काठमाडौं । बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय ३० हजार १ सय ३० मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई ७ हजार ५ सय ३३ मतान्तरले पराजित गरेका हुन् । पराजित बाबुराम भट्टराईले २२ हजार ५ सय ९७ मत ल्याएका थिए ।
यस्तै, उपप्रमुखमा एमालेकी उम्मेदवार सावित्रादेवी अर्याल २४ हजार ९ सय ४ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका उम्मेदवार चीनबहादुर गुरुङले १६ हजार ९ सय ८० मत ल्याएका छन् । निर्वाचन कार्यालयले अन्तिम परिणाम घोषणा गर्न बाँकी छ ।
यससँगै कांग्रेसले बुटवल उपमहानगरमा २ दशकअघिको साख फर्काएको छ । यसअघि ०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २३ सय मतान्तरले पराजित भएका पाण्डेले यसपटक अघिल्लोभन्दा तेब्बर बढी मतले जितेका हुन् ।
पाँचदलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले एमालेका बाबुराम भट्टराईलाई पराजित गरे । पाण्डेसँगै बुटवलमा कांग्रेसले बहुमत वडामा जित हासिल गरेको छ भने एमाले खुम्चिएको छ ।
बुटवलका १९ मध्ये कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नंं १०, ११, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।
बुटवल उपमहानगरमा कांग्रेसले २ दशकपछि एमालेबाट नेतृत्व फर्काउन सफल भएको छ । यसअघि बुटवलमा ०४९ सालमा भएको स्थानीय चुनावमा कांग्रेसका सूर्यप्रसाद प्रधान बुटवलका मेयर बनेका थिए ।
०५४ सालमा भएको स्थानीय चुनावमा प्रधान एमालेका भोजप्रसाद श्रेष्ठसँग पराजित भएका थिए ।