नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा अवस्थित एक सुन्दर पर्यटकीय गन्तव्य हो, ककनी ।
नुवाकोट जिल्लामा पर्ने यो पर्यटकीय स्थल काठमाडौंबाट २० किलोमिटर दूरीमा रहेको छ । समुद्री सतहबाट २२०० मिटरको उचाइमा रहेको यो स्थान आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।
मनमोहक वातावरणले सजिएको ककनीबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे, मनासलु, हिमचुली, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशङ्कर, सगरमाथा, ल्होत्से जस्ता हिमालहरूको मुस्कानले पर्यटकलाई लट्ठ बनाउँछ । एकैछिनमा आकाश धुम्म हुने, एकैछिनमा घमाइलो हुने, मान्छेहरू झैँ निर्मोही ककनीको मौसम बडो गज्जबको छ । उपत्यकाको धुवाँ-धुलो सहेका हाम्रा फोक्सालाई केही समयको लागि भएपनि राहत मिल्छ । कङ्क्रिटका जङ्गल हेर्दा-हेर्दा वाक्क भएका हाम्रा आँखा त्यहाँको हरियो पाखा-पखेरोमा डुल्न पाउँदा तृप्त हुन्छन् ।
पासाङ ल्हामु राजमार्गको काउलेबजारबाट तीन किलोमिटर दाहिने लागेपछि पुगिने ककनी स्ट्रबेरीका लागि प्रख्यात मानिन्छ ।
ककनी ऐतिहासिक महत्त्वको ठाउँ पनि हो । ककनीमा तामाङ समुदायको रुम्बा थरका राजाहरूले शासन गरेको थियो । राजदरबारको भग्नावशेष अहिले पनि रहेको छ । यसको अध्ययनका लागि पनि धेरै अनुसन्धानकर्ताहरू ककनी पुग्ने गरेका छन् । त्यस डाँडामा सन् १९९२ मा थाइ एयरवेजको जहाज दुर्घटना हुँदा एक सय १३ जनाको ज्यान गएको थियो । मृतकहरूको सम्झनामा त्यहाँ स्मारक पनि निर्माण गरिएको छ । ककनीमा नेपाल स्काउट, नेपाल प्रहरी र नेपाल आर्मीको तालिम केन्द्र समेत रहेको छ ।
ठुला-ठुला खुल्ला चउरहरू भएका कारण पिकनिक खानाका लागि पनि अति उत्तम गन्तव्य मानिन्छ ककनी । तामाङ समुदायको बाहुल्यता रहेको ककनीमा उनीहरूको विशिष्ट जीवनशैली, भेसभुसा, भाषा, संस्कृतिलाई पनि नजिकबाट नियाल्न पाइन्छ ।
स्ट्रबेरी खेतीको लागि चर्चित रहेको ककनीमा अहिले किवी खेती पनि विस्तार भएको छ । ट्राउट माछाको लागि उपत्यका नजिक ककनी बाहेक अरू गन्तव्य नै छैन भन्दा फरक पर्दैन । डाँडाको तल्लो भेगमा ट्राउट मात्र नभएर माछाका अन्य जातहरूको समेत स्वाद चाख्न पाइन्छ ।
उपत्यकाबाट नजिक र सबै खालका आनन्द लिनका लागि उपयुक्त गन्तव्य भएका कारण परिवारसँग होस् या साथीभाइसँग, रमाइलो गर्न चाहनेहरूको पहिलो रोजाइमा पर्ने गरेको छ ककनी ।
सिरिरि चलेको बताससँगै डाँडा उक्लिएर बादलहरूमा लुकीछिपी गरिरहेको काठमाडौं, दामन र सिमभन्ज्याङ अवलोकन गर्दा मन चङ्गा भएर उड्न थाल्छ । ऐतिहासिक तथा पुरातात्त्विक हिसाबले पनि महत्त्वपूर्ण यो ठाउँमा वसन्ती दरबार र रुम्बा राजाको दरबार रहेका छन् । त्यहाँको स्थानीय संस्कृति र खानपानले पनि एउटा मिठो तृप्तता प्रदान गर्छ । तामाङ समुदायको बसोबास रहेको यो ठाउँको मनमोहकताले तानेर नै होला दैनिक जसो सयौँ पर्यटकहरू ककनी पुग्ने गर्छन् ।
वनभोजको लागि लोकप्रिय ठाउँमध्येको एक ककनीमा क्षमता अनुसारका सुविधा सम्पन्न होटेलहरू रहेका छन् । एक दिनमै फर्किएर आउन सकिने यो ठाउँ पुग्न माछापोखरीबाट सार्वजनिक यातायात प्रयोग गर्न सकिन्छ ।