्षमा हेरिराखेर उसले फेरि भनी, “बिहेपछि घरमा गीत पढ्न, सुन्न र गाउन के सधैँको लागि बन्द गर्न सक्छौँ ?” उसले मेरा जिज्ञासाहरूलाई सम्बोधन गरेर केही भन्ली सोचिरहेको थिएँ । उसले त मेरो अपेक्षाभन्दा पर गएर अर्कै पो भनी ।

अब म पनि तिनै असरल्ल फिँजारिएका संगीतका किताबका चाङहरू, भित्तामा लेपन गरिएका विभिन्न संगितकारका पेन्टिङहरू, एककुनामा धुम बनाइएर राखिएका संगीतका सिँढीहरू अनि मेरो साधना गर्ने कक्षलाई घुरिरहेको छु । वर्षौँदेखि संगीतमा गर्दै आएको तपस्या र पागलपन सम्झिरहेको छु । घरपरिवारले घरबाट निकालेको लगायतका अनेक सङ्घर्षका भँगालाहरू सम्झिरहेको छु । म सम्झिरहेको छु, भोलि मेरो पहिलो एल्बम विमोचन हुने निर्धारित दिन ।

म यतिखेर असमञ्जस मनोदशामा दाखिला छु । किनभने उससँग विवाह गर्ने कुरामा म लगभग पक्कापक्की थिएँ । म सोचिरहेको थिएँ, भोलिको एल्बम विमोचनकै दिन पारेर उससँग विवाहको घोषणा गर्ने भनेर । तर आज ऊ आएकी छे र भनेकी छे, “विवाहपछि घरमा गीत गाउने र सुन्ने कुरा के सधैँको लागि बन्द गर्न सक्छौँ?” भन्न पनि उसले त्यस मानिसलाई भनेकी छे जो मानिस सास बन्द गर्न सक्छ तर गीत गाउन बन्द गर्न सक्दैन ।

अस्तु !

सम्बन्धित समाचार