बिहिबार , कार्तिक ६, २०८३

पर्यटकलाई मन्त्रमुग्ध पार्दै अक्टोपस र बुङ झरना

कुनै चित्रकारको सुन्दर चित्र झैँ छहराको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले मन्त्रमुग्ध बनाउँछ । छहरा हेर्दै हर्षित मुद्रामा केही पर्यटक धमाधम फोटो खिच्छन् भने कोही छहरालाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्छन् ।

image

काठमाडौं । बेँसीसहर–चामे सडकमा मनमोहक चञ्चल छहरा छ । करिब एक सय मिटरभन्दा बढी उचाइबाट झरेको छहरा सडकमा छताछुल्ल हुन्छ । कुनै चित्रकारको सुन्दर चित्र झैँ छहराको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले मन्त्रमुग्ध बनाउँछ । मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको सौन्दर्यले भरिपूर्ण उक्त अक्टोपस झरना, अक्टोपसको खुट्टा झैँ देखिन्छ ।

वर्षायामका कारण सुनसान रहेको विश्व चर्चित चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने यो झरना अहिले पर्यटकीय आकर्षणको बिन्दु बनेको छ । अहिले सो ठाउँमा दैनिक १०० देखि २०० जनासम्म आन्तरिक तथा विदेशी पर्यटक आउन थालेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिएका छन् । उनले पदमार्गमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै झरनामा आउने पर्यटक पनि बढेको बताए । हाल चुनावमा अधिकांशको ध्यान केन्द्रित भएपनि पर्यटकलाई भने सो ठाउँमा रहेको प्रकृतिको अनुपम कलाले लोभ्याएर तानिरहेको उनले सुनाए ।

सवारीसाधनमार्फत मनाङ गएका पर्यटक पनि सवारी रोकेर झरनामा रमाउने गर्दछन् । छहरा हेर्दै हर्षित मुद्रामा केही पर्यटक धमाधम फोटो खिच्छन् भने कोही छहरालाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्छन् । कोरोना महामारीका कारण लामो समय सुनसान भएको उक्त स्थानमा अहिले दैनिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

यस झरनामा विशेषगरी अन्नपूर्ण पदमार्गमा आउने बाह्य पर्यटक तथा मनाङ घुम्न जाने आन्तरिक पर्यटक पुग्ने गरेको स्थानीय सरोज विश्वकर्माले बताए ।

बेँसीसहर–चामे सडकको बिच भागमै झर्ने झरनाले मोटरसाइकलमा जाने यात्रु तथा पर्यटकलाई रुझाउने गर्दछ । अधिकांश पर्यटकले झरनाको तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्ने गरेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार केही समयसम्म सवारीसाधनमा मनाङ आवतजावत गर्नेमध्ये केही यात्रु (दैनिक १०-१२ जना मात्र) झरनामा रमाउने गर्थे तर यतिबेला पर्यटक ह्वात्तै बढेका छन् ।

त्यसैगरि अन्नपूर्ण पदमार्ग नजिकै पर्ने सोही वडास्थित बुङ झरनामा समेत अहिले पर्यटकहरू उल्लेखनीय सङ्ख्यामा पुग्ने गरेका छन् । हाल यस झरनामा ८० देखि १०० जनासम्म दैनिक पर्यटक आउने गरेका जनाइएको छ । सदरमुकाम बेँसीसहरबाट ३२ किलोमिटर दूरीमा पर्ने यस छहराले पर्यटकको ध्यान तान्न थालेको छ । तारे भिरमा छङछङ गर्दै झरेको छहराले त्यहाँ पुग्ने हर कोहीलाई प्रफुल्लित बनाउने गर्छ ।

Tags:

सम्बन्धित समाचार