प्राचीन पर्वत राज्यभित्र पर्ने सुन्दर नगरी बागलुङमा कालीगण्डकी र काठेखोलाको दोभानमाथि प्रसिद्ध कालिका भगवतीको मन्दिर रहेको छ ।
बागलुङ बजारमा बाघको सालिका
जोडी परेवा ल्याउँला कालिका
मलाई जुराइदेऊ दिलको मालिका ।
(प्रसिद्ध लोकगीत)
पर्वतका प्रतापी राजा नारायण मल्लको पाल्पाली राजा मणि मुकुन्द सेनकी छोरी राजकुमारीसँग वि.सं. १५९१ मा विवाह हुँदा कालिका देवीकी अनन्य भक्त राजकुमारीले आफ्नो बुबासँग ‘पाल्पा माझकी देवी कालिका’ लाई मागी साथमा ल्याएर यस पावन भूमिमा वैदिक विधिपूर्वक प्रतिस्थापित गरिएको इतिहास रहेको छ ।
कालिका देवीको मन्दिर मनोरम जङ्गलका बीच अवस्थित रहेको छ । त्यस जङ्गलमा त्यहाँको प्रकृतिको मौनतामा बसेर तल बग्दै गरेकी कालीगण्डकी नदीको कलकल सङ्गीत श्रवण पनि गर्न सकिन्छ । कालिका देवीको प्रसिद्धि र महिमा बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लामा मात्र सीमित छैन । यो नेपालकै प्रसिद्ध पवित्र एवं महत्त्वपूर्ण धार्मिक स्थल मानिन्छ । कालिका भगवती प्रति असीम भक्तिभाव राखेर दर्शन गर्न आउने भक्तहरूको मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास रही आएको छ ।
मन्दिरको चारै दिशामा ढोका छन् । मन्दिरको बाहिर चारैतिर भित्तामा १४ प्रस्तर मूर्तिहरू रहेका छन् । मन्दिरको मुख्य द्वार अगाडि शिवलिङ्ग र बाघको प्रतिमा राखिएका छन् । त्यसको दुवैपट्टि पित्तलका सिंहहरू पनि राखिएका छन् । मन्दिरको वरिपरि बत्ती बाल्न तामाका १०८ दियोहरू राखिएका छन् । मन्दिरको बाहिर दायाँतिर कौडेलीमाईको मूर्ति छ । मन्दिर भित्र पूजा अर्चना गरिसकेपछि बाहिर रहेको कौडेलीमाईको मूर्तिमा पूजा अर्चना गर्ने प्रचलन छ । त्यसपछि फर्कँदा जङ्गलको बीचमा अवस्थित चण्डीकालीको मन्दिरमा पनि पूजा अर्चना गरिन्छ ।
मन्दिरभित्र पूर्व खण्डमा करिब तीन फिट अग्लो तथा नौ फिटको चारकुने चौकोको मण्डप बनाइएको छ । त्यसै मण्डपमाथि चाँदीको ढकनीले ढाकिएका तीन थुम्काहरू रहेका छन् , जसलाई महाकाली, महालक्ष्मी र महासरस्वतीको रूपमा स्थापित गरिएको छ । जनश्रुति अनुसार कालिका देवी पहिले साक्षात् हुने गर्थिन् । मन्दिरका पुजारी वा भक्तजनहरूलाई कालिका देवीले साक्षात् दर्शन दिँदा देवीको तेजबाट भष्म हुने त्रास हुनाले देवीलाई भूगर्भमा स्थापित गरी मण्डप बनाइ पूजाआजा गर्ने चलन चलाइएको विश्वास गरिन्छ ।
नेपालका निकै सुन्दर ठाउँहरूको सूची बनाउनु पर्दा प्राचीन पर्वत राज्य अन्तर्गत रहेका तथा हालका बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वत (उत्तरी) जिल्लाका धेरै धार्मिक र प्राकृतिक सम्पदाहरूको नाम निकै पहिले आउँछन् ।
बागलुङमा कालिका मन्दिर बाहेक अरू सुन्दर पर्यटकीय स्थलहरू पनि रहेका छन् । जसमध्ये बागलुङ नगरपालिका, वडा नं. ६ स्थित पञ्चकोट र वडा नं. १ रामनरेश स्थित सबैभन्दा लामो झोलुङ्गे पुल (५६७ मिटर) पनि हुन् । त्यहाँ स्थित बिउकोट, मालिका र भैरबस्थान पनि बाग्लुङ्गका अन्य आकर्षणहरू हुन् । बागलुङ बजार हुँदै पश्चिमी बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ तथा ढोरपाटन सिकार आरक्ष पनि जान सकिन्छ । बागलुङको रामनरेश र पर्वतको पाङ जोड्ने कालीगण्डकी नदी माथिको सबैभन्दा अग्लो झोलुङ्गे पुलबाट धौलागिरि हिमशृङ्खला अन्तर्गतका करिब सबै हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ ।
बागलुङको मुख्य चोकमा पहिले राजा महेन्द्रको सालिक थियो । सो सालिकबाट गणतन्त्रलाई खतरा भएका कारण २०६३ सालमा उनको सालिक तोडफोड गरिएको थियो । जिल्लासँग बाघको नाता जोडिएको किंवदन्तीलाई आधार मानेर हाल त्यहाँ बाघको सालिक राखिएको छ । बागलुङ जिल्लाकै चिनारीको रूपमा रहेकी कालिका भगवतीको वाहन पनि बाघ नै भएको हुनाले पनि बाघको सालिक राखिएको हुनुपर्छ । हाल बागलुङ क्षेत्रमा सायद बाघ पाइँदैन तर उक्त क्षेत्रमा चितुवालाई पनि चरी बाघ भन्ने चलन रहेको पाइन्छ ।
मगर भाषामा ‘व्यघ्र’ भनेको बाघ, ‘लु’ को अर्थ खेद्नु र ‘लुङ’ भन्नाले लस्कर बुझिने हुँदा ‘बाघको लस्कर लाग्ने गरेको र तिनलाई खेदेर बस्ती बसालेको’ भन्ने अर्थमा बागलुङ नाम रहेको किंवदन्ती पाइन्छ । अर्को किंवदन्ती अनुसार, मगर भाषामा ‘बाङ’ को अर्थ पहरा र ‘लुङ’ को अर्थ ढुङ्गा भएकाले ढुङ्गे पहराका रूपमा बागलुङ नाम रहन गएको भन्ने तथा तिब्बती भाषामा ‘लुङ’ को अर्थ मैदान भएकाले बागलुङलाई ‘पहाड माथिको चउर’ भन्ने अर्थमा पनि बुझिने गरेको पाइन्छ ।
काठमाडौंबाट बागलुङ जानका लागि सुन्दर नगरी पोखरा, आकर्षक झोलुङ्गे पुलहरू र बन्जीजम्पका लागि प्रसिद्ध कुस्मा नगरी हुँदै सार्वजनिक यातायातहरू चल्दछन् । म्याग्दी, पर्वत र मुस्ताङमा रहेका मठमन्दिर तथा प्रकृतिका अनुपम छटाहरूको दर्शन गर्नका लागि बागलुङ हुँदै जान सकिन्छ ।