सोमबार , जेठ १४, २०८१

पवित्र पर्वतमा रुसी पर्यटकले निर्वस्त्र तस्बिर खिचेपछि…!

अगुङ पर्वत बालीद्वीपको सबैभन्दा अग्लो स्थान हो । हिन्दू धर्मावलम्बीहरू यो पर्वतमा देवताहरूको वास भएको विश्वास गर्छन् ।

image

बालीस्थित एउटा धार्मिक स्थलमा निर्वस्त्र भएको अभियोगमा इन्डोनेशियाले एक रुसी नागरिकलाई कारबाही गर्दै देश निकाला गर्न लागेको छ ।

आफ्नो सुरुवाल गोलीगाँठासम्म झारेर पवित्र अगुङ पर्वतमा उनले खिचाएको तस्बिर गत साता भाइरल भएको थियो ।

युरी नाम गरेका ती व्यक्तिले आफ्नो कार्यप्रति क्षमायाचना गरेका छन् । तर उनलाई छ महिनासम्म इन्डोनेशिया प्रवेश गर्न प्रतिबन्ध लगाइने भएको छ ।

बालीले हालैका वर्षहरूमा विदेशी पर्यटकहरूले गर्ने खराब आचरणविरुद्ध कडाइ गर्न थालेको छ ।

अगुङ पर्वत बालीद्वीपको सबैभन्दा अग्लो स्थान हो । हिन्दू धर्मावलम्बीहरू यो पर्वतमा देवताहरूको वास भएको विश्वास गर्छन् ।

एक स्थानीय अधिकारीले ती पर्यटकको आचरण “अक्षम्य” भएको बताए ।

“उनले मूल्य र मान्यताहरू उल्लङ्घन गरेका छन् र हाम्रो संस्कृतिप्रति कुनै सम्मान देखाएका छैनन्,” बालीस्थित कानुन र मानव अधिकार कार्यालयका प्रमुख एन्गिया नापिटुपुलुलले जाकार्ता पोस्टसँग भने ।

अपवित्र भएको पर्वत ‘चोख्याउन’ अनुष्ठान

रुसी भाषामा राखिएको भिडिओमा युरीले भनेका छन्, “मेरो गतिविधि क्षमायोग्य थिएन । जे भयो त्यो मेरो व्यक्तिगत लापरबाहीका कारण भएको हो ।”

पछि उनी उक्त पर्वतलाई “चोख्याउन” स्थानीयवासीले आयोजना गरेको कार्यक्रममा पनि सहभागी भए । उक्त पर्वतमा त्यस्तो गतिविधि भएपछि शुद्धीकरणका लागि त्यस्तो अनुष्ठान आयोजना गर्ने गरेका छन् ।

बालीस्थित रुसका मानार्थ वाणिज्यदूत विजयले सीएनएन इन्डोनेशियासँग ती पर्यटक “बहुलट्ठी” भएको र उनलाई निष्कासन गर्ने निर्णय उचित भएको प्रतिक्रिया दिएका छन् ।

कैयौँ स्थानीयवासीले पनि उनलाई निष्कासन गर्ने निर्णयको समर्थन गरेका छन् ।

कामुक क्रियाकलाप पनि

बालीका बासिन्दाहरूले अगुङलाई पवित्र पर्वत मान्ने गरेका छन् ।

इन्डोनेशियामा यस्तो घटना भएको यो पहिलो पटक चाहिँ होइन ।

मध्यबालीको बतुर पर्वतमा निर्वस्त्र नाच्दै गरेको भिडिओ सार्वजनिक गरेपछि गत वर्ष क्यानडाली अभिनेता जेफ्री क्रेगनलाई पनि इन्डोनेशियाबाट निष्कासन गरिएको थियो ।

त्यसअघि सन् २०२१ मा रुसी जोडीले बतुर पर्वतमै यौन क्रियाकलाप गरिरहेको तीन मिनेट लामो भिडिओ बाहिरिएपछि ठूलो आक्रोश पैदा भएको थियो ।

मङ्गलवार एक वरिष्ठ उच्च अध्यागमन अधिकारीलाई गैरकानुनी गतिविधिमा संलग्न विदेशी नागरिकहरूलाई कारबाही गर्न निर्देशन दिइएको जाकार्ता पोस्टले जनाएको छ ।

ट्राफिक नियम उल्लङ्घनका कैयौँ घटनाहरू देखिएको भन्दै यहाँको प्रशासनले बाली क्षेत्रमा विदेशी पर्यटकहरूलाई मोटरसाइकल प्रयोगमा प्रतिबन्ध लगाउने योजना अघि सारेका छन् ।

कडाइ

बालीका गभर्नर आई वायन कोस्टरले रुस र युक्रेनका पर्यटकहरूलाई दिइँदै आएको अन-अराइभल भिसाको सुविधा खारेज गर्ने योजना अघि सारेका छन् ।

दुई देशबीच जारी युद्धबीच “बालीमा ओइरिएका” दुवै देशका पर्यटकहरूले प्रायः स्थानीय नियम नमान्ने गरेको आरोप छ ।

बालीको प्रान्तीय प्रशासनले यो टापुका पर्वतहरूमा जाने पर्यटकहरू समेत कम गर्ने प्रयास गरिरहेको छ । उनीहरूले अत्यधिक पर्यटक भएको भन्दै यस्तो योजना अघि सारेका छन् ।

पर्यटनलाई नै प्रभावित गर्न सक्ने कडा नियमप्रति स्थानीयहरू भने चिन्तित छन् ।

कोभिड महामारी सुरु हुनुअघिसम्म यो देशको कुल गार्हस्थ्य उत्पादनको ६० प्रतिशत पर्यटनले धानेको थियो ।

प्रादेशिक तथ्याङ्क कार्यालयका अनुसार यहाँ सबैभन्दा बढी विदेशी पर्यटक अस्ट्रेलियाबाट आउँछन् ।

सन् २०२३ को ज्यानुअरीमा मात्रै ९१,००० अस्ट्रेलियालीहरू बाली पुगेका थिए ।

यो प्रान्तमा दोस्रो धेरै पर्यटक रुसबाट पुग्ने गरेका छन् ।

ज्यानुअरीमा २२,००० रुसी बाली पुगेको उक्त विवरणमा उल्लेख छ ।

-बीबीसी

सम्बन्धित समाचार