शुक्रबार , जेठ ८, २०८३

जहाँ दलितहरू एकजुट भएर वडाका सबै पद जिते

एक छाक र एक सरो लाउन-खान कठिन दलित समुदायलाई काल मार्क्स र माओका वाद, सिद्धान्त थोपरेर आहुतिको पिछा गर्ने सङ्ख्या बहुत कम छ र यो सङ्ख्यामा उच्च शिक्षा हासिल गरेका र सबल घरानाका सहरिया दलितहरू छन् ।

image

Photo by: Himal Darpan

– पुछारघरे

फेसबुक स्क्रोल गर्दै जाँदा टक्क अडिएँ ।’दलितहरू एकजुट भएर वडाका सबै पद जिते’ भन्ने हेडलाइन पढेपछि मनमा यति ठुलो हर्ष र शान्ति छायो कि कुरै नगरौँ । खुसी भएँ, रमाएँ । एक-सोच, एक-मत, एक-धारणा र एकता भए के नै असम्भव रहेछ र ?

एक, आफूले जातीय विभेद र छुवाछुत के हो बुझेदेखि नै सोच पलाएको हो । दोस्रो, समय प्रविधिको अडेसमा अध्ययन गर्दै जाँदा र सञ्जालका विभिन्न बहसमा सामेल हुँदादेखि नै भन्ने गर्थेँ । “सबैभन्दा पहिला दलितहरू बिचको एकता आवश्यक छ । त्यसपछि यस समुदाय र वर्गलाई शैक्षिक र आर्थिक पाटोमा ध्यान दिनुपर्छ । एक दिन अवश्य दलित मुक्ति निश्चित छ ।”

मेरो यो सपनाले सार्थकता पायो यसपालिको चुनावी नतिजाले । समग्र दलितको मुक्ति भन्नै नमिले पनि यो सुरुवात हो परिवर्तनको । अहिलेका हरेक नागरिक परिवर्तनको पक्षमा छन् । आवाजको पक्षमा छन् । आफ्नो सपना पूरा हुँदा को नरमाउला र ! म रमाएँ । हो, म रमाएँ ।

समाचार रहेछ, ‘जुम्ला कनकासुन्दरी गाउँपालिका ८ का स्वतन्त्र उम्मेदवार धनबहादुर कामीले २ सय ८८ मत ल्याएर वडाध्यक्षमा जितेका छन् ।’ वडाध्यक्षमा चुनाव जितेका धनबहादुर कामी भने एकतामा बल हुने प्रमाणित भएको बताउँछन्  । ‘यो पटक एकता नै बल हो भन्ने प्रमाणित गरेका छौँ  । दलितको हरेक घरको विकासको अगुवा त बन्छौँ नै, गैरदलितको पनि गुनासा सम्बोधन गरेर देखाउने अठोट गरेका छौँ,’ उनले भने ।

२०५६ सालको चुनावको प्रचारप्रसार हुँदा गाउँ घरका भित्ता सफा ढुङ्गा र पर्खालहरूमा दलित मुक्ति, मुक्ति समाज, दलित मुक्ति मोर्चा, दलित एकताजस्ता दलित निकट विविध पार्टी, सङ्गठन र मोर्चाहरूका नारा पढेँ र सुनेँ । तर पनि तत्कालिन् मन्त्रीसमेत रहेका प्रकाश गुरुङ नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ बाट विजयी भए । म त्यति बेला कक्षा ६ मा पढ्थेँ । आमालाई पछ्याएर मतदान स्थल घान्द्रुक मेश्रम बराहको प्राङ्गण पुगेको सम्झना ताजा छ ।

त्यसयता दलित र समाजमा दलित वर्गको स्थानबारे थप जान्न चासो बढ्दै गयो । समाजलाई हजार वर्षदेखि विक्षिप्त बनाएको  विभेद र छुवाछुत आफूले पनि मज्जाले अनुभूत गरेँ, आफूलाई को हुँ भन्ने बारे खोज्न विभिन्न प्रगतिशील लेख रचनाद्वारा निखार्दै लगेँ । विस्तारै केही स्थानहरूमा जहाँ दलितहरूको उपस्थिति मुस्किल मानिन्छ, त्यस्ता स्थानहरूमा आफूलाई खडा गरेँ । अन्य समुदायका साथीहरूको साथले आत्मबल मिल्दै गयो ।

प्रिय साथी रित्ज बराइली अहिले अमेरिकामा छन् । विशेष गरी कृष्ण विश्वकर्मा गुरु लगायतका केही साथीहरू सञ्जालमा २०१२ ताका खुब ‘एक्टिभ’ थियौँ । जातीय छुवाछुत र विभेदका बारेमा निक्कै चर्का बहस गर्थ्यौँ । भाषा, संस्कारका खोज गर्थ्यौँ ।

त्यति बेला दलितहरूको एउटै माग चौतर्फी देखिन्थ्यो, साधा माग थियो- ‘सार्वजनिक स्थल र मन्दिर  प्रवेश पाउनुपर्छ ।’ मन्दिर पस्न पाउनु नै दलितहरूका लागि मुक्तिको बाटो हो जस्तै थियो । गाउँमै पनि स्कुल, क्लब र स्थानीय स्तरमा काम गर्दादेखि नै म अगाडि आउनुपर्छ, हामी र हाम्रा समुदायको अग्रसरता उपस्थिति हुनुपर्छ लागिरहन्थ्यो । उपस्थिति देखाइयो कति ठाउँ र अनुभव गरियो कि एक, हाम्रो समुदाय र वर्गका मानिसमा सार्वजनिक चासो र महत्त्वका विषयमा एकदमै कम रुचि र कम उपस्थिति राख्छन् । कारण, सामन्ती व्यवस्थाबाट प्रताडित डर,  त्रास र धम्की बाँकी थियो ।  अर्को, निर्णायक तहमा शिलो खोज्दा पनि नभेटिने दलित प्रतिनिधि । निर्णायकमा आफ्नो समुदाय नभइदिँदा पनि प्रायजसो विभिन्न घटनाको दोषी र गलत साबित भएर सजाए भोग्नु परिरहेको थियो, दलित समुदायले ।

जब दलित समुदायसँग सम्बन्धित घटनाहरू घट्छन् र बाहिरिन्छन्, तब सञ्जाल र राष्ट्रिय स्तरका सञ्चार माध्यमहरू तात्छन् । दलित र गैरदलित गरी आ-आफ्ना खेमामा छुटिन्छन् । आरोप-प्रत्यारोप, गालीगलौजको वर्षा हुन्छ । गैरदलित साथीहरूले कतिपय घटनाको जड ‘जात व्यवस्था’ हो भनेर नबुझिदिने, नमान्दिने वा अझै पनि स्विकार्नै चाहन्नन् । घटनालाई बङ्गाउने गर्दछन् । यसरी दलित र गैरदलित बिचको ध्रुव्रिकृत आक्रोश, राजनीतिक र सङ्गठनात्मक मिलेमतोले समस्या र घटना ओझेल पर्ने भइरह्यो । घटनामाथि उठेका प्रश्नहरू निदानभन्दा पनि ढाकछोपमा लाग्न थालेपछि यो बुझ्नु पर्‍यो कि ती समाज र व्यक्तिहरू प्रगतिशील विचार अपनाउन सकिरहेकै छैनन् ।

पहिलो समस्या, ‘यो समस्या सम्पूर्ण नेपालीको हो भनेर हामीले स्विकारेनौँ कहिल्यै ।’ शास्त्रत: “वसुधैव कुटुम्बकम्” भनिए पनि दलितहरूले तेस्रो दर्जामा रहेर बाँच्नु परिरहेको छ । जनयुद्धपछि मुलुक गणतन्त्र र सङ्घीय प्रणालीमा गयो । कोटा र आरक्षणका केही नमुना योजनाहरूको प्रतिफल स्वरूप अलिकति राहत महसुस गरेकै छन्, दलित समुदायले । समयसँगै स्वयम् उनीहरू प्रविधिसँग नजिक भए । परिस्थित, बाध्यता जे भनौँ, देश विदेश पनि ऋण धनमा पुगे । आफ्नै कोसिसले अध्ययनमा रुचिर चासो राख्न थाले र अघि बढ्दै छन् ।

अध्ययन र अनुभूतिले विचारको निर्माण हुन थाल्यो । विचार राख्न थाले,  बोल्न थाले । एक, विचार र आवाज पनि दलित र गैरदलितबिच आरोप-प्रत्यारोपको दोहोरीमै सीमित रहन थाल्यो । जातीय श्रेष्ठताको अहम्‌ता र सत्तामोह सङ्गठनात्मक दबाबबाट उठ्न सकेनन् । दोस्रो, दलितनिकट सङ्घ, संस्था, पार्टी, अभियन्ता, लेखक, बुद्धिजीवीहरूले पनि सम्पूर्ण दलित समुदायलाई एक सूत्रमा बाँध्न सकेनन् । दलित मुक्तिभन्दा माथि व्यक्तिगत स्वार्थमा लिप्त रहेर आआफ्ना आस्था,  विचार र इच्छामा विभाजित हुँदै ध्रुविकृत भइरहे ।

राजनीतिक र धार्मिक आस्था, रीतिरिवाज, चलन अनुसार जे-जे भए पनि पहिलो सुनुवाइ ‘हामी पनि मन्दिर पस्न पाउनुपर्छ’को हुनुपर्ने हो । बागलुङका सर्वजीत् विश्वकर्मा, जो दलित आन्दोलनका संस्थापक सरह हुन् । उनको र समग्र दलित आन्दोलनको शीर्ष माग पनि हो । यस मागको सुनुवाइ हुँदा पनि ‘हामी सबै एक हौँ’ भन्ने भावना अङ्कुरण हुने थियो सायद । तर, यो नारा वा माग हिन्दु रूढिवादी समाजमा तेस्रो दर्जाको नागरिक सरह जिइरहेका आम पीडितहरूले अनुभूतिसम्म गर्न पाएनन्, बुझ्न पाएनन् । देश एक्कासि धर्म निरपेक्षतिर लाग्यो । मेरो मनसाय र विचार धर्मनिरपेक्ष गलत थियो र हो भन्ने चैँ कदापि हैन ।

अझै पनि चलन, संस्कार, रितिरिवाजका आधारमा दलितहरू हिन्दु धर्मकै निकटतम रही जीवनयापन गरिरहेका छन् । तर, दलित जागरण तथा सामाजिक अभियन्ता, पार्टी, सङ्गठन, लेखक बुद्धिजीवीहरू आ-आफ्ना खेमासहित आफूहरूलाई प्रगतिशील कम्युनिस्ट साबित गर्न माओ र काल मार्क्सको प्रचार र अनुसरणमा अत्यधिक लागिरहे । धर्मलाई अफिम भन्दै नास्तिक अभियानतिर लागे । भर्खर मन्दिर पस्न पाउँ भनी बोल्न थालेका र जागरणमा निस्किएका दलितहरू एक्कासि अन्योलमा परे । अपनत्व, बन्धुत्व र आत्मिकता खोज्दा एक्कासि शत्रु नै बन्नुपर्नेमा पुगे । त्यसैले अपहेलित नै सही धर्मप्रति आस्थावानहरू सहमत हुन सकेनन् । पछि हटे ।

यो अन्यौलताको चुली सगरमाथाजस्तो छ । एक,  सर्वजित् विश्वकर्मालाई पछ्याएर हिन्दु धर्म स्वीकार गर्ने र त्यसभित्रको कुसंस्कारको विरुद्धमा लाग्ने । दोस्रो, डा. मित्र परियारजस्ता अभियन्ताको अनुसरणमा लागेर दलितहरूले धर्म नै परिवर्तन गरेर क्रिश्चियन हुने । तेस्रो, आहुति लगायत अरूका अनुसरणमा कम्युनिजम र  वैज्ञानिक समाजवादतिर लागेर सम्पूर्ण रूपमा धर्म नै त्याग्ने ।

एक, यी तीन विषयले नै दलितभित्रै पनि तह तथा खेमा सिर्जना गरेको छ । यी तिनै खेमाहरूमा चर्का मतभेदहरू सिर्जना भएका छन् । आरोप र दोषहरू लगाइएका छन् । दोस्रो,  बाहुनवाद अर्थात् जात व्यवस्था अन्तरगतको ठुलो र सानो जातको बाछिटा दलितभित्रै एक आपसमा जिउँदो छ । यसैले पनि साठी लाखको सङ्ख्यामा रहेका दलितहरू विभिन्न कित्तामा कित्ताकाट हुँदा नश्लिए र एकल जातीय राज्यसत्तामा आफूहरू कमजोर साबित भइरहेको छन् ।

यसरी एउटा समुदायमै विविध मत र धारणमा कित्ताकाट भएपछि कसरी कुनै निश्चित नश्ल, जात, धर्म विरुद्ध लडाइँ लड्न सकिएला र ? जबसम्म जनस्तर सामान्यभन्दा सामान्य कुराबाट मुक्ति वा गन्तव्यमा पुग्नका लागि ‘एक मत एक धारणा’ बनाउन सकिँदैन ।  हामी एक आफसमा  छिरोलिइरहनेछौँ ।

विचार, धारणा र आस्थाले हामी फरक पनि हौँला । यो पनि स्विकारौँ । तर, राज्य वा समाजमा समग्र दलितको मुक्ति ‘समानता एक मुद्दा हो । एक गोल हो । एक गन्तव्य हो । आ-आफ्नो विचारलाई स्थापित गराउन आफ्नै वर्ग र समुदायमा कित्ताकाट हुनुभन्दा पनि एकजुट भएर क्रमैसँग अगाडि बढ्नु सम्पूर्ण दलितको हित, भविष्य र जीत हो ।

भलै, धर्म अफिम नै सही नेपाली दलितहरूका जीवनशैली हिन्दु चलन र संस्कारसँग जकडिएको छ । अचेतन प्रतिस्पर्धा र देखासिखीको यो भिडमा स्वयम् कतिपय दलितहरू यस जीवनशैली र संस्कारबाट बाहिर निस्कन सकेका छैनन् । जानी-नजानी रूढिवादी संस्कारमै अपनत्व खोजी रहेका छन् भने उनीहरू कसरी तुरुन्तै धर्म अफिम हो भनेर स्वीकार्लान र !

यो त केवल केही शिक्षित सहरिया दलितहरूको उच्च आदर्श मात्रै हो, नेपालजस्तो परम्परागत रूढिवादी मुलुकका लागि । यसो भनिरहँदा उनीहरू गलत हुन् भन्ने मेरो मनसाय पनि हैन । गाडी नै नदेखेकालाई सयको स्पिडमा गाडी चलाउनु भनेजस्तो हो । कम्तीमा अगाडी बाटो पनि होस् । ग्राभेलवाला बाटोमा धुलो खेप्दै दशको स्पिडमा कुनापट्टि एक्लो हिँडिरहेका दलितहरू त्यही बाटोमा धुलोविहीन एकरूपमा हिँड्न चाहिरहेका भने अवश्य छन् ।

बाग्लुङका सर्वजित् विश्वकर्माका अनुसार हिन्दु धर्म, संस्कार अनुसरण गर्दै त्यही धर्मभित्रै अपनत्व र अधिकार खोज्ने र धर्मकै आडमा समान रहने भन्ने बिलकुल ग्रामीण तप्का एकातिर छ । अर्को,  हिन्दु धर्म त्याग्ने बित्तिकै समस्या समाधान हुन्छ भन्ने डा. मित्र परियारहरूको अभियानमा लाग्ने लालची र मौसमी तप्का पनि छ । अझै पनि एक छाक र एक सरो लाउन-खान कठिन दलित समुदायलाई काल मार्क्स र माओका वाद, सिद्धान्त थोपरेर आहुतिको पिछा गर्ने सङ्ख्या बहुत कम छ र यो सङ्ख्यामा उच्च शिक्षा हासिल गरेका र सबल घरानाका सहरिया दलितहरू छन् ।

तर, स्थानीय निर्वाचन २०७९को  स्थानको यी प्रतिनिधिका प्यानल यसरी ऐतिहासिक विजयी हुँदा सहरकेन्द्रित उच्च आदर्शवान् दलितहरूलाई नराम्रो सबक सिकाएका छन् । स्थानीय स्तरका स-साना समस्या समाधान छोडेर बाह्य मुद्दामा लीन हुँदा चुक्न परेको र समुदाय नै कमजोर साबित भएको तीतो यथार्थ महसुस गरेर, गरेनन् उनीहरूले ? एकातिर दलितको प्यानलै जीतमा छ भने अर्कोतिर बलिया लाग्ने पार्टी, सङ्गठनहरू यस चुनावमा सामेल नै भएनन् ।

उनीहरूले यो पनि सिकाए कि यसरी नै एकतामा जित हासिल गर्दै एक दिन अवश्य साठी लाख दलितको एकतासहित राज्यको निर्णायक तहमा पुगिन्छ तर एकाधको चलाखीपूर्ण सत्ताप्राप्तको अभिलाषामा एक्कासि अनेकौँ थरी वादको बोझले दलित मुक्ति केवल सरकारी तथा गैरसरकारी संस्थाहरूसँग मिलेमतोमा ‘भुँडी भर्ने’ अस्त्र मात्रै बनेको देखिन्छ ।

गाउँ-ठाउँका स्थानीयहरू मुक्तिको सास फेर्न चाहन्छन् र स-साना कुरामा एकता, समानता सहित मुक्तिको बाटोमा छन् तर, केन्द्रीय स्तरका आदर्शवान् नेताहरू ठुला भाषण र ठुला नारा रटेर दलित मुक्तिलाई बोलेजस्तो पनि गर्ने यथास्थानमा पनि राख्न चाहन्छन् । किनकि भुँडी भरिरहन पाइनेमा अभिसप्त छन् । मुद्दा हल भए त के विषयमा चर्किने ? भाषण दिने ? साँच्चिकै, मुक्ति त दूर सुदूर चाहन्छ । राजधानी केन्द्रित दलितहरू चैँ च्वास्स केही घटना भए माइतीघरमा दुई चार पुग्ने, विरोध गर्ने, फेरि सेटिङमा सामसुम हुने ! घटना भने जस्ताको त्यस्तै हुने चलन प्रशस्तै छ ।

सम्पूर्ण दलितहरूले यो बुझ्न जरुरी छ कि विरोध पनि माटै सुहाउँदो नै गर्नुपर्छ । माटो सुहाउँदो विरोधको प्रतिफल हो, उनीहरू विजयी । सिमेन्ट नै नदेखेकै दलितहरूले कङ्क्रिटको विरोध समयक्रमसँगै अवश्य गर्नेछन् । केही समय परिचित माटोमै दह्रो बनौँ ।

सम्बन्धित समाचार