शुक्रबार , साउन २२, २०८३

मनोमन्तव्य : समयको प्रश्नसँग अस्तित्वको साझेदारी

मुक्त उसले मुक्ति खोज्दै हिँड्यो र बन्दी भयो ! चाहिएको प्रकाश खोज्दै हिँड्दा सायद ! महसुस भएको छ उसलाई "असत्य सत्यको व्याख्यान हो ।

image

~। मन्तव्य ।~

“के लेखौँ ?”- सोच्दै छु ।
यो हप्ताको शृङ्खलाको लागि आफ्नै रचना प्रस्तुत गर्दैछु ।

“समयको प्रश्नसँग अस्तित्वको साझेदारी”
सङ्कलनको नाम जुरेको छ ।

आफ्नो रचनाको बारेमा रचनाकारले नबोलेको राम्रो
– बुझेको र सिकेको कुरा ।
लेख्नुको पृष्ठभूमि त झनै भन्नू भएन ! कम्तीमा म भन्ने छैन ।

लेखौँ के त ? “कविताको बारेमा केही लेख्ने कि ?” आफैँलाई सोध्छु ।
“आफ्नो कविता हेर् पहिला !” आफैँलाई जवाफ दिन्छु ।

आफूलाई दिएको आफ्नै जवाफले एउटा वर्तमानको चित्र देखाएको छ मलाई ।
एउटा चित्र जहाँ “कविता प्रेमी, कवि, कविता लेख्नेहरूमा एक रोग छ, जहाँ अरूको रचनामा ‘यो भएन, त्यो भएन । यस्तो भए हुने, उस्तो भए हुने’ भनिरहन्छौँ । यो रोगबाट म त निकै नै ग्रसित भइसकेको रहेछु । यसो बुझिल्याउँदा यो पनि धेरैमा हुने घमण्डको कारक रहेछ । ममा जस्तै!”

(मनोवैज्ञानिक पो हुन्छु कि क्या हो ?)

[कत्तिको नजर लगाउँछौँ / लगाउँछु आफ्नो रचनामा ?
आफ्नो रचनामा आफू कति प्रश्न उठाउन सक्छौँ / सक्छु ?
उठेका प्रश्नको उत्तर छ कि छैन ? पाठकले उठाएको प्रश्नको उत्तर नि ?
कति तटस्थ छौँ/छु आफ्नो तर्कमा र आफूमा ? ]

प्रिय पाठक/दर्शक,

यति प्रश्न बोकेर र तपाईंहरू सामु छोडेर …
मैले लेखेको कविता जे जस्तो लाग्छ खुसुक्क भन्नू हुन आग्रह गर्दै
केही कविता तपाईंको जिम्मामा :):

=========================

=| समयको प्रश्नसँग अस्तित्वको साझेदारी |=


~ मनोमय ~

अतीत हुनु थियो मनको ! वर्तमानको गर्तमा छु
“सम्राट म हुँ विधान मेरो छ” एक आलाप ।

स्रष्टा दोषमा रम्छु प्राणको खेलले ।

गाउने गाउनुछ:
“मस्तिष्क त शवको पनि हुन्छ ।”

————————————————

~ ज्ञानोदय ~

मुक्त उसले मुक्ति खोज्दै हिड्यो
र बन्दी भयो !

चाहिएको प्रकाश खोज्दै हिँड्दा
सायद ! महसुस भएको छ उसलाई
“असत्य सत्यको व्याख्यान हो ।”

————————————————

~ साझेदारी ~

संघर्ष समयको रुपमा
टिप्छ कागले कुखुराको चल्ला !
ऊ दौडिन्छे ! ममता पोखिन्छ तर ….

समस्या “ऊ कुखुरा हो ।”

प्रकृति साक्षी छ चीलले
फुटाइ खान्छ कागको अण्डा
मारिदिन्छ बचेरा र उसको भोक हुन्छ तृप्त !

कागले बुझ्छ कि बुझ्दै कुखुराको पीडा ?

————————————————

~सौम्य रात~

नृत्यमग्न भएँ म
शून्य रातको अन्धकारमय सङ्गीतमा ..

सबै सुरहरूको
सम्मिलित राग शून्यको लय ।

चलिरहे हातहरू, खुट्टाहरू
– भङ्गीमाहरूको
सम्मोहन त नदेखिनुमा रहेछ ।

————————————————

~ प्रतिबिम्ब ~

मेरो आँखालाई सूर्यको नजिक अन्धकार छ !
उज्याला मुहारहरूमा जिउँदो मान्छे खोज्दा हारेको
खुसी तौलँदा तौलँदै दुःखी भएको भीडमा
कल्पना सत्य छ।
जहाँ यथार्थ भन्दा स्वप्न सत्य छ ।

त्यही भीडको भिडन्तमा देख्दै छु
झोक्राइरहेछन् कार्ल मार्क्स
उनी बोल्छन् : “म मार्क्सवादी होइन !”

————————————————

~ संगीतको प्रश्न ? ~

रेटेपछि बनाएर नशाहरूलाई तार
फुकेपछि भएभरको श्वासले
संगीतको राग भरियो उत्सव मैदानमा ।

रागले तरङ्गित भएको हो सबैको अङ्ग
छोएको हो मुटु, बढेको हो धड्कन !

बजाउने काकाले कहिल्यै सोध्नु भएको छैन !
“अङ्गहरूलाई / मुटुहरूलाई किन केही नगरेका ?”

————————————————

सम्बन्धित समाचार