नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेशकुमार महत यही मङ्सिर ४ गते हुने निर्वाचनमा नुवाकोट १ को ख बाट प्रदेश सभा सस्यका लागि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट सोही पदमा उम्मेदवार बनेका महत नेकपा एमालेका बद्री मैनालीसँग पराजित भएको थियो । यस पटकको निर्वाचनमा गठबन्धनको काँधमा टेकेर निर्वाचित हुने दाबी गरिरहेका महतको विगतका गतिविधिले भने नुवाकोट १ का जनताको मन चिमोटिरहन्छ ।
उनले आफू निर्वाचित हुने दाबी गरिरहँदा त्यस क्षेत्रका जनताले भने महतले भूकम्प पीडितको नाममा राहत स्वरूप आएको जस्तापाता बेचेर खाएको बिर्सेका छैनन् । सोही क्षेत्रका एक कांग्रेस कार्यकर्ता भन्छन्, भूकम्पले क्षतविक्षत भएको जनताको घर टाल्न बैङ्कले राहत दिएको जस्तापाता बेचेर खानेलाई भोट दिन सकिन्न ।
नाम नखुलाउने सर्तमा ती कार्यकर्ताले भने, पहिला पनि हारेकै हो, यसपालि गठबन्धन भए पनि माओवादी, समाजवादीले उनलाई भोट हाल्दैन । धेरैले नहाल्ने भनेका छन् ।महतसँग आफ्नै पार्टीका कार्यकर्ता नै असन्तुष्ट र निराश छन् भन्ने यो सानो दृष्टान्त मात्रै हो । त्यसो त उनीसँग नुवाकोट कांग्रेसकै केसी खलक पनि सन्तुष्ट नरहेको जानकारहरू बताउँछन् । नुवाकोट कांग्रेसमा केसी र महतको लामो द्वन्द्व जारी छ । कांग्रेस नेताद्वय अर्जुननरसिंह केसी र डा रामशरण महतबीचको लडाइँका कारण नै नुवाकोट १ मा कांग्रेस माथि उठेन नसकेको र नसक्ने उनीहरू बताउँछन् ।
के हो जस्तापाता कान्ड ?
०७२ को महाभूकम्पबाट सबैभन्दा बढी प्रभावित जिल्लाहरूमध्ये एक हो नुवाकोट । भूकम्प लगतै नुवाकोटमा थुप्रै सरकारी तथा गैरसरकारी निकायबाट राहत पुगेको थियो । आर्थिक तथा भौतिक सहयोग प्राप्त हुन थालेपछि त्यसको वितरणमा राजनीतिक दलका नेताहरूले तँछाडमछाड गरेका थिए ।
तत्कालीन समयमा नेपाली कांग्रेस नुवाकोटका जिल्ला सचिव एवम् तत्कालीन अर्थमन्त्री डा रामशरण महतको स्वकीय सचिव रहेको रमेशकुमार महतले नेपाल इन्भेस्टमेन्ट बैकले नुवाकोटको कविलास गाविसका लागि राहत स्वरूप दिएको जस्तापाता काठमाडौंमा लगेर बेच्ने कोसिस गरेका थिए । बैङ्कले दिएको चारसय बन्डल जस्तापाता तत्कालीन कविलास गाविसमा रहेको कालिका माविको प्राङ्गणमा राखेका थिए । तर, दुई सय बन्डल जस्ता हराएपछि खोजी गर्दा महतले काठमाडौं लगेर बेच्न लागेको अवस्थामा भेटेको थियो ।
काठमाडौं लैजाँदै गर्दा बाटोमै भेटेपछि जस्तापाता फर्काइएको थियो । यो घटनाको संसदीय छानबिन समेत भएको थियो । तर, उनका काका डा रामशरण महतको दबाबका कारण आरोप पुष्टि गर्न भने नसकेको निकटस्थहरूले बताएका छन् ।
महतको उक्त कर्तुतकै कारण ०७४ को निर्वाचनमा पराजित भएको र आसन्न निर्वाचनमा पनि पराजित हुने निश्चित रहेको जानकारहरू बताउँछन् ।