जय किशोरले सौतेनी आमा तेतरीलाई सामान्य घरायसी विवादका क्रममा घाँटीको अगाडि भागमा खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।
काठमाडौँ । । तेतरी देवीको हत्या गरेको आरोपमा कलैया उपमहानगरपालिका- ७ रंगपुर टोल बस्ने २५ वर्षीय जय किशोर यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनी तेतरी देवीको सौतेनी छोरा हुन् ।
जय किशोरलाई असोज ७ गते वीरगञ्ज इनर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नागरिकता बनाइदिन आग्रह गर्दै आएकी तेतरीको भदौँ ३० गते साँझ हत्या भएको थियो ।
जय किशोरले सौतेनी आमा तेतरीलाई सामान्य घरायसी विवादका क्रममा घाँटीको अगाडि भागमा खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । उनको घटना स्थलमै मृत्यु भएपछि जयकिशोर फरार भएका थिए ।
तेतरीका श्रीमान् ५५ वर्षीय शिवनारायण यादवलाई भने प्रहरीले घटना भएको भोलिपल्टै पक्राउ गरेको थियो । शिवनारायणले घरायसी विवादका क्रममा छोराले घाँटी काटिदिएको बयान दिएका थिए ।
तेतरी देवीको नागरिकता नबाइदिएको विषयमा विवाद हुँदा घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घरमा नागरिकता नबनाएको विषयमा पटक पटक विवाद हुने गरेको र झगडा हुँदा घारिलो हतियारले घाँटी काटेको अभियुक्त जय किशोरले स्वीकार गरेको पनि प्रहरीको भनाइ छ ।
‘तेरो छोरा छोरी छैन, घरमै बस्नु, नागरिकता किन चाहियो भनेका रहेछन् । तर तेतरीले नागरिकता चाहियो भन्दै आएकी रहिछन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भन्छन्, ‘ नागरिकता दिएपछि सम्पत्ति पनि दिनुपर्छ भनेर उनको हत्या भएको देखिन्छ ।’
तेतरीलाई यसअघि पनि पटक-पटक मानसिक र शारीरिक याताना दिने गरेको माइती पक्षको दाबी छ ।