हिजो सोमबार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन, रमेश खरेल आदिका नाममा देशी/विदेशी तत्त्वहरू सलबलाउन थालेको आरोप लगाउँदै उनीहरूमाथि जाइलाग्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका संयोजक रमेश खरेल लगायत अन्य स्वतन्त्र उम्मेदवारहरूमाथि जाइलाग्न एमाले कार्यकर्तालाई निर्देशन दिएका छन् ।
हिजो सोमबार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन, रमेश खरेल आदिका नाममा देशी/विदेशी तत्त्वहरू सलबलाउन थालेको आरोप लगाउँदै उनीहरूमाथि जाइलाग्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
काठमाडौं महानगरका मेयर बालेनले पछिल्लो दिनमा अनधिकृत संरचनाहरूमा डोजर लगाइरहेको घटनाप्रति सङ्केत गर्दै बस्नेतले आफ्ना कार्यकर्तालाई सकभर मुखले, नत्र हात गोडाले भए पनि सम्झाउन भन्दै उक्साएका हुन् ।
बस्नेतले पछिल्लो समय काठमाडौं महानगरपालिकाले थालेको अनधिकृत संरचना हटाउने अभियानको विरोध गर्दै आएका छन् । उनले मेयर बालेन्द्र शाहको विरुद्धमा अभिव्यक्ति दिँदै आएका छन् ।
उनले बालेन्द्र शाह लगायतलाई सकेसम्म मुखले सम्झाउन र नमाने हात गोडाले ठिक पार्न भनेका छन् । कार्यकर्ताहरूको संरक्षण गर्न पार्टी तयार रहेको बताएका छन् ।
बस्नेतले बालेन लक्षित गर्दै आगो बल्न थाल्दा स्याउलाले निभाए पनि आगलागी भएमा पछि के गर्ने भन्दै युवालाई प्रश्न गरेका थिए । बस्नेतले भने, ‘सकभर मुखले सम्झाउनुस्, सम्झेनन् भने हात गोडा जेले भए पनि सम्झाउनुस् । परेको पार्टीले बेहोर्छ ।’
युथफोर्स नामक दस्ता बनाएर एमाले राजनीतिमा चर्चा पाएका बस्नेत अध्यक्ष केपी ओलीका प्रिय पात्र मानिन्छन् । ओली प्रधानमन्त्री रहेका बेला दल फुटाउ अध्यादेश जारी गर्ने बेला उनले पूर्वआइजीपी सर्वेन्द्र खनालको सहयोगमा जसपाका सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा मधेसबाट रातारात काठमाडौं ल्याई होटेलमा राखेका थिए ।