काठमाडौं । आज सोमबारे औंशी । जुन सोमबारको दिन औंशी पर्दछ त्यही दिनलाई सोमबारे औंशी भन्दछन्, हाम्रो क्यालेन्डर अनुसार हरेक सात दिनपछि एउटा सोमबार पर्दछ भने हरेक महिनामा एउटा औंशी पर्दछ ।
तर सोमवार र औंशी मात्रको संयोग भने कहिलेकाहीं मात्र हुने गर्दछ। वर्षभरि एकचोटि या दुइचोटिसम्म सोमबारे औंशी पर्दछ ।
नेपाली संस्कृति अनुसार आजको दिन नबोली नुहाउनु पर्ने सांस्कृतिक मान्यता छ । पौराणिक कालमा सुरू भएको विश्वास गरिने यो दिन कलि युगमा मोक्ष प्राप्त गर्ने दिनको रूपमा लिइन्छ ।
हिन्दु शास्त्र अनुसार यसदिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलिआएको छ । सोमबार चन्द्रमाको दिन हो । चन्द्रमा मनको प्रतिक र सूर्य मस्तिष्कको प्रतिक पनि हो । सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान शिवजीमै समर्पित छ ।