काठमाडौँ । यति बेला उपत्यका लगायत देशको धेरै भू-भागबाट मनसुन लगभग बाहिरिएको छ । मौसम सफा भएसँगै उपत्यकाबाट विभिन्न हिमालहरू छर्लंग देखिन थालेका छन् ।
काठमाडौँबाट मौसम खुल्दा देखिने सबैभन्दा नजिकका हिमशृंखलामा लाङटाङ र गणेश पर्दछन् । गणेश–१ लाई याङ्ग्रा (वा याग्रा काङ्ग्री), ३ लाई सालासुङ्गो र ४ लाई पाबिल पनि भनिन्छ । पाबिल हिमालको एउटा मोहडा हेर्दा गणेशको सूँडजस्तो लाग्छ । काठमाडौँबाट विमानमा पश्चिम उड्दा कहिलेकाहीँ आकाश खुलेका बेला मनास्लुभन्दा पहिले गणेश हिमशृंखला पनि देखिन्छ ।
गणेश हिमालभन्दा पूर्वपट्टि काठमाडौँको ठीक उत्तरमा चाहिँ लाङटाङ शृंखला पर्छ । चीनको सिमाना नजिक रसुवा जिल्लामा पर्ने यी हिमाल र गणेश हिमालबीचको खोँचमा चिलिमे र त्रिशूली नदी बग्छन् ।
गणेश २ हिमाल ७ हजार १५० मिटर उचाइको हिमाल हो भने गणेश ५ हिमाल ६ हजार ९५० मिटर हो । हिमालचुली ७ हजार ८९३ मिटर अग्लो छ भने लाङटाङ ७ हजार २४६ मिटर अग्लो छ । त्यस्तै मनास्लु हिमाल ८ हजार १५६ मिटर अग्लो रहेको छ ।
काठमाडौँबाट देखिने अन्य हिमालहरुमा दोर्जेलाक्पा, फुर्बी ग्याल्त्सो, गौरीशंकर पर्छन्।


