समुन्द्री सतहबाट २१९४ मिटर उचाइमा रहेको चिसापानीबाट सूर्योदय र सूर्यास्तको सुन्दर दृश्य हेर्दा हृदय प्रफुल्लित भएर आउँछ । थानकुने भन्ज्याङ गोल्फु भन्ज्याङ भएर धार्मिक स्थल गोसाईंकुण्ड एवम् पर्यटकीय स्थल हेलम्बुसम्म पुग्ने पदमार्ग समेत रहेको यो ठाउँ पर्यटकहरूको आकर्षण बिन्दु बन्दै गएको छ ।
हप्ताभरिको कामको शारीरिक तथा मानसिक थकान मेटाउन मान्छे विभिन्न मनोरञ्जनका उपायहरू अप्नाउछ । जसमा घुमफिर गर्नुलाई पनि एक महत्वपूर्ण मनोरञ्जनको श्रोत मानिन्छ । नयाँ ठाउँको अवलोकनले मान्छेको मानसिक थकान मेटाउनुका साथै शरीरलाई पनि चुस्त राख्न मदत गर्छ । तर, बिदा आउँदा-नआउँदै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नले गिजोल्न थाल्छ ।
यस्तै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नको जवाफमा चिसापानीलाई लिन सकिन्छ । रमणीय वातावरणमा रहेको यो ठाउँ काठमाडौंको उत्तरी भेगमा पर्छ । मन लोभ्याउने हरियाली र जङ्गलले भरिएको यो ठाउँमा पुग्दा मन निकै आनन्द हुन्छ । वसन्त ऋतुमा रातै भएर फुलेका गुराँसको अवलोकन पनि गर्न सकिन्छ । साथै, चाँदी झैँ सुन्दर हिमशृङ्खलाको दृश्यले हरकोहीलाई मोहनी लगाउँछ ।
नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौंको संगमस्थल रहेको यो ठाउँ पुग्न सुन्दरीजलबाट करिब सात घण्टा हाइकिङ गर्न सकिन्छ । घना जङ्गल र तामाङ बस्तीहरू हेर्दै यात्रा गर्दा सात घण्टा बितेको पत्तो हुँदैन । शिवपुरी निकुञ्जमा टिकट काटेर जङ्गल र बस्ती पार गर्दै चिसापानी डाँडा पुगिन्छ।

गौरीशङ्कर, लाङटाङ आदि हिमालको दृश्यावलोकन गर्न सकिने यो ठाउँ पुगेर एकैदिनमा काठमाडौं फर्कन सकिन्छ । यो ठाउँमा खान र बस्न राम्रो सुविधा भएको होटेल तथा खाजाघरहरु समेत रहेका छन् । आफ्नो क्षमता अनुसारका होटेलमा थकान मेटेर भोलिपल्ट पनि फर्किन सकिन्छ ।
यात्राका क्रममा स्व. नेता बिपी कोइरालालाई राखिएको सुन्दरीजल जेलको अध्ययन भ्रमण समेत गर्न सकिन्छ । यात्राका क्रममा आउने शिवपुरी निकुञ्जको वनजङ्गल पूर्ण रूपमा संरक्षण गरिएकोले यहाँ ३१८ किसिमका चरा, १०२ किसिमका पुतली र १२९ किसिमका च्याउ पाइन्छन् । साथै, यो निकुञ्ज दुर्लभ ध्वाँसे चितुवा, भालु, चितुवा, रतुवा, बँदेल, जङ्गली बिरालो, लङ्गुर लगायत विभिन्न जङ्गली जनावरहरू समेत रहेका छन् । यस निकुञ्ज अन्तर्गत हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूका महत्वपूर्ण धार्मिक स्थलहरू बाघद्वार, जामाचो, विष्णुद्वार, तारेभिर, नागी गुम्बा आदि रहेका छन् ।

समुन्द्री सतहबाट २१९४ मिटर उचाइमा रहेको चिसापानीबाट सूर्योदय र सूर्यास्तको सुन्दर दृश्य हेर्दा हृदय प्रफुल्लित भएर आउँछ । थानकुने भन्ज्याङ गोल्फु भन्ज्याङ भएर धार्मिक स्थल गोसाईंकुण्ड एवम् पर्यटकीय स्थल हेलम्बुसम्म पुग्ने पदमार्ग समेत रहेको यो ठाउँ पर्यटकहरूको आकर्षण बिन्दु बन्दै गएको छ ।
वि.सं १८१४ मा पृथ्वीनारायण शाहले नुवाकोट सिन्धुपाल्चोक आक्रमणका लागि यसै स्थल प्रयोग गरेका थिए भन्ने गरिन्छ । पृथ्वीनारायण शाहले तत्कालीन समयमा निर्माण गरेका किल्ला, सुरुङ, बङ्कर आदिका भग्नावशेष आज पनि देख्न सकिन्छ ।
ऐतिहासिक, प्राकृतिक तथा धार्मिक रूपले सम्पन्न चिसापानी घुम्न जाँदा शारीरिक तथा मानसिक थकान दूर भएर एउटा छुट्टै आनन्द महसुस हुन्छ । आजकाल युवा पुस्ताको मुख्य रोजाइमा रहेको यो ठाउँलाई एकदिन छुट्याउँदा फाइदा नै हुन्छ । तपाई कहिले जाने चिसापानी हाइकिङ ?