बिहिबार , अषोज १, २०८३

मेरो बचाइँको एक दिन (कविता)

image

– अगमसिंह गिरि

मलाई बाँच्न यहाँ—

एउटै दिन भए पुग्छ ।

धेरै वर्ष फुलेको

अल्छी आयु

निष्क्रियताले निलेको

निश्चल/सुषुप्त/अकर्मण्य

चाहिएन बूढा दिनहरू

निदालु आकाङ्क्षा

खोक्रा उत्तेजना

अल्छे आशा

लिएर उभिने घातक क्षणहरू

दुश्चिन्ता, विरक्ति, व्यथैव्यथा

ओसारी–ओसारी ल्याउने

चाहिएन छिमलिएका थुप्रै बेलाहरू

मलाई बाँच्न यहाँ—

एउटै दिन भए पुग्छ ।

मेरा एउटै–एउटै दिन

सकारात्मक सपना बोकेर आऊन्

जीवनको शाश्वत परिपूर्णता लिएर

मेरो बचाइलाई

अर्थ दिन आऊन्

हजार व्यर्थक्षणहरूको

लङ्गडो उपस्थितिलाई हुत्याएर

मेरो सबल अस्तित्वको

अर्थपूर्णता फुकाल्न आऊन्

स्वागत छ त्यही प्यारो एक दिनलाई

चाहिएन मलाई श्मशानका

रोदन बोकेका मुर्दा मुहूर्तहरू

मलाई बाँच्न यहाँ—

एउटै दिन भए पुग्छ ।

मैले कविताका पङ्क्तिहरू

कोरकार पारेको

एउटा अमूल्य क्षण

यदि छ भने मसँग बाँचोस्

काव्यका सुन्दर हरफहरू पढेको

एउटा रोचक मुहूर्त

यदि छ भने मसँग बाँचोस्

मैले मेरो जातिलाई सक्रिय माया जनाएको

एउटा अर्थपूर्णबेला

यदि छ भने मसँग बाँचोस्

मैले असहायहरूलाई दिएको

एउटा मीठो दिन

यदि छ भने मसँग बाँचोस्

चाहिएन मलाई सपनाहरूमै रँगाल्न लाउने

खुइलिएका दिन र नाङ्गिएका रातहरू

मलाई बाँच्न यहाँ—

एउटै दिन, फगत एउटैदिन भए पुग्छ ।

सम्बन्धित समाचार