उसको श्रीमान् यतिसम्म शंकालु थियो कि उसलाई न जागीर खान जान दिन्थ्यो, न कोठाबाट बाहिर निस्किन । फोन समातेर बसेको देख्यो भने शङ्काको महाभारत निकाल्थ्यो । कोही महिला साथीसँगै किन नहोस्, सिमाना बोली भने केरकार गर्न थाल्थ्यो ।
– सुष्मा तिमिल्सिना
भन्ने बेलामा नारी र पुरुषलाई ‘एकै रथका दुई पाङ्ग्रा’ भन्ने गरिन्छ। तर, वास्तवमा एकै रथका दुई पाङ्ग्रा भए पनि समान हुँदा रहेनछन् । हाम्रो समाजलाई नजीकबाट नियाल्ने हो भने विवाह अघि र विवाह पछिको पुरुषको जीवनमा खासै भिन्नता आएको देखिँदैन तर, महिलाको जीवनमा आनको तान फरक भएको देखिएको छ । यसो भन्दैमा सबै महिलाको जीवनमा ठूलो परिवर्तन भइहाल्छ भन्न खोजिएको चाहिँ होइन । प्रतिशतका हिसाबले हेर्दा धेरै प्रतिशत महिलाको जीवनमा हुने परिवर्तन ठूलै देखिने गरेको छ । यस्तै भयो, सिमानाको जिन्दगीमा पनि ।
अविश्वास र शंकाको मानसिक रोगले ग्रस्त रहेको श्रीमानको फेला परेकी सिमानाको मागी बिहे भएको एक वर्ष बितिसक्यो । यतिन्जेलमा उसको जीवनमा आकाश जमीनको अन्तर भइसकेको छ । अहिलेकी सिमाना विवाहअघिकी जस्ती चञ्चले विल्कुलै छैन । न पहिले जस्ती हँसिली फरासिली नै छ । अचेल ऊ चुपचाप बस्छे । खासै कसैसँग बोल्न खोजे जस्तो पनि गर्दिनँ । थोरै समय कसैसँग भेटिहाले पनि पुनः एकान्तमा पुगिहाल्छे । घरि ऊ एक्लै बसेर रोएकी हो कि जस्ती देखिन्छे । घरि एक्लै टोलाए जस्ती । उदास उदास जस्ती, हतास हतास जस्ती, डिप्रेशनकी रोगी जस्ती लाग्छे ऊ।
खै उसलाई बेला बेलामा के के हुन्छ । कसैलाई थाहा छैन । म उसकी मिल्ने साथी भएर पनि मै अनभिज्ञ छु । आफ्नो कुरो ऊ हतपत कसैलाई भन्दिन । केही दिन अघि उसलाई भेटेका बेला मैले कुरा बुझ्न निकै कोशिश गरेँ । बल्लतल्ल उसले मलाई आफूले देखेको एउटा सपना सुनाई । सपनामा उसले हिमाल देखिछ । तर बाटोमा थुप्रै पहाड थिए, भन्थी । “मलाई ती पहाडहरूले हिमालसम्म पुग्न रोकिरहेका थिए । शायद मेरो लक्ष्य भनेको त्यो हिमाल होला र बीचका पहाडहरू बीचमा आइपर्ने अवरोध होलान्,” सपना भन्दै गर्दा ऊ केही खुलेकी थिई र भन्दै थिइ, “म जसरी नि ती समस्याका पहाडहरू छिचोलेर हिमाल पुग्ने हो ।”
खोतल्दै जाँदा बितेको एक वर्षको अन्तरालमा ऊ माथी लागेका बन्देजहरुका बारेमा जानकारी मिल्यो । विवाह पछि उसलाई विस्तारै उसका सबै कुराबाट छुटाइएछ । उसका साथी सर्कलबाट उसलाई विस्तारै बिरानो बनाइएछ । न ऊ कोहीसँग भेट्न पाउँथी, न कसैसँग बोल्न नै । उसको श्रीमान् यतिसम्म शंकालु थियो कि उसलाई न जागीर खान जान दिन्थ्यो, न कोठाबाट बाहिर निस्किन । फोन समातेर बसेको देख्यो भने शङ्काको महाभारत निकाल्थ्यो । कोही महिला साथीसँगै किन नहोस्, सिमाना बोली भने केरकार गर्न थाल्थ्यो । उसका कुरा सुन्दा मलाई ऊ कुनै व्यस्त अफिसकी पिउन हो र उसको लोग्ने त्यहाँको रुखो हाकिम । घरि लाग्थ्यो ऊ रुख हो र उसको लोग्ने रुख काट्ने दाउरे ।
दिनरात नभनी लोग्नेकै स्याहारसुसारमा खटिए पनि पनि उसको लोग्नेका आँखामा उसका निम्ति मायाँ र सहानुभूतिको लेश पनि हुँदैन रहेछ । उसले नभने पनि मैले अन्दाज गरेँ, लोग्नेको आडभरोस नहुँदा अवश्य पनि सासुससुराको व्यवहार पनि तुच्छ हुँदो हो ।
मैले दूरदराजका गाउँले महिलाका व्यथाहरूले भरिएका कथा बेलाबखत पढ्ने गर्थेँ । ती कथाहरु सुन्दा मन जुरुङ्ङ हुन्थ्यो । आँखा भिज्थे। तैपनि तिनलाई कथाको कोटिभन्दा माथी उचाल्न सकेकी थिइनँ। सोच्थेँ, ‘ती मात्र कथा हुन् । कथाकारले आफ्ना शब्दहरूमा मिलाई मिलाई मिसाएका पीडा र संवेदनाले भिजेका कथा ।’ लाग्थ्यो, ‘ती कथा केवल पढेर आँशु बगाउनका लागि हुन् । मनभित्र दबेर बसेका कुण्ठालाई आँशुका माध्यमले बगाउनका निम्ति हुन् ।’ तर सिमानाका कुरा सुन्दा थाहा भयो ती फगत कथा मात्र होइन रहेछन् ।
उसलाई म त्यो समयदेखि चिन्छु जतिबेला ऊ भर्खरै काठमाण्डू छिरेकी थिई, हजारौँ सपनाहरूको भारी बोकेर । त्यो बेला लाग्थ्यो, उसले जागीर खोज्दै हिँड्दा चप्पल नखियाएको काठमाण्डूको कुनै गल्ली छैन । उसले निकै सङ्घर्ष गरेर आँफूलाई काठमाण्डूमा टिकाएकी हो । बिहे हुनुभन्दा अगाडिसम्म पनि ऊ खुशी देखिन्थी । बिहे हुन आँटेको लोग्नेका बारेमा प्रशंसाका पुल बाँध्थी । बिहे पछि यस्तो होला भन्ने उसका मनमा कुनै आभाससम्म थिएन ।
मागी बिहे अर्थात् ‘एरेन्ज मेरिज’मा यस्तो समस्या आउने हो कि भनौँ भने त्यो पनि होइन रहेछ । मेरी अर्की मिल्ने साथी मालतीको कथा-व्यथा पनि झण्डै झण्डै उस्तै छ । यद्यपि उसको प्रेम विवाह भएको हो । बुबाआमाको इच्छाका विपरीत उसले आफ्नो प्रेम भएको केटालाई रोजेकी थिई । प्रेम विवाह गरेकै कारण माइती ऊबाट टाढा भए । जुन लोग्नेलाई आफ्नो प्रेमको प्रतिरूप ठानेर मन्दिरका पूजारीका सामुन्ने बिहे गरी र साथीसँगीलाई साक्षी बनाई, उसैले हेलाँ गर्न थाल्यो ।
समय समयमा ‘तेरो माइतीको ठूलै बिहेखर्च जोगाइदिएँ, कम से कम मलाई ज्वाईं स्वीकार नगरे पनि त्यो बिहे खर्च त छोरीको मुख हेरेर दिए नि हुने नि’ भन्दो रै’छ । पछि दाइजोका कुरा निस्कन थालेछन् । भागी बिहे गर्नाले आफू दाइजोबाट वञ्चित भएको पीडा देखाउँदो रै’छ र भन्दो रै’छ, “यदि तेरा माइतीले यसरी पछिसम्म पनि हेर्दैनन् भन्ने भएको भए मैले तँसँग बिह्यै गर्दिनथेँ । घरमा अर्कै खानदानी केटीको कुरा आएको थियो । तेरा पछि लाग्नाले सब बर्बाद भयो ।”
हुँदाहुँदै, मालतीको लोग्ने रक्सी खाएर मात्दै घरमा आउन थालेछ र मालतीलाई तथानाम गाली बक्न थालेछ । असह्य भएपछि मालती पनि बोल्न थालिछ । उसले लोग्नेलाई गाली गरी भनेर घरकाले उसलाई ‘चोथाले, सभ्यता नभएकी, ठड्यौरी’ भन्न थालेछन् । आखिरमा विवश भएर ऊ घर छाडेर हिँडिछ । अहिले छुट्टै कोठा लिएर बस्छे । बैंकमा काम गर्छे । लोग्नेको घरपरिवारबाट परित्यक्त भएर पनि ऊ आफ्नो जीवन जसोतसो घिसारिरहेकी छ।
नारीको बिहे अघिको जीवन र बिहेपछिको जीवनमा आनको तान अन्तर हुँदो रहेछ । लोग्नेहरू श्रीमतीसँग आफ्ना बिहे अगाडिका प्रेम प्रसङ्गलाई ठूलै पुरुषार्थ गरेझैँ सुनाउँछन् तर, त्यही कुरा श्रीमतीले गरी भने उसलाई अपराधी ठानिन्छ । समस्या भनेको बिहेकै दिनदेखि नारीले झेल्नु पर्छ । आफू हुर्केको माहोल चटक्क छाडेर नयाँ माहोलमा पस्नु पर्छ । मागी बिहे भएको रहेछ भने देखिने र बोल्नुपर्ने सबै मानिसहरू नयाँ हुन्छन् । उनीहरूको बानीव्यहोरासँग तालमेल मिलाउनै कठिन हुन्छ । पुरुषलाई त्यो समस्या पर्दैन । एउटी श्रीमती नयाँ हुन्छे, बाँकी सबै आफ्नै । सधैँ देखिरहेका र भोगिरहेका अनुहारहरू ।
प्रेम विवाह भएको रहेछ भने पनि नयाँ वातावरणमा एडजस्ट हुनुपर्ने नारीलाई नै हो । यति हुँदाहुँदै पनि नारीले जुन अदम्य साहस र चातुर्यले घर रिझाउँछे, त्यसलाई म सगरमाथा चढेभन्दा ठूलो उपलब्धी ठान्छु । तर, कतिपय नारीलाई यति धेरै बाधा र अडचनहरू तेर्स्याइन्छन् कि ऊ या त शुरुमा उल्लेख गरिएकी सीमाना जस्तै डिप्रेशनको शिकार भएर औषधिमा टिकिरहेकी हुन्छे या त मालतीझैँ परित्यक्ताको जीवन बाँचिरहेकी हुन्छे । संघर्षकै हिसाब गर्ने हो भने बिहेपछि अधिकांश नारीको संघर्ष पुरुषका तुलनामा निकै धेरै हुन्छ ।