इजरायली सेनाले कब्जा गरेको वेस्ट बैङ्कमा अल जजीराकी पत्रकार शिरीन अबु अक्लेहलाई गोली हानी हत्या गरेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैङ्कमा अल जजीराकी पत्रकार शिरीन अबु अक्लेहलाई गोली हानी हत्या गरेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधवार जेनिन सहरमा इजरायली आक्रमणहरूको कभर गर्ने क्रममा उनलाई गोली हानिएको मन्त्रालय र अल जजीराका पत्रकारहरूले जनाएका छन् ।
गम्भीर अवस्थामा रहेकी उनलाई अस्पताल लगिएको थियो । अल जजीराका अनुसार प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले अस्पतालमा उनलाई मृत घोषित गरिएको जनाएको छ । अल जजीराकी निदा इब्राहिमले अल जजीरालाई ‘उनको मृत्युको परिस्थिति स्पष्ट नभए पनि, घटनाको भिडियोहरूले अबु अक्लेहको टाउकोमा गोली लागेको देखाउँदछ’ भनेकी छन् । उनले अगाडी भनिन् ‘तपाईँले कल्पना गर्न सक्नुहुन्छ, यो उनीसँग काम गरिरहेका पत्रकारहरूका लागि स्तब्ध पूर्ण हो ।’
अबु अक्लेहले सन् २००० मा दोस्रो प्यालेस्टिनी इन्टिफादाको सुरुवातदेखि अल जजीरासँग काम गरिरहेको जनाइएको छ । इजरायली सेनाबाट यस विषयमा हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।