उनले नारीको सम्मान गरौं, स्वतन्त्रता दिऔँ भनेर कविता लेखेकी रहिछन् ।
काठमाडौं । धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी १५ वर्षीया किशोरी आस्था शर्माको गोजीमा कविताको अंश फेला परेको छ । गएको सोमबार ‘स्कुल जान्छु’ भन्दै घरबाट निस्किएकी १५ वर्षीया आस्था आज चार दिनपछि मृतावस्थामा फेला परेकी छिन् ।
कैलाली भएर बग्ने मोहना नदी किनारमा शुक्रबार उनको शव फेला परेको हो । उनको गोजीमा भिजेको अवस्थामा कागजको टुक्रा भेटिएको र त्यसमा कविताको लाइन रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । प्रहरी कार्यालयका एक डीएसपीले भनेका छन्, “शव गल्ने अवस्थामा भेटिएको छ । उनको पाइन्टको गोजीमा एक कागज फेला परेका छ जसमा उनले नारीको सम्मान गरौं, स्वतन्त्रता दिऔँ भनेर कविता लेखेकी रहिछन् । सबै अक्षर भने चिन्न सकिने अवस्थामा छैनन् भने कविताको अन्त्यमा उनले कवयत्री भन्दै आफ्नो नाम लेखेकी छिन् ।”
आस्था सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी थिइन् । उनी बोराडाडीस्थित त्रिभुवन माविको कक्षा–८ मा अध्ययनरत थिइन् । सोमबार उनी अरू दिनभन्दा छिटो घरबाट निस्किएको प्रहरी अनुुसन्धानबाट खुलेको छ ।
उनले घरमा आफ्नी बहिनीलाई ‘आफूले मन पराएको केटाले नभेटे आफू बेपत्ता हुन्छु’ भनेको सूचना प्रहरीले पाएको थियो । घटना सम्बन्धमा प्रहरीले उनका साथीसहित शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ । प्रारम्भीक रुपमा भने उनले हाम फालेर आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ ।