शनिबार , जेठ ३०, २०८३

गोठालाहरूको गाउँ-‘चित्लाङ’ यसरी बन्यो पर्यटकीय ‘हब’ 

"त्यतिबेला चित्लाङमा होटेल रिसोर्ट केही पनि थिएन । पाहुनालाई घरमै खुवाउने र सुताउने गर्थ्याैँ । तैपनि मैले आफ्ना साथीहरूलाई ल्याइरहन्थेँ ।' सन् २००३ तिर फर्किँदै चित्लाङका अग्रज पर्यटन व्यवसायी एवम् चित्लाङ अर्ग्यानिक भिलेज रिसोर्टका सञ्चालक देवेन्द्र नेपालले सुनाए-

image

“साथीहरू थानकोट चन्द्रागिरी हाइकिङ गर्दै चित्लाङ आइपुग्थे । मैले पनि आफ्ना शिक्षक साथीहरू र विद्यार्थीहरूलाई पनि ल्याइरहन्थेँ । घरमै खुवाउने र सुताउने क्रम आधा दशकसम्म चलिरह्यो । पछि गाउँ छेउको खुला चौरमा पाल टाँगेर साथीहरूलाई बस्ने व्यवस्था मिलाउन थालेँ । पालमा बस्ने र मासु पोलेर खाने बाहेक अरू व्यवस्था थिएन ।”

पाहुनाहरू चित्लाङ पुग्ने, देवेन्द्र आफैँले लाने/ल्याउने क्रम जारी नै थियो । पाहुनाहरूका लागि राम्रो गासबासको व्यवस्था थिएन । पाहुनाहरूले राम्रो खानपान र बासको खाेजी गर्न थाले । तर, त्यहाँ होटेल/रिसोर्ट/होमस्टे थिएन । पर्यटनको अध्ययन र अध्यापनमा रहेका देवेन्द्रले सन् २००९ मा पाहुनाहरूको सेवालाई ध्यानमा राखेर रिसोर्ट दर्ता गरे । रिसोर्टको नामकरण गरे, चित्लाङ अग्र्यानिक भिलेज रिसाेर्ट

“रिसोर्ट दर्ता गरेपनि भौतिक संरचना भने बनाएको थिएन । पाहुनाहरूलाई पाल टाँगेरै बसाउने व्यवस्था मिलाएँ ।” देवेन्द्रले भने- “पाहुनाहरूलाई बास बस्न चाहिँ रिसोर्ट नजिकैका घरहरूमा पठाउँथेँ। पछि पाहुनाहरूकै आग्रहमा बिस्तारै संरचनाहरू बनाउन थालेको हो ।”

चित्लाङ अर्ग्यानिक भिलेज रिसाेर्टका सञ्चालक, देवेन्द्र नेपाल

पाल टाँगेर पाहुनालाई बास दिन थालेका देवेन्द्रले अहिले डेढ दशकको अवधिमा एकसय जना भन्दा बढी पर्यटकलाई गासबासको राम्रो व्यवस्था गर्नसक्ने संरचना तयार पारेका छन् । र सेवा पनि दिइरहेका छन् । उनकै सिको गरेर चित्लाङमा करिब आधा दर्जन रिसोर्ट बनेका छन् । त्यसैगरी करिब दुई दर्जन होमस्टे(घर बास) सञ्चालनमा आएका छन् । सङ्घीय राजधानी काठमाडौं नजिकका पर्यटकीय गन्तव्यहरूको सूचीमा अग्रपङ्क्तिमा पर्न सफल भएको छ, चित्लाङ । गोठालाहरूको गाउँ भनेर समेत चिनिएको चित्लाङलाई पर्यटकीय हब बनाउन महत्त्वपूर्ण योगदान दिने व्यक्ति हुन्, देवेन्द्र । चित्लाङ र चित्लाङको पर्यटनको चर्चा गर्दा छुटाउनै नहुने नाम हो, देवेन्द्र नेपाल ।

चित्लाङबारे 

चित्लाङ मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ९ र १० मा पर्दछ । नेपालको सङ्घीय राजधानी काठमाडौं उपत्यकाको दक्षिण पश्चिममा चन्द्रागिरी डाँडाको काखमा अवस्थित सानो अनि सुन्दर उपत्यका चित्लाङ समुन्द्री सतहबाट एक हजार सात सय मिटरको उचाइमा रहेको छ । चारैतिरबाट हरियाली पहाड जङ्गलले घेरिएको चित्लाङ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ नै । पहिले चित्लाङको नाम चित्रापुर थियो । चैत्य जाने बाटो भएकाले यसको नाम चैतलोङ रहन गएको थियो । पछि अपभ्रंश भएर चित्लाङ रहन गएको स्थानीयको भनाई छ । चित्लाङको उत्तरतर्फ चन्द्रागिरि डाँडा र दक्षिणतिर महाभारत रेन्ज छ । यो उपत्यका सांस्कृतिक एवम् ऐतिहासिक दृष्टिकोणले पनि त्यत्तिकै महत्त्वपूर्ण छ ।

चित्लाङको इतिहास र ऐतिहासिकता

चित्लाङ राजा अंशुवर्माले गोठालाहरूलाई उपहारमा दिएको गाउँ हो समेत भन्ने गरिन्छ  । मानिसहरूले चित्लाङलाई भुटानको पारो भ्याली जस्तै पनि भन्ने गरेका छन् । त्रिभुवन राजपथ सञ्चालनमा आउनुअघि चित्लाङ काठमाडौं उपत्यकाको प्रवेशद्वार थियो । राणा शासनकालसम्म मकवानपुरलाई मात्रै नभएर तराईलाई काठमाडौं उपत्यकासँग जोड्ने गोरेटो थियो, चित्लाङ । स्थानीयका अनुसार वि.सं. २०१२ सालसम्म निकै भीडभाड रहको चित्लाङ वि.सं.२०१३ सालमा त्रिभुवन राजपथ खुलेपछि सुनसान बनेको हो । झन्डै ६ दशक सुनसान एकान्तमा बसेको चित्लाङमा फेरि चहलपलह बढ्न थालेको छ । व्यवसायी देवेन्द्रका अनुसार अहिले हप्तामा करिब एक हजार पर्यटक चित्लाङ पुग्छन् । सिजनमा भने हप्तामै तीन हजारसम्म पुग्छन् ।

संस्कृति र इतिहासको अध्ययन गर्नेहरूका लागि महत्त्वपूर्ण गन्तव्य हो, चित्लाङ । यहाँ २३ सय वर्ष पुरानो यस गाउँमा लिच्छवीकालीन वास्तुकला र सम्पदा रहेका छन् ।

राणा प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणमा जाँदा यही बाटो भएर गएको इतिहासकारहरूको भनाइ रहेको छ । अर्का राणा प्रधानमन्त्री चन्द्रशमशेरले सिकार खेल्न जाँदा निर्माण गरेको पाहुना घर र दरबारहरूको भग्नावशेष पनि ती क्षेत्रमा रहेका छन् ।

भारतका सम्राट अशोक यही ठाउँहरूबाट काठमाडौं जाने–आउने क्रममा चित्लाङको चित्रापुर नगरको चिलङगा चैत्य निर्माण गरेका थिए, जुन चैत्य हाल संरक्षणविहीन अवस्थामा रहेको छ ।

अशोक चैत्य र किराँत राजाहरूले बनाएका तीन गजुरको मन्दिर, तलेजु भवानी मन्दिर र विभिन्न शिलालेख इतिहास अध्ययनकर्ताका लागि महत्त्वपूर्ण स्रोत हुन् ।

द्वापर युगमा सप्तऋषिहरुले नुहाउने सप्तश्री धारा पनि चित्लाङमा छ । त्यहाँको भालेबास डाँडोलाई भगवान् शिव मानेर पुज्ने गरिन्छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले १९९८ सालमा चित्लाङमै बसेर आफ्नो चर्चित ‘यात्री’ कविता लेखेका थिए भनिन्छ । जुन ढुङ्गामा देवकोटा पानी पिएर थकाइ मारेर बसेका थिए त्यही ढुङ्गा अझै त्यहीँ छ ।

संस्कृतिले धनी चित्लाङ

चित्लाङ प्राचीन सम्पदाले मात्र होइन, कला संस्कृतिले पनि धनी छ । विशेषतः चित्लाङ गाउँमा नेवाः समुदायभित्र पर्ने बलामीको पुर्ख्यौली वासस्थान मानिएको छ । यसका पछि क्रमशः तामाङ र क्षत्रीहरूको बसोबास रहेको छ ।  तामाङ समुदायको विशिष्ट संस्कृतिले त्यहाँ पुग्ने पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ ।

बलामीहरूले वैशाख पञ्चमीमा कुल देवताको पूजा गर्ने गर्छन् । बाह्रवर्षे भैरवनाथ जात्रा, भैरव तथा महादेव जात्रा, ५ सय वर्ष पुरानो कार्तिक नाच, खड्ग जात्रा र गोदावरी मेला चित्लाङका प्रसिद्ध पर्वहरू हुन् । यहाँ प्राय बाह्रै महिना कुनै न कुनै पर्व, मेला तथा जात्राहरू लागिरहेका हुन्छन् ।

पाहुनालाई गरिने स्वागत महसुस गर्न पनि चित्लाङ जानैपर्छ । चित्लाङवासीले आफ्नै सगुन र नास्पातीको लोकल रक्सीले स्वागत गर्दछन् । नासपती र मुला चित्लाङका विशेषता हुन्  । नासपतीको जुसलाई मात्र फर्मेसन गरी बनाइएको वाइन पनि त्यहाँ पुगेर पिउन सकिन्छ  । होमस्टे र रिसोर्टहरूमा मकैको पीठोको हलुवा, तारेको आलु, फापरको रोटी जस्ता अर्ग्यानिक खानेकुराहरू खान पाइन्छ । नजिकैको जङ्गल हेर्दै, खोलाको गीत सुन्दै, गाउँ घुम्दै, स्थानीय मठमन्दिर नियाल्दै, अर्ग्यानिक खानाको मजा लिँदै, चित्लाङमा रम्न सकिन्छ ।

हाइकिङको लागि उत्कृष्ट गन्तव्य चित्लाङ

चित्लाङ पुगेपछि पर्यटकलाई हाइकिङ गर्ने स्थल धेरै छन् । चित्लाङबाट कुलेखानीको इन्द्रसरोवर तालसम्म हाइकिङ गर्न सकिन्छ । विद्युत् आपूर्ति गर्दै आएको इन्द्र सरोवर ताल नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो ।

यही सरोवरको पानीबाट कुलेखानीमा विद्युत् उत्पादन गरिन्छ । जलविद्युत् आयोजनाका लागि निर्मित यो सरोवर रमणीय पर्यटकीय क्षेत्रका रूपमा विकसित भएको छ । कुलेखानी अर्थात् इन्द्रसरोवरसम्म सडक यातायात पनि सञ्चालनमा छ । तर पनि चित्लाङ पुग्ने धेरै पर्यटक हाइकिङ गर्दै जान रुचाउँछन् । तालमा बोटिङ गर्न पनि पाइन्छ ।

त्यसैगरी चित्लाङको अर्को आकर्षण भेडा फार्म र नासपतीको बगैँचा हो । बगैँचा र भेडा फार्म अनि हरियाली खुला चौर मनमोहक देखिन्छ ।

चित्लाङ जाने बाटो छोट्टियो 

काठमाडौँको कलङ्कीबाट २० किलोमिटरको दुरीमा रहेको चित्लाङ  अब एक घण्टामै पुग्न सकिन्छ । पहिले काठमाडौँबाट दक्षिणकाली हुँदै करिब ३ घण्टाको यात्रा गरेर पुग्नुपर्ने चित्लाङ अहिले चन्द्रागिरिको मोटरबाटो खुलेपछि एक घण्टामै पुग्न सकिने भएको हो ।

काठमाडौँको थानकोट चेकपोस्टबाट चन्द्रागिरि हिल्स जाने बाटो हुँदै चित्लाङ पुग्न सकिन्छ । चेकपोस्टबाट १५ किलोमिटरको कच्ची बाटो पार गरेपछि चित्लाङ पुग्न सकिन्छ । चन्द्रागिरि डाँडा हुँदै चित्लाङ पुग्न चेकपोस्टबाट मात्रै ४५ मिनेटको मोटरसाइकल यात्रामा पुग्न सकिन्छ ।

बाटो छोट्टिएपछि पर्यटकको आगमन बढ्नेमा व्यवसायीहरू आशावादी छन् ।

सम्बन्धित समाचार