विभिन्न १६ मुलुकमा उनले ४० वटा आरोहण गरेकी छिन् ।
काठमाडौँ । मनास्लु हिमालमा बेपत्ता भएकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटिएको छ । सोमबारदेखि उनी मनास्लुमा स्की गर्ने क्रममा बेपत्ता भएकी थिइन् । ४९ वर्षीया नेल्सन २ हजार फिट गहिरो खोंचमा परेकी थिइन् ।
नेल्सनको शव भेटिएको र सामागाउँ ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
काठमाडौंको सांग्रिला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशकका अनुसार उनीसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल भएका थिए । हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराएकी थिइन् ।
नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ ।
अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् ।
उनले दुई दशकदेखि स्की पर्वतारोहणमा संलग्न थिइन् । विभिन्न १६ मुलुकमा उनले ४० वटा आरोहण गरेकी छिन् ।