काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर १ स्थित कोटिला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दिप बहादुर बस्नेत विरुद्ध दुई लाख ५५ हजार रुपैयाँ विगो दाबी सहित भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।
बस्नेतले कोटिला सामुदायिक वन उपभोक्ता समूहको घुम्तिकोषबाट दिइएको ऋण रकम, कुलो तथा घोरेटो बाटो निर्माण रकम लगायत विभिन्न शीर्षकमा वन समूहको रकम हिनामिना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।
बस्नेतले घुम्तिकोष अन्तर्गत ऋण प्रवाह भएको रकम नगदै बुझी समूहको अभिलेखमा दाखिला नगरेको, समूहको नाममा रहेको बैंक खातामा समेत जम्मा नगरी दुई लाख ५५ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) मा उल्लेख भए अनुसार बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिमको कैद र जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम हिनामिना तथा हानिनोक्सानी भएको दुई लाख पचपन्न हजार रुपैयाँ विगोदाबी सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।