काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाको कन्याममा फोटो प्रतियोगिता सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको आयोजनामा एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर फोटो प्रतियोगिता सम्पन्न भएको हो ।
पर्यटकीय क्षेत्रमा प्रदेश १ को अब्बल मानिएको सूर्योदय नगरपालिकाले नगर क्षेत्रमा प्रचार नगरिएका धेरै गन्तव्यको पहिचानको उद्देश्य राखेर प्रतियोगिता गरेको थियो । २८ जना फोटोग्राफरले भाग लिएको उक्त प्रतियोगितामा पहिलो , दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा सूर्योदय १० का निशान्त रानाले कन्यामको रात्रिकालीन फोटो खिचेर प्रथम स्थान हासिल गरेका छन् । त्यस्तै सूर्योदयकै सुन्दर मैनालीले खिचेको कन्याबाट देखिने हिमालको दृश्य सहितको फोटोले दोस्रो स्थान पाएको छ ।
त्यस्तै झापा मेचीनगरका चराखोजकर्ता देवेन खरेले सूर्योदय १ को सिमधापमा खिच्नु भएको विश्वमै दुर्लभ हग्रायोको फोटोले तेस्रो स्थान पाएको छ । सहभागीले फोटोसँगै कम्तीमा ५० शब्दको विवरण समेत लेख्नु पर्ने नगरपालिकाले जनाएको छ ।
विज्ञ सहितको टोलीले पहिलो, दोस्रो र तेस्रोको नतिजा सार्वजनिक गरेका थिए । नगरका इन्जिनियर सिर्जन गदालले नयाँ पर्यटकीय गन्तव्यलाई उजागर गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।