– हिमाल खतिवडा
अधिकांश चुनावमा ठुलो सङ्ख्यामा मानिसहरू देशको अवस्थाप्रति आक्रोश व्यक्त गर्छन् । चलिलरेका पार्टी र संयन्त्रभन्दा नयाँ केही खोज्छन् । यस्तो माहौलबाट कोही न कोही “असल” मान्छे उत्पन्न हुने गर्छन् । “सब दुःख हरण गर्ने असल मान्छे आयो!”, “अरू त त्यस्तै हो, यो अलि फरक छ” जस्ता हल्ला व्याप्त हुन्छन् । सतहमा हेर्दा लगभग हरेक जसो चुनावमा आउने यस्ता असल मान्छेहरू उस्तै उस्तै नै हुने गर्छन् । यसो भनौँ, ती जसले यो हल्ला कमाउन सफल हुन्छन्, सामान्यतया ती ३०-४० वर्षका मध्यम वर्गीय पुरुष हुन्छन् ।
यस्ता उम्मेदवारमध्ये केही विद्यमान पार्टी भित्रैबाट आउँछन् भने अधिकांश उम्मेदवार “स्वतन्त्र” को ब्रान्डिङ सहित आउँछन् । धेरैजसो समय यस्ता मानिसहरूले बोल्ने कुराको सार, “मलाई जिताउनु, किनभने म असल छु, र अरू खराब छन्” भन्ने नै हुन्छ । यस्तो अवसरहरू व्यक्तिगत लाभका लागि प्रयोग हुन्छन् । धेरैको स्वतन्त्र उम्मेदवारी आफूसँग सिञ्चित थोरै सामाजिक पुँजीको आडमा कुनै सङ्गठित पहल नगरेरै राजनीतिको टुप्पोबाट पलाउने प्रयत्न साबित भइरहेका हुन्छन् । हामी यस लेखमा यो लेख भरि यस्ता ‘असल’ उम्मेद्वार हरूको नियतमाथि शङ्का गर्नेछैनौँ । यस्ता उम्मेदवारहरू हाम्रो दैनिक समस्याहरूको हल लिएर पो आउलान् कि भन्ने आशा राख्नु पर्ने अवस्था किन आयो ? के यो हामी बाँचिरहेका व्यवस्था र यसले अनुकूलन गरिरहेको तन्त्रमा समस्या छ भन्ने कुराको सरल प्रतिबिम्ब होइन र ?
यस लेख मूलतः तीन वटा कुरामा केन्द्रित हुनेछ ।
पहिलो, हाम्रा आधारभूत समस्याको हल गर्नका लागी किन कुनै “असल” व्यक्तिको प्रतीक्षामा रहिरहनुपर्ने अवस्था छ ? यस्तो अवस्था हुनु के सही अर्थमा लोकको वा जनताको तन्त्र हो ?
दोस्रो, के कुनै व्यक्ति असल र खराब हुने कुरा उसका वरिपरिका परिस्थितिहरूबाट निरपेक्ष हुन सक्छ ? त्यस्तो हुन सक्दैन भने, समान परिस्थिति व्यक्तिको फेरबदल हुने कुराको अर्थ कति छ ?
तेस्रो, हाम्रो समस्या हल गर्न कोही असल व्यक्तिबाट हुन्छ कि आफ्नै सचेत प्रयत्नबाट ?
६२\६३ पछि नेपाली जनताले लोकतन्त्र पाए भनियो । लोकतन्त्रको सार भनेको शासन जनताको हातमा हुनु हो । तर आज केही मुट्ठीभर मानिसका हातमा मुलुकको वास्तविक शासन केन्द्रित भएको छ । यो अवस्था नेपालको मात्र नभएर विश्वका अधिकांश राज्यको अवस्था सारमा यस्तै छ । लोकतन्त्र सबैभन्दा बढी बिक्री हुन्छ र सबैभन्दा कम अभ्यास हुन्छ । आममानिसले गर्ने राजनैतिक काम भनेको भोट हाल्ने मात्र हो भन्ने मतमा उल्लेख्य सहभागिता भेटिन्छ । राजनीति केही विशिष्ट गुण बोकेका मानिसहरूको काम हो, ठुला पार्टीहरूको ठुला नेताले गर्न काम राजनीति हो भन्ने भाव हामी जताततै भेट्न सक्छौ ।
अहिले काठमाडौँको मेयरका उम्मेदवार बालेन शाहले बारम्बार यस्तै तर्क राखिरहेका छन् । उनको तर्क छ, हाम्रो समस्याहरू हल नहुनुको कारण राजनैतिक पार्टीहरूले कार्यकर्ता र नेताको रुचि नगरवासीको रुचि भन्दा माथि राखेर हो, र उनी पार्टीमा छैनन्, त्यसैले नगरवासीको रुचिको काम गर्छन् । उनको कुरा अनुसार हाम्रो समस्याहरू सङ्गठित भएर राजनीति गर्ने पार्टीहरूले हल गर्दैनन्, र उनी जानेका-बिझेका असल मान्छेले गर्नेछन् भन्ने भाव आउँछ । यस्तै मतहरूमध्ये अर्को मत पनि आइरहन्छ, जनप्रतिनिधिले कुनै निजी कम्पनीको बडाहाकिम शैलीमा काम गरिदियो भने त्यसलाई सफल, सबल, र उन्नत मान्ने । “स्वतन्त्र” उम्मेदवारहरूका यस्ता मत “प्रतिनिधि” भनेको के हो भन्ने कुराको बुझाइमा भएको बेवकुफी बाहेक अरू केही हुन सक्दैन ।
ल एक छिनलाई मानौँ – राजनैतिक पार्टीहरूको नियत नै खराब छ । यही आधार बालेन र अरू बालेन जस्ता स्वतन्त्र उम्मेदवारहरूको चाहिँ नियत ठिक छ भन्ने प्रमाण हो ? सबैलाई आफ्नो नियत ठिक लाग्छ नै । यसरी हरेक चोटि कसैको नियतमा मात्र भर पर्नुभन्दा हाम्रा प्रतिनिधिहरू कसरी छानिन्छन्, जितिसकेपछि के-कस्ता जिम्मेवारी पाउँछन्, ती जिम्मेवारी पुरा गर्न असमर्थ भए गर्ने के हो र जिती सकेपछि उनीहरू बहुसङ्ख्यक जनताको इच्छालाई कार्यान्वयनमा ल्याउँछन् भन्ने ग्यारेन्टी कसरी गर्ने भन्ने सोच्नु जरुरी देखिन्छ । स्वतन्त्र हुनु भनेको यहीँको वर्चस्व भएको विचारधारा र मूल्यमान्यताबाट मुक्त हुनु होइन । यही समाजका केही हिस्सा टाउकोमा बोकेर “म जस्तो असल” को धाक लगाउनु मूर्खता नभए के त ? बरु सङ्गठित रूपमा काम गर्दा धेरै मानिसको ज्ञान, अनुभव र आवश्यकताबाट तिखारिएका विचारहरू प्रयोगमा ल्याउन सकिन्छ । स्वतन्त्र उम्मेदवारहरूमध्ये धेरै दिशाहीन देखिन्छन् । एउटा व्यक्तिको बुद्धिभन्दा धेरै मानिसहरूबाट तिखारिएको विचारले हामीलाई उन्नत बनाउन सक्छ । बालेन र अरू ‘असल’ उम्मेदवारहरूमाथि सबै आस थुपारेर उनीहरूलाई र आफैँलाई दुःख दिनु भन्दा बरु हाम्रो शासन गर्ने तरिका साँच्चै लोकतान्त्रिक र साँच्चै जनताको हातमा कसरी पुग्छ भन्नेमा पो ध्यान दिने कि ?
बहुसङ्ख्यक मानिसको समस्याहरू हल नहुनुको मुख्य कारण हाम्रा प्रतिनिधिहरूको नियत ठिक नभएर होइन, बरु समग्र व्यवस्था नै हाम्रा समस्याहरू हल गर्न सक्षम नबनाइएका कारण हो । हाम्रो वास्तविक शासनका जिम्मा हामीले सीमित मानिसहरूका हातमा दिएका छौँ, जसले ‘प्रतिनिधि’ छान्ने व्यवस्थाको सीमिततालाई प्रस्ट पार्दै नयाँ व्यवस्थाको विकल्प अत्यावश्यकतालाई थप जोडबल गर्छ । यो कुरालाई बुझ्न नसक्दा हामी हरेक चुनावमा र त्यसपछिका हरेक दिन धोका खाइरहेका छौँ। त्यसैले हाम्रो जीवनको साँचो कहिले विष्णुको अवतार आउला र दिउँला भनेर कुर्नुको साटो आफ्नो समस्या आफैँ हल गर्न सकिने खालको राजनैतिक र आर्थिक व्यवस्था बनाउने कुरामा ध्यान केन्द्रित गर्नु जरुरी छ ।
असल हुनु भनेको के हो ? कुनै आन्दोलनमा ढुङ्गा हान्नेहरू कुनै समूहको लागि असल हुन्छन् भने उनीहरूलाई डन्डा हान्ने प्रहरी अर्को कुनै समूहका लागि असल हुन्छन् । ‘नगर बासी’ वा ‘जनता’ जस्ता अमूर्त शब्दको हित गर्छु भन्दा कसको हित भनेको हो ? केही नगरवासीलाई कुनै खाली ठाउँमा पार्क भए हुने जस्तो लागेको होला, केही नगरवासीलाई त्यति ठाउँमा घरबारविहीन मानिसको लागि राति सुत्ने ठाउँ भए हुने जस्तो लागेको होला । यी दुई वर्गमध्ये ‘असल’ को प्रति असल हो?
‘विकासप्रेमी उम्मेदवार’ भनेर पोस्टर बनाउनेहरूले भनेको विकास कस्तो हो, कसको हो ? साहुहरूको लागि कि मजदुरहरूको लागि ? संस्कृति बचाउँछु भन्ने उम्मेदवारले कसको र कुन कुन संस्कृतिलाई भनेका हुन् ? मानिस-मानिस बराबर हुन् भन्ने संस्कृति कि दलितहरू मन्दिर पस्दा हत्या गर्ने संस्कृति ? श्रम बेच्नेका लागी र अरूको श्रमबाट नाफा लिनेहरूका लागि असल नीति फरक हुन्छ, यस्ता उम्मेदवारहरूको असल नीति कस्तो हो ? पितृसत्तालाई समस्या नै नमान्नेहरूको लागि र आममहिलाहरूको लागि ठिक नीति फरक हुन्छ, यसमा कसको पक्षमा हो, को असल हो ? दुवै पक्षका आवश्यकता एकैसाथ पुरा हुन सक्दैनन् । ‘म नेपालीको पक्षमा हो’ भन्ने जस्तो अमूर्त कुरा गर्न त सकिन्छ, तर त्यसको अर्थ केही हुँदैन । हुन्छ भने एउटै हुन्छ- त्यहाँ झूटको खेती हुन्छ।
हाम्रा अहिलेका प्रतिनिधिहरूको चुनाव लड्दा हुने खर्च हेर्दा पनि यस्ता प्रतिनिधिहरू कुन वर्गका छन् भन्ने देखिन्छ । उम्मेदवारहरूको नाम र प्रचार प्रसारमा के के भनेका छन् भन्ने कुरा हेर्दा मात्र पनि कुन समुदाय, कुन लिङ्ग, कुन जातिको वर्चस्व छ भन्ने देखिन्छ । यति खर्च गरेर चुनाव लड्नु पर्ने भएपछि, हाम्रा पार्टीहरू र उम्मेदवारहरू कसको हुन्छन् त ? चहलपहलमा आएका धनी असलहरू पनि साहुहरूको रुचिभन्दा कति बाहिर जान सक्छन् होला ?
यो व्यवस्था हाम्रा कतिपय समस्याहरूको हल गर्न असफल भइसकेको छ । उदाहरणका लागि, काठमाडौंको यातायातको समस्या हेरौँ । यो समस्या हल गर्न काठमाडौँको मेयरको ठिक नियत मात्रै आवश्यक पर्ने हो ? त्यसो त पक्कै होइन । यहाँ चलिरहेका सवारीसाधन, त्यसमा खपत हुने पेट्रोलियम पदार्थ, साहुहरूको सिन्डिकेट, यसको वातावरणमा पर्ने असर लगायतका सबै सबै कुरा सँग जुध्नु पर्ने हुन्छ । र यी सबै कुरा सँगै राख्दा समस्याको हल आजको हाम्रो उत्पादन-उपभोग सम्बन्ध जस्तो छ, त्यसकै परिधिभित्र रहेर त कदाचित सम्भव छैन । यसरी घोत्लिने हो भने हामी हाम्रो समस्याको जरो आर्थिक र राजनैतिक व्यवस्थामा अडिएको छ र त्यसको समाधान पनि यसमै खोज्न सक्नुपर्छ भन्ने स्पष्ट देखिन्छ ।
माथिकै उदाहरण हेर्ने हो भने हाम्रो यातायात जस्तो छ, त्यस्तो हुनुले कसलाई नाफा हुन्छ ? यात्रु र यातायात मजदुरहरू दुवै समस्यामा छन्, तर पनि यो समस्या हल हुनबाट के कुराले रोकेको छ होला ? लोकतन्त्रमा त यति धेरै यात्रु र मजदुरको समस्या सजिलै हल हुनुपर्थ्यो, तर के कुराले, अझै भन्दा कसको फाइदाका लागि यो भएको छैन ?
अर्को कुरा, मानौँ कोही निकै “असल”, “सर्वगुण सम्पन्न”, “स्वतन्त्र” उम्मेदवार, पालिका प्रमुखमा निर्वाचित भए । त्यस्तो भइहालेको अवस्थामा पनि केन्द्रीय राज्यसत्ताको सिधा हस्तक्षेप र नोकरशाही प्रशासन संयन्त्रको बिचमा उसले गर्न सक्ने काम कति सीमित होलान् ? यस्ता संयन्त्रहरू जसको हातमा शासनका वास्तविक बागडोर छ, त्यो त जस्ताको त्यस्तै रहन्छ । त्यसैले बहुसङ्ख्यक मानिसको आजको समस्या हल गर्न सङ्गठित पहलमार्फत हाम्रा समस्याहरू आफैँ हल गर्ने र सही अर्थमा जनताको शासन हुने व्यवस्था नबनाउने हो भने समाधान भेट्नु दिवास्वप्न तुल्य बन्न सक्छ ।
हामी जस्तो राजनैतिक र आर्थिक बनोटमा बाँचिरहेका छौँ, त्यो लोकतन्त्र नभएर “लोकतन्त्र जस्तो” मात्र छ । यो बहुसङ्ख्यक मानिसहरूको शासन होइन । त्यसमाथि पनि मजदुर-किसानको र उत्पीडित समूहको त झन् होइन । यस्तो व्यवस्थामा ‘असल’ उम्मेदवारहरूले भनेको कुरा कत्ति मात्र हो भने, व्यवस्था ठिक छ, चलाउने मान्छे ठिक भएन र त्यो ठिक ऊ स्वयम् हो ।
हाम्रा अजका समस्या, यही आर्थिक र राजनैतिक व्यवस्थामा रहेर केही सुधार त गर्न सकिएला । त्यो पनि सामूहिक पहलबाट, कोही व्यक्तिको मुख ताकेर होइन । त्यसैले साधारण मानिसले राजनीति नगर्ने होइन । ठिक विचार भएको बहुसङ्ख्यक मानिसको हित हुने गरी, आफ्नो समस्या आफैँ हल गर्ने गरी सङ्गठित हुने राजनीति गर्न जरुरी छ । विद्यार्थीहरूले शिक्षालाई अहिलेको आवश्यकता अनुरूप बनाउन सङ्गठित पहल लिने, स्वास्थ्य सेवालाई क्षमता अनुसार नि:शुल्क र सहज बनाउने, सबै खालका उत्पीडन विरुद्ध सङ्घर्ष गर्न र मान्छे-मान्छे बिचको सम्बन्धमा भेदभावको भावना उन्मुलन हुने अर्थ-राजनैतिक व्यवस्था बनाउन सामूहिक पहल गर्न जरुरी छ ।