माया एउटा यस्तो स्वप्निल देशमा पुगेकी थिई जहाँ कसैलाई आफ्नो गर्भाशयको अपरेसन गराउन सात दिनपछि अस्पताल जानु पर्दैनथ्यो– जहाँ नारी पुरुषको स्त्री, सहगामिनी, स्वच्छन्द थिई ।
माया आज अलि उद्विग्न थिई । हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई । पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस् । र आज त उसलाई अस्पताल गई आफ्ना शरीर जचाउनु पनि थियो । अनि एक सातासम्म अस्पतालमै बसेर आराम पनि लिनु थियो । अनि मार्च १७ तारिख ।
आज ११ तारिख, मार्च १७ त उसको जन्मदिन पनि हो । उसले आफ्नु नाडीघडी सारेर छालामा अंकित मिति पढी– १७ मार्च, २०५० । यो थियो उसको जन्मदिन ! नं. ६५३ यो थियो उसको जन्मसंख्या ।
ऊ नगरपालिकाको जनसंख्या–नियन्त्रण–विभागमा काम गर्दथी । तथा उसका मातहत नारीवर्गको जन्मकुण्डली र जीवन कार्यक्रमको लेखो राख्ने काम थियो । र उसलाई थाहा थियो कि कुन क्षेत्रमा जननी गुणरहित कति नारी छन् । उनीहरू के काम गर्छन् र कुन विभागमा ? यो पनि ऊ जान्दथी ।
त्यस्तै ऊ यो पनि जान्दथी कि पुरुषवर्गको पनि रेकर्ड पनि राखिन्छन्– र त्यस विभागमा काम गर्ने पुरुषलाई पनि थाहा हुन्छ कि उसको क्षेत्रको पुरुषत्वहीन कति लोग्ने मानिस छन् । सन्तानोत्पत्तिमा सरकारको पूर्ण नियन्त्रण थियो– सरकारका पूर्वनिर्धारित योजनानुसारै उनलाई जन्माइन्थ्यो ।
स्वास्थ्य विभागअन्तर्गत सन्तानोत्पत्तिशालामा शुक्रकीट सुरक्षित रहन्थे र सरकारी आदेशअनुसारै उनलाई विकासी गरिन्थ्यो । तापक्रम–नियन्त्रण त्यस शालामा भावी कृषकदेखि डाक्टर, वैज्ञानिकसम्मको पूर्णनिर्धारित एवं नियोजित शुक्रकिट विभिन्न बोतलमा करोडौं संख्यामा सुरक्षित राखिन्थे । वैज्ञानिकहरूले सन्तानउत्पत्तिका प्रत्येक क्षेत्र एवं कार्यलाई वैज्ञानिक रूप दिई मानव नियन्त्रणमा राखिएका थिए– एक कुरा मात्र उनीहरूले गर्न सकेका थिएनन् र त्यो थियो कृत्रिम गर्भाशयको निर्माण ।
अतः एक वर्षमा देशभरिका १२०० जननीगुणयुक्त नारी जन्माइन्थे र ती पूर्ण यौवनप्राप्त हुँदा तिनको गर्भाशय निकाली सरकारले आफ्नु सञ्चय बढाउँदथ्यो । बीसौं शताब्दीको अन्त्यतिरै सरकारले यस विषयमा ठोस कदम उठाउनुपरेको थियो– त्यस बखतका नारीहरूको समानाधिकारको प्रवल मागले गर्दा । गर्भाधान एवं प्रसूतिको वेदनाबाट मुक्त हुन तथा पुरुषवर्गको समकक्षमा उनीहरूले काम गर्ने प्रस्ताव संसदमा राखी पास गराएका थिए । सरकारलाई कृत्रिम गर्भाधानको पद्धति विकास गरी सरकारी नियन्त्रणमा लिनुपरेको थियो । यसले बढ्दो जनसंख्या एवं विश्वव्यापी आर्थिक संकट पनि नियन्त्रित भएको थियो ।
एक्काईसौं शताब्दीको सुरुमा पच्चीस वर्षीय योजनाले यस पद्धतिलाई प्रायः पूर्ण पारिसकेको थियो । तथा वैज्ञानिकहरूको आशा थियो कि आगामी पच्चीस वर्षीय योजनाअन्तर्गत यो गर्भाशयको कमी र प्राकृतिक उत्पत्तिमा उनीहरूले विजय प्राप्त गर्नेछन् ।
अहिले २०५० का ती १२०० भाग्यमानी (वा मायाको भनाइअनुसार अभागी ।) नारीहरूमध्ये माया नं. ६५३ कि थिई । उसको गर्भाशय निकाल्ने तिथि निश्चित भइसकेको थियो– अब ८ दिन मात्र बाँकी छ । तर,
उसको हृदयमा एउटा अनौठो भावनाको उदय हालै भएको थियो । नाचघर अथवा चियाघरमा कुनै पुरुषसँग अनायासै उसको शरीर छोइँदा उसलाई एकतमासको सिरिंग अनुभव हुन्थ्यो । त्यस पुरुषले ‘माफ गर्नुस् है’ भन्दा ऊ चाहन्थी कि त्यस पुरुषबाट ‘हिँंड्नुस् घुम्न जाऊँ’ निस्कोस् । तर, त्यस प्रतीक्षामा नै उसका कति महिना बितिसके ।
उसले घडी हेरी । १६ बजेर ४० मिनेट गएको रहेछ । १९ बजे उसलाई अस्पतालमा पुग्नु छ । उसलाई पीर थियो, यस एक सातामा पनि के ऊ प्रकृतिको त्यस मार्गलाई पूर्ण नगरी त्यसै साधारण नागरिक बन्नेछ ? अहिले देशभरिमा भाग्यशाली (अथवा ऊजस्तै अभागी) ती १२०० पूर्ण नारी होलान्, तिनमा ऊ छे ६५३ औं ! ‘१७ मार्चमा तीमध्ये एक नारी फेरि नारीत्वहीन हुनेछ १७ मार्च’ !
अस्पतालबाट बाहिर निस्कँदा २० बजेको थियो । उसका ब्यागमा डाक्टरले दिएको रिपोर्टको एकप्रति र त्यसका साथ एक साताको दैनिक कार्यक्रमको रूपरेखा पनि थियो । उसले, अनि एक महिनामा बिदा पाएकी थिई– पहिलो साता अपरेसनअघिको स्वस्थता कायम राख्न, दोस्रो अपरेसनलाई, तेस्रो आरामी र चौथो भ्रमण एवं आनन्दका लागि– उसको दानको पुरस्कार स्वरूप । उसलाई चिन्ता थियो प्रथम साताको ।
सडकको बत्तीमा उसले डाक्टरको कागज झिकेर पढी । लेखेको थियो– नगर्ने काम–
१. अतिशय उत्तेजनाका कुनै पनि काम,
२. अपच गर्ने गरी खानु,
३. लागु कुराको अति सेवन,
४. शारीरिक कष्ट हुने काम,
५. मानसिक चिन्ता ।
मानसिक चिन्ताका बारेमा पढेर ऊ हाँसी । मानौं यो पनि मानिसको आफ्नै इच्छामा निर्भर भएजस्तो ! कागज उसले दोबारेर राखी । अनि नगीचकै एउटा पेयशालामा पसी । कफीको अर्डर दिँदा सँगैकी एउटी अर्की स्वास्नीमान्छेले पुलुक्क हेरी, र बिस्तारै भनी–
तपाईंले किन कफी माग्नुभयो ? के पेयवस्तु सेवन गर्न डाक्टरले तपाईंलाई पनि निषेध गरेको छ ?
“ज्यू !”
“..”
“..”
“अघि तपाईंलाई स्वास्थ्य–निरीक्षण–गृहमा देखेको थिएँ, हो ?”
“हो ।”
“तपाईं पनि ती अभागी १२०० मा हो !”
यस एक प्रश्नमा हाइड्रोजन बमको विस्फोट थियो– जसका अदृश्य तरङ्गमा आश्चर्य, आत्मीयता र सहानुभव लहरिँदै मुटुमा ठक्कर खाइरहे । मायाको आँखामा एउटा भीषण ज्योति चम्कियो, र उसको मौनले उसको प्रश्नकर्तालाई प्रश्नको उत्तर स्वतः प्रसारित गरिदिए ।
“तिम्रो नम्बर ?”
“६५३, मार्च १७, २०५० । तिम्रो ?”
“३४२, फरवरी २८, २०५० । म तिमीभन्दा जेठी रहिछु । तिम्रो दिदी !”
“दिदी !”
यो वाक्य अनायास मायाको मुखबाट फुस्क्यो– यसमा प्रश्न, प्रेम र खुसी मुछिएका थिए । कफीको सर्को लिँदै मायाले सोधी–
“उसो भए तपाईं अपरेसनपछिको भ्रमण–बिदामा, हो ?”
“अँ, तर मैले यस सहरलाई छाडेर अन्त जान मन पराइनँ !”
“तिम्रो अपरेसन बाँकी नै छ होला ?”
मायाको अनुहारमा एउटा वेदना झल्क्यो ।
“तिमीले पूर्ण नारीजीवनको सदुपयोग त गर्यौ ?”
प्रश्नको निर्भीकतामा माया झस्की । दिदीले कुरा पन्छाएर भनी–
“मलाई एलिजा भन्दछन् । तिमीलाई फुर्सद भए, हामी पार्कमा घुमौं न !”
दुवै बाहिर निस्के । एउटा बेन्चमा बसेर एलिजाले भनी –
“एक महिना अगाडिसम्म यो पार्कमा बसेर यो चन्द्रमा र ताराहरूलाई हेर्दा मेरो मनमा कता–कता एउटा मीठो काउकुती लाग्थ्यो । सायद तिमीलाई आजकाल भएजस्तो– हुन्छ ?” र एलिजाले मायाको हात समातेर बिस्तारै थिचिदिई ।
एलिजाले उसलाई बताई कि कसरी उसले एउटा पूर्ण पुरुषको खोजी गरेकी थिई । कि कसरी उसको खोज असफल भएको थियो र कसरी उसले मनमनै यो समाज, यसको बन्धन, पराधीनता र नियन्त्रणलाई अन्तःकरणदेखि सरापेकी थिई । उसले भनी कि प्रत्येक दिवसको असफल खोजपछि ऊ रातमा ईश्वरको पुकारा गर्थी र भन्थी कि उसलाई अर्को जुनीमा यस्तो देशमा जन्म दिए जहाँ स्त्री स्त्री र पुरुष पुरुष बनेको होस् ।
उसले सोधी कि माया कहाँ काम गर्छे । अनि भनी कि ऊ त शान्ति विभागको संग्रहालयमा व्यतीतका घटनाको संग्र्रह गर्ने काम गर्छे । उसले बताई कि कसरी पुस्तकालयमा उसले उन्नाईसौं र बीसौं शताब्दीका पुस्तकहरू पाएकी र पढेकी छ त्यस बखतका नारी पुरुषको पर्दा गर्थे र विवाह गरी घरजम गर्थे । उसले भनी कि पर्दा, विवाह र घर शब्दका अर्थ बुझ्न उसलाई कति मिहिनेत गर्नुपरेको थियो । ती तीनवटै शब्दका अर्थ पनि उसले मायालाई बताई । उसले भनी कि त्यस बखत पुरुषको जिम्मा आर्थिक बोझ र स्त्रीको जिम्मा गृहस्थी थियो ।
“थाहा छ माया, तिमीलाई कि तिनताक स्त्रीले पेटमा बच्चा हुर्काउँथे र आफ्नै घरमा जन्माउँथे ।”
मायालाई उसको अगाडि कसैले स्वर्गको कुनै देवदेवीको जीवनचर्या वर्णन गरेजस्तो लाग्यो ।
एलिजाले भनी– “सबभन्दा आश्चर्य त माया, मलाई यो लाग्यो कि त्यस बखतका नारी सहवासका निमित्त पुरुषबाट पारिश्रमिक पाउँथे । यस्तो कुनै व्यभिचारकेन्द्र हुन्थ्यो जहाँ !”
माया एउटा यस्तो स्वप्निल देशमा पुगेकी थिई जहाँ कसैलाई आफ्नो गर्भाशयको अपरेसन गराउन सात दिनपछि अस्पताल जानु पर्दैनथ्यो– जहाँ नारी पुरुषको स्त्री, सहगामिनी, स्वच्छन्द थिई । उनका कानमा एलिजाका अगाडिका वर्णन परेनन् ।
एलिजा भन्दै थिई– “आफ्नै शरीरको अंग काँचको भाँडामा जिउँदो चलमलाइरहेको देख्दा मलाई कस्तो–कस्तो अनुभव भयो । अब एक महिनाभर त मेरो प्रथम पुत्र पनि हुन्छ– यस्तो पुत्र जसको प्रशवमा आमालाई कुनै वेदना, व्यथा हुनेछैन र साथै कुनै प्रेम पनि । यस्तो पुत्र जसकी आमालाई आफ्नु पुत्रको पिताको ज्ञान नै हुनेछैन । मैले….माया, तिमी पनि मजस्तै…”
०००
झन्डै तीन महिनापछि मायाको अनुरोधपत्रमा निकासा लाग्यो कि ऊ टाढाबाट आफ्नो गर्भाशयबाट विकसित भएको तथाकथित बच्चा हेर्न सक्छे । उसको बच्चाको नम्बर थियो ११४७८ जुन २०, २०७० ।
शिशुशालाको लामो बरन्डामा १४ बजेतिर ऊ जाँदै थिई, उसका साथमा एउटा डाक्टर थियो जसले उसलाई बच्चा चिन्हाउनेछ ।
“यता, श्री माया, पहिले तपाईंलाई शुद्ध पारौँ ! हामी स्वयं शुद्ध नभई बच्चाहरूको छेउमा पर्दैनौं ।”
मायालाई एउटा ठूलो बत्तीमुनि उभ्याएर डाक्टरले स्वीच थिचे । त्यसबाट एउटा नौलो प्रकाश मायाको सर्वाङ्गमा प¥यो । डाक्टरले मायालाई एउटा सेतो एप्रोन लाउन दिए, भने– “हामी चाहँदैनौं बच्चाले झुक्केर पनि सधैँ देख्ने नर्सभन्दा भिन्न आकृतिको नयाँ मानिस देखेको सम्झिरहोस् ।”
बच्चामा कुनै पनि मौलिकता मायालाई लागेन । उसलाई अनुभव भयो ऊ सधैँजस्तो डकुमेन्टरीमा देखाउने प्रसूति गृहमा कुनै बच्चा हेरिरहिछ । उस्तै मोटो छ, उस्तै रूप । ओमेन्ट्रीको पंक्ति उसका मनमा सुरुसुरु दोहोरिए– ‘तपाईंलाई विकसित गर्न ग्लैक्सोको ठूलो योग छ ।’
उसले अनायस सोधी– “यसको कागज एक फेर हेर्न सक्छु डाक्टर ?”
“किन नसक्नु, आउनुस् ।”
मायाले पढी –
१. जन्म – जून २०, २०००ः १८ बजेर ४७ मिनेट ३३ सेकेन्ड
२. स्थल – सरकारी प्रसूति गृह सं ९७
३. नं – ११४७८
४. गर्भाशय नं – ६५३
५. शुक्र नं. ८२७
६. नाम – स्पाइक
७. जीवन–कार्यको रूपरेखा –
(क) इन्जिनियर – सूर्य ताप–विद्युत्–संग्रहकर्ता
(ख) क्षेत्र नं १० – सेक्सन ५५३
(ग) नं. ९७८६ जून २०, २०१० को सट्टा काम गर्ने
(घ) मिति – जुन २०, २०९०
(ङ) विश्राम मिति – जुन २०, २१३०।
माया जान्दथी कि यस विश्रामको अर्थ के हो ? ऊ जनसंख्या नियन्त्रण विभागमा काम गर्थी नि !
“धन्यवाद डाक्टर !”
माया बाहिर आई, उसलाई त्यस बखत आफू, आफ्नो समाज, समाजको इतिहास र आफूले देखेसम्मको इतिहासको भविष्य– सबउपर एउटा बुझिनसक्ने गरी घीन लागिरहेथ्यो । ‘एब्स्ट्रयाक्ट चिन्तनः प्याज’बाट