काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रघात गरेको बताएका छन् ।
मन्त्री शर्माले गत जेठ १४ गते राति अर्थमन्त्रालयमा असम्बन्धित व्यक्तिहरुको सहयोगमा राजस्वको दर परिवर्तन गरेको समाचार आज प्रकाशित अन्नपूर्ण पोस्टमार्फत् सार्वजनिक भएपछि भट्टराईले प्रतिनिधि सभामा आपत्ति जनाएका हुन् । उनले सोमबारको बैठकमा विशेष समय लिएर बोलेका थिए ।
‘बजेट निर्माणको हाम्रो एउटा प्रक्रिया छ। बजेट निर्माणको झन्डै एक महिनाअगाडिदेखि बजेट शाखामा र अर्थमन्त्रालयमा कुनै पनि मानिसलाई प्रवेश दिइदैन । माननीय सदस्यहरुलाई पनि प्रवेश दिइदैन । त्यस्तो ठाउँमा यस्ता काम हुन्छन् भने यो राष्ट्रका नाममा खाएको सपथको पनि खिलाप हो । यो जनघात मात्रै होइन, राष्ट्रघात पनि हो’, भट्टराईले भने ।
भट्टराईले अर्थमन्त्रीले संसद्मा स्पष्टीकरण दिनुपर्ने बताए । ‘अर्थमन्त्रीको मात्रै सवाल होइन । प्रधानमन्त्रीको भनाइ के छ ? सत्तारुढ दलका नेताहरु र सिंगो संसद्को ध्यानाकर्षण हुनुपर्छ । प्रधानमन्त्रीको पनि ध्यानाकर्षण हुनुपर्छ’, उनले भने ।