सोमबार , भाद्र ८, २०८३

रङ्गाउनै छाडियो दशैं तिहारमा कमेरो र रातो माटोले घर

आधुनिकता सँगसँगै विकासको लहर गाउँमा पसेपछि रातो माटो र कमेरोले लिपेका घर आजकल निकै कम देखिन्छन् ।

image

पहिले पहिले दशैं सुरु हुने बित्तिकै गरिने पहिलो काम भनेको घर आँगनको लिपपोत, सरसफाइ गर्नु हुन्थ्यो । रातो माटो र कमेरोले लिपपोत गरेर चिटिक्क पारिएका घरघरबाट काँचो माटोको वासना आउथ्यो, यस वासनासँगै दशैंको उत्सव सुरु हुने गर्दथ्यो ।

तर अहिले दशैं र तिहारको समयमा रातो माटो र कमेरोले घर रङ्गाउने प्रचलन हराउँदै गएको छ । परम्परागत शैलीका ढुङ्गा, माटो तथा काठको प्रयोग गरी बनाइएका घरमा ती सामग्रीको प्रयोग हुने गर्दथ्यो । भूकम्पपछि गाउँगाउँमा सरकारले पक्की घर निर्माण गर्न अनुदान दिन थालेपछि पनि पुराना घरहरूको मौलिकता हराउन थालेको हुन सक्छ । वैदेशिक अनुदानको अम्बलमा फसेर नेपाली रैथाने शैलीका घरहरू मासेर चाउचाउका प्याकेट जस्ता घरहरू बनाएसँगै दशैंको मौलिकता मासिन पुगेको छ ।

विशेषगरी रातो माटोसँगै घरलाई सजाउन खोटो पकाएर झ्याल ढोकामा लगाउने तथा कमेरो लगाउने प्रचलन पनि पछिल्लो समय लगभग हराई सकेको छ । विशेषगरी छिप्पिएको सालको लोप्रा ताछेर पानीमा पकाएर कालो रङको खोटो तयार गरिन्छ ।

सालको लोप्राबाट बनाइएको खोटो वर्षमा एक पटक झ्याल ढोकामा लगाएपछि धमिराले नखाने तथा धुल्याहा नलाग्ने बुढापाकाको समेत अनुभव छ । पछिल्ला समयमा सिमेन्टको प्रयोग बढ्न थालेसँगै सर्वसाधारणले माटो, कमेरो र खोटोको विकल्पमा आधुनिक रङको प्रयोग गर्ने गरेका छन् ।

आधुनिकता सँगसँगै विकासको लहर गाउँमा पसेपछि रातो माटो र कमेरोले लिपेका घर आजकल निकै कम देखिन्छन् । आधुनिकता र प्रविधिको बढ्दो प्रयोग र विकाससँगै दशैं, तिहार लगायत चाडपर्वको मौलिकता घट्दै गएको छ।

यससँगै माटो बेच्ने र त्यसबाट आम्दानी गर्ने केही व्यापारीहरू पनि पहिले जसरी माटो बेचेर आफूले आम्दानी गर्न नपाएकोमा दु:खी छन् । पहिले पहिले टाढा-टाढाबाट मानिसहरू माटो  किन्न आउने र त्यसबाट थुप्रै आम्दानी गर्ने व्यापारीहरूको अहिले यो व्यवसाय ठप्पै परेको छ ।

दशैं लगायतका चाडपर्व शुरु हुनु अगाडि रातो माटो, कमेराले घर आँगन लिपपोत गरेर रङ्गाउने र लिङ्गे पिङ हाल्ने चलन हराउँदै गइरहेको चाडपर्वहरू खानपान र आधुनिकता र रमझममा मात्रै सीमित हुँदै गएकोमा संस्कृतिविद्हरूले समेत चिन्ता व्यक्त गरेका छन् ।

Tags:

सम्बन्धित समाचार