काठमाडौं । लगातार वर्षासँगै आएको बाढी-पहिरोका कारण कालिकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन् ।
जिल्लाको तिलागुफा नगरपालिकाको-४ राँचुली गाउँमा मलामी गएका १५ जना मानिस आइतबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
कालिकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेलेका अनुसार दिउँसो १ बजेतिर मलामी गएका उनीहरू अझै सम्पर्कमा आएका छैनन् ।
‘बिहान पौने ७ बजेतिर खबर पाएर हाम्रो टोली घटनास्थलतर्फ गइरहेको छ । फोन सम्पर्क नहुँदा विस्तृत विवरण आएको छैन । घटनास्थलमा प्रहरी पुगेपछि मात्र थाहा हुन्छ ।’ उनले भने,’स्थानीयले दिएको जानकारी अनुसार हाम्रो टोली त्यसतर्फ जाँन लागेको हो । तर, बाटो अवरुद्ध भएका कारण जान समस्या भइरहेको छ । डोजरले बाटो पन्छाउँदै जाँदैछ ।’
शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदीमा गएका वडाध्यक्ष परमबहादुर शाहीसहितका १५ जना सम्पर्कविहीन भएका हुन् ।