बिहिबार , अषोज ८, २०८३

रहेनन् शताब्दी पुरुष सत्यमोहन

उनको उपचारको क्रममा १०३ वर्षको उमेरमा निधन भएको हो ।

image

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उनको उपचारको क्रममा १०३ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्य अवस्थामा समस्या देखिएपछि बिहीबार पुनःआईसीयूमा सारिएका शताब्दी पुरूष सत्यमोहन जोशीको बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको उनको पारिपवारिक स्रोतलाई उदृत गर्दै लेखक गिरिस गिरीले जानकारी दिएका छन् ।

स्वास्थ्य अवस्थामा केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो । हिजो फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो ।

साहित्यकार नरेन्द्रराज प्रसाईँले पनि अस्पतालमै रहेका सत्यमोहन पुत्रले पिताको निधनबारे जानकारी गराएको बताए ।

डेङ्गी संक्रमण भएपछि किष्ट मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका शताब्दी पुरूष जोशीको यसपटकको अस्पताल बसाइ तीन हप्ता पुगिसकेको छ ।

वि.सं. १९७७ वैशाख ३० गते जन्मिएका उनी पाटन दरबार क्षेत्र नजिक बखुम्बहालमा बस्दै आएका थिए । सँस्कृतिविद जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुन् । उनका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।

उनको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशित गरेको थियो । जोशी १०० वर्ष पुग्दा ललितपुर महानगरपालिकाले सार्वजनिक विदासमेत दिएको थियो । ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले जोशीलाई निःशुल्क गाडी र सुरक्षा उपलब्ध गराउने निर्णय गरेको थियो ।

२०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो । तत्कालीन उपप्रधानमन्त्री बामदेव गौतम र कानुनमन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाइबराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र र पाँच लाख नगदसहित शताब्दी पुरुष उपाधि प्रदान गरेका थिए ।

२०७० सालमा उनी पद्मश्री साधनाबाट सम्मानित भएका थिए । नेपाल सरकारले उनलाई २०७९ को संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’ मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो ।

उनी राष्ट्रिय समाचार समिति र चिनियाँ रेडियोमासमेत आबद्ध थिए ।

किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।

सम्बन्धित समाचार