मंगलबार , चैत्र १७, २०८२

हराउँदै भारी बोक्ने गधा र खच्चर

२०६५ सालपछि सो हाटबजार बिस्तारै डाब बजार, रिठाबजार, ताँप्रीसेरा तिपाडा, हुँदै मार्तडीको गैरीबजारमा स्थापना भयो । त्यसपछि खच्चर मार्तडीदेखि कोल्टीसम्म मात्र चल्न थाले ।

image

काठमाडौँ । केही समय पहिला बाजुरामा सामान ढुवानी गर्ने रूपमा प्रयोग हुँदै आएका गधा र खच्चर बिस्तारै लोप हुन थालेका छन् ।

साबिकका बाह्रबिस, नौविस, छतारा, तोली, बह्रतोला, कैलाशमाण्डौँ, मार्तडी, जडाङ्गा, मानाकोट, दहकोट र जिल्लाको पूर्वी–उत्तर क्षेत्रका पाण्डुसैन, कोल्टी, बाँधूँ, बिछ्या, जगनाथ, बाइ, साप्पाटा लगायतका स्थानीयले गधा र खच्चरमार्फत् नै दैनिक उपभोग्य सामग्री ढुवानी गर्थे ।

२०७२ मा साफे–मार्तडी राजमार्ग सुचारु भएसँगै बाजुराका अधिकांश गाउँमा गाडी चल्न थालेपछि गधा र खच्चर बिस्तारै हराउँदै गएका हुन् । खप्तड छेडेदह गाउँपालिका –५ का सिद्धभान रावत, साफे–मार्तडी राजमार्गसँगै गाउँमा कृषि सडक निर्माण भएपछि गधा र खच्चर पनि बिस्तारै हराउन थालेको बताउँछन् ।

उनले भने, “पहिला मेरो व्यवसाय भनेको नै खच्चर पालन थियो । मैले खच्चर चलाएर नै जीविकोपार्जन गर्दैआएको थिएँ ।” उनका अनुसार २०६५ साल पहिले अधिकांशले गाउँमा खच्चर पाल्ने गर्थे । ती खच्चरले नै गाउँका व्यापारीको पसलको सामान ढुवानी गर्थे । खच्चरमा सामग्री ढुवानी गर्दा प्रत्येक किलोको बाह्रबिस ३, कुल्देवमाण्डौँ ४ बह्मतोला ५ मार्तडीसम्मको ७ रुपैयाँ भाडा थियो ।

त्यतिबेला गाउँका व्यवसायीहरूले खच्चरको पालो कुर्नुपर्थ्यो । २०६३ सालभन्दा पहिला बाजुराको मुख्य व्यापारी केन्द्र भनेको छिमेकी जिल्ला अछामको साफे बगरको हाटबजार नै हो । बाजुराका ठूला व्यापारीले त्यसै हाटबजारबाट खच्चरमार्फत् सामान ढुवानी गराउने गर्थे ।

२०६५ सालपछि सो हाटबजार बिस्तारै डाब बजार, रिठाबजार, ताँप्रीसेरा तिपाडा, हुँदै मार्तडीको गैरीबजारमा स्थापना भयो । त्यसपछि खच्चर मार्तडीदेखि कोल्टीसम्म मात्र चल्न थाले । त्यहाँबाट पनि २०७३–७४ पछि सो हाटबजार कोल्टीको दानसाँघुसम्म पुग्यो । यसरी बजार बिस्तारै गाउँनजिक पुग्दै गएपछि, पहिले सामग्री ढुवानी गर्ने यातायातका सवारी साधनाका रूपमा मानिदैआएका गधा र खच्चर पनि बिस्तारै हराउँदै गएको रावतले बताए ।

यतिबेला बाजुराका नौवटै स्थानीय तहको विभिन्न ठाउँमा हाटबजार सञ्चालनमा आएका छन् । त्यहाँका स्थानीयले अहिले सोही हाटबजारबाटै दैनिक उपभोग्यका सामग्री उपलब्ध गर्छन् । २०६५ मा मार्तडीसम्म सुचारु भएको साफे–मार्तडी सडक अहिले कालोपत्रे भएको पनि झण्डै पाँच वर्ष भयो । मार्तडी कोल्टी सडक कोल्टी पुगेको झण्डै चार वर्ष भयो ।

गाउँमा गाडी सुचारु भएका छन् । हिजोको दिनमा घरबाट एक दिनको बाटो हिँडेर मात्र गाडी चढ्ने त्यहाँका स्थानीय अहिले गाउँमै गाडीको सवार गर्दैआएका छन् । २०७२ मा मार्तडीदेखि कोल्टीसम्म चल्ने खच्चर पछिल्लो समय मार्तडीमा समेत देखिन छाडेका छन् । जिल्लाको पूर्वी–उत्तर क्षेत्रको कोल्टी, पीलिचौर, दानसाँघुलगातका ठाउँमा हाटबजार स्थापना भएसँगै मार्तडी समेत खच्चर देखिन छोडेका हुन् । बर्खाको समयमा अधिकांश ठाउँमा अहिले पनि व्यापारीहरूले खच्चरबाट सामान ढुवानी गर्ने गरेका छन् ।

बर्खाको समयमा मार्तडीदेखि कोल्टीसम्मको बाटो बन्द भएपछि ती व्यापारीले खच्चरमार्फत नै समान ढुवानी गर्ने गर्छन् । विगतका दिनमा भेडा, घोडा र खच्चरबाट सामग्री ढुवानी गर्दैआएका त्यहाँका स्थानीयहरू अहिले गाडीबाट नै सामग्री ढुवानी गर्दै आएका छन् । बूढीनन्दा नगरपालिका –९ का स्थानीय भेडापालक प्रेम थापाले, पहिला गाउँमा भेडा, घोडा गधा र खच्चरमार्फत् खाद्यान सामग्री ढुवानी हुने गरेको बताए । उनले भने, “अहिले प्रत्येक गाउँमा सडक पुगेपछि गोडा, भेडा, खच्चरबाट ढुवानी गर्ने सामग्री गाढीबाट गर्ने गरेपछि भेडा, घोडा, गधा र खच्चर पनि बिस्तारै पाल्न छोडेका छन् ।”

सम्बन्धित समाचार