हप्ताभरिको कामको शारीरिक तथा मानसिक थकान मेटाउन मान्छे विभिन्न मनोरञ्जनका उपायहरू अप्नाउछ । जसमा घुमफिर गर्नुलाई पनि एक महत्त्वपूर्ण मनोरञ्जनको श्रोत मानिन्छ । नयाँ ठाउँको अवलोकनले मान्छेको मानसिक थकान मेटाउनुका साथै शरीरलाई पनि चुस्त राख्न मदत गर्छ । तर, बिदा आउँदा-नआउँदै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नले गिजोल्न थाल्छ ।
यस्तै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नको जवाफमा नमोबुद्धलाई लिन सकिन्छ । काठमाडौं उपत्यकाबाट केही दुरीमा रहेको यो ठाउँ घुमन्तेहरूका लागि एउटा राम्रो विकल्प हो ।
नमोबुद्ध नामबाट नै स्पष्ट हुन्छ कि यो बौद्ध धर्मप्रति आस्था राख्नेहरूसँग सम्मिलित क्षेत्र हो ।
काठमाडौंबाट लगभग ३७ किलोमिटरको दुरीमा छ नमोबुद्ध । भगवान् गौतम बुद्धको पहिलो जन्मस्थलको रूपमा समेत चिनिने नमोबुद्ध काभ्रेको नमोबुद्ध नगरपालिकामा पर्दछ ।
नमोबुद्धको अर्थ बुद्धलाई नमस्कार भन्ने बुझिन्छ । नमोबुद्धको धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्व साथै प्राकृतिक सुन्दरताका कारण बर्सेनि लाखौँ पर्यटकहरू यहाँ पुग्ने गर्दछन् ।
काठमाडौंबाट कोटेश्वर हुँदै धुलिखेल पुगिन्छ । धुलिखेल चोकबाट बिपी राजमार्ग हुँदै पूर्व ९ किलोमिटर अघि काभ्रे भन्ज्याङ पुगेपछि त्यहाँबाट दक्षिण पूर्व ६/७ किलोमिटर कटिसक्दा नमोबुद्ध पुगिन्छ । त्यहाँसम्म पुग्ने सार्वजनिक यातायात प्रशस्तै पाइन्छन् ।
नमोबुद्ध स्तूप ऐतिहासिक प्रख्यात बौद्ध स्तूप हो । यो स्तूप तिब्बती बौद्ध धर्मावलम्बीहरूले मान्ने तीन महान् चैत्यहरू बौद्धनाथ, स्वयम्भूनाथ र नमोबुद्ध मध्ये एक हो । यहाँ वनको मध्य भागमा बुद्धको चैत्य तथा स-साना बौद्ध गोन्पाहरू छन् ।

यहाँबाट सर्वोच्च शिखर सगरमाथासहित दन्ते लहर जस्तै सेताम्मे हिमशृङ्खलादेखि हरिया डाँडा, पहाडदेखि सुन्दर उपत्यका एक ठाउँमा उभिएर अवलोकन गर्न पाइन्छ ।
आज भन्दा करिब ६ हजार वर्ष पहिले राजा सिंघत छेन्पो नाम गरेका राजाले राज्य गर्थे । उनका ३ भाइ छोराहरू क्रमशः जेठा, माइला र कान्छा ड्राआ छेन्पो, लाहा छेन्पो, सेमचेन छेल्पो थिए । जेठा र माइला राजकाज एवं युद्धकलामा निपुण रहेका र कान्छा छोरा सुशील, दयालु र सहनशील स्वभावका थिए । उनै कान्छा छोरा सेमचेन छेल्पोले आफ्ना पाँच ओटा डमरु सहितको बघिनी भोको र अचेत रूपमा सुतिरहेको अवस्थामा देखि आफ्नो तिघ्राको मासु टुक्रा टुक्रा पारी, छाती खोपेर रगत निकाली बघिनीलाई खुवाएको इतिहास रहेको पाइन्छ । साथै, उक्त राजकुमार नै पछि गएर गौतम बुद्ध बनेको र पाँच वटा बघिनीका बच्चाहरू शिष्य भएको साथै तिनै राजकुमारको नामबाट यस नगरपालिकाको प्रमुख धार्मिक स्थलको नाम नमोबुद्ध रहन गएको किम्बदन्ती छ ।

नमोबुद्धमा कात्तिक पूर्णिमाबाहेक चैते पूर्णिमा र साउनको प्रत्येक बुधवार ठुलो मेला लाग्छ । एक पटक पाइला टेके मात्र जुगौं-जुगको पाप अन्त्य भएर जाने र आफूले चिताएको मनोकाङ्क्षा पूरा हुनेजस्ता धार्मिक विश्वासको रहेको छ । नमोबुद्धमा विशेष गरी नेवार जातीले रातभर आफ्ना पुर्खाको सम्झनामा पूर्णिमाका दिन दीप प्रज्वलन गरी रातभर जाग्राम बस्छन् भने त्यसको भोलिपल्ट दिन-रातभर लामा जातिका धर्मावलम्बीले बुद्धको पूजाआजा गर्नुका साथै रातभर जाग्राम बस्छन् ।
नमोबुद्ध आसपास राम्रो रेस्टुरेन्ट हरू छन् । साथै बास बस्ने गरी जाने पर्यटकहरूलाई ध्यानमा राखी रिसोर्टहरू पनि बनेका छन् ।
ड्राई पिकनिकको लागि पनि काठमाडौंबाट सबैभन्दा नजिक र शान्त ठाउँ हो । हाइक गरेर नमोबुद्ध पुग्न चाहनेहरूको लागि पनि यो काठमाडौँबाट ठिक्कको दुरीमा छ । नमोबुद्ध सुन्तलाको लागि पनि प्रसिद्ध रहेकोले यो जाडो मौसममा घाम ताप्दै हिमालको दृश्यावलोकन गर्दै सुन्तला खानको मज्जा लिन सकिन्छ ।
नमोबुद्ध पुगेकै समयमा पछिल्लो समय निकै चर्चा पाएको बाहुबली झरना अर्थात् तीन धारे झरना पनि पुगेर फर्की सकिन्छ । बाहुबली झरना पनि नमोबुद्धबाट केही किमीको दुरीमा मात्रै पर्छ ।
यसपालिको बिदा नमोबुद्धमा बिताउने होइन त ?