हप्ताभरिको कामको शारीरिक तथा मानसिक थकान मेटाउन मान्छे विभिन्न मनोरञ्जनका उपायहरू अप्नाउछ । जसमा घुमफिर गर्नुलाई पनि एक महत्त्वपूर्ण मनोरञ्जनको श्रोत मानिन्छ । नयाँ ठाउँको अवलोकनले मान्छेको मानसिक थकान मेटाउनुका साथै शरीरलाई पनि चुस्त राख्न मदत गर्छ । तर, बिदा आउँदा/नआउँदै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नले गिजोल्न थाल्छ ।
यस्तै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नको जवाफमा सिङ्गल ट्रि अर्थात् आकाश देवीलाई लिन सकिन्छ ।
स्वयम्भू या हलचोकतिरबाट सिङ्गल ट्रि यात्रा सुरु हुन्छ । काठमाडौंबाट एकदमै छोटो दुरीमा रहेको यो स्थानबाट पुरै काठमाडौंको दृश्य नियाल्न सकिन्छ । स्वयम्भूबाट ३ कि.मि उत्तर पश्चिममा इचंगुनारायण पर्छ । काठमाडौंमा रहेका चार प्रमुख नारायणहरू मध्ये एक मानिने यस मन्दिरलाई उपत्यकाको पश्चिम दिशाको रक्षक मानिन्छ ।
सिङ्गल ट्रिको यात्रा इचंगुनारायण हुँदै गर्न सकिन्छ । तर, पैदल यात्रुहरूलाई भने धेरै बाटोहरू छन् । जस्तो सानोभर्याङमा रहेको रातो गुम्बातिरको बाटो पनि पैदल यात्रुहरूको लागि निकै राम्रो हुन्छ ।
बाइकमा जाने हो भने स्वयम्भूको बाटो छिटो पर्न आउँछ । बाइकमा स्वयम्भूदेखि १०-१५ मिनेटमा यहाँ पुग्न सकिन्छ ।
सिङ्गल ट्रिलाई कसै कसैले ‘वोन ट्रि’ या ‘अलोन् ट्रि’ भनेर पनि चिन्छन् । खासमा यो सिङ्गल ट्रि या त वोन ट्रि नभएर आकाश देवीको मन्दिर हो ।
हलचोक निवासीहरूले इष्टदेवताको रूपमा आकाश भैरवलाई मान्छन् । सोही आकाश भैरवबाट करिब २,५०० मिटर माथि उत्तरतिर डाँडामा आकाश भैरवको शक्तिको रूपमा आकाशदेवी विराजमान भएको कथन छ । आकाशदेवी विराजमान भएको डाँडामा एउटा मात्र रुख छ । तर, अहिले सो स्थानको नाम परिवर्तन भई सिङ्गल ट्रि हिल भनिन थालिएको छ ।

आकाशदेवीको प्रतिमूर्ति
नाम मात्रै होइन आजकल आकाशदेवीको आसपासको स्वरूप नै परिवर्तन भएको छ । केही समय पहिले यस क्षेत्र आसपास केही रेस्टुरेन्ट थिए । उक्त डाँडामा भने फाट्टफुट्ट चटपटे बेच्नेहरू मात्रै थिए । तर आजकल त्यस्तो छैन । आजकल त्यहाँ ठुलो पिङ (स्विङ) बनेको छ । दैनिक धेरै पर्यटकहरूको आवतजावत हुन्छ । आजकल सोहि आकाशदेवी माथि दिनकै सयौं पर्यटकहरू पिङ खेल्छन् ।

ठुलो पिङमा मच्चिरहेका युवाहरू
अहिले यस वरिपरि नयाँ रिसोर्टहरू बनेका छन् । बस्ने नै गरेर गए पनि या दिउसो केही बेर गएर फर्किन सकिने ठाउँ हो यो ।
काठमाडौंबाट छोटो समयमै पुगिने, उपत्यकाको दृश्य हेर्दै केही क्षणका लागि भए पनि मुक्ति पाउन र आनन्दको सास फेर्न सिङ्गल ट्रि अर्थात् आकाश देवी नजिक र सजिलो गन्तव्य हो ।

सिङ्गल ट्रिबाट देखिने उपत्यकाको दृश्य