व्यक्तिगत रुपमा म सदनमा के भन्न चाहन्छु भने विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था चाहीँ कुनै पनि स्ट्यान्डर्डले देखाउँदैन । यसले बरु अपराध बढाउने काम भइराछ ।
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द प्रसाद शर्मा (कोइराला)ले विवाहका लागि २० वर्षे प्रावधान सच्याउन सरकार तयार रहेको बताएका छन् । आज प्रतिनिधिसभामा कानुन मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री शर्माले यसका लागि अध्ययन सुरु गरिसकेको बताएका हुन् ।
विवाहका लागि २० वर्ष कुर्नु पर्ने अवस्था कुनै पनि स्ट्यान्डर्डले नदेखाउने उनको भनाइ थियो । यो व्यवस्थाले अपराध बढाउने काम भइरहेको उनको दाबी छ ।
उनले भने, ‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, विवाह गर्न २० वर्ष कुर्नुपर्छ । व्यक्तिगत रुपमा म सदनमा के भन्न चाहन्छु भने विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था चाहीँ कुनै पनि स्ट्यान्डर्डले देखाउँदैन । यसले बरु अपराध बढाउने काम भइराछ । बाल विवाहको सजाय भइराछ । त्यसैले यसमा रिभ्यू गर्नुपर्छ र कानुन मन्त्रालयले यसमा रिभ्यु थालिसकेको व्यहोरा म अनुरोध गर्न चाहन्छु,’ उनले भने ।